काठमाडौं । शिक्षा र उद्योगलाई जोड्ने मुख्य उद्देश्यसहित दुई पक्षीय हितमा सहकार्य गर्न नेपाल उद्योग परिसंघ र नेपाल विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
परिसंघमा बुधबार आयोजित एक कार्यक्रमका बीच उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो । नेपाल विश्वविद्यालयको तर्फबाट रजिष्टार डा.सूर्यराज आचार्य र परिसंघको तर्फबाट महानिर्देशक डा. घनश्याम ओझाले हस्ताक्षर गरेका छन् ।
सो अवसरमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सीपयुक्त जनशक्ति उत्पादन अहिलेको आवश्यकता रहेको बताउँदै सीपयुक्त सिकाई बढाउनुपर्नेमा जोड दिए । नयाँ अवधारणामा स्थापित नेपाल विश्वविद्यालयले हालको परम्परागत शैक्षिक कार्यक्रमलाई रुपान्तरण गरी सीपयुक्त जनशक्ति उत्पादनमा योगदान गर्ने विश्वास उनको छ ।
नेपाल विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई उद्योगसँग जोड्न परिसंघले काम गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । यस्तै, नेपाल विश्वविद्यालयका कुलपति डा.विन्दु लोहनीले विश्वविद्यालयका विद्यार्थीहरुलाई प्रयोगात्मक सिकाइका लागि उद्योगहरुमा इनर्टनसीप गराउन परिसंघले सहयोग गर्नुपर्ने बताए । उनले सीपयुक्त शिक्षा प्रदान गर्ने गरी नेपाल विश्वविद्यालय अगाडि बढेको र यो नै अहिलेको आवश्यकता पनि रहेको उल्लेख गरे ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा.अर्जुन कार्कीले सीपयुक्त, उद्यमशीलता, नविनतासँगै विद्यार्थीमाअसल भावना विकास गराउने गरी कार्यक्रम ल्याइने बताए । उनले विश्वविद्यालय नयाँ अवधारणअनुसार अगाडि बढेकाले यसलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेकोमा जोड दिए । परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले उद्योग अनुभव, पाठ्यक्रम विकास, नविनता,अनुसन्धानलगायतका क्षेत्रमा विश्वविद्यालयसँग सहकार्य गरिने धारणा राखे ।
सो अवसरमा नेपाल विश्वविद्यालयका बोर्ड सदस्यहरु डा.जगदीशचन्द्र पोखरेल, डा.विमला राई पौडेल,डा. लालकृष्ण केसीलगायतको सहभागीता थियो ।

















प्रतिक्रिया दिनुहोस्