काठमाडौं । वैशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति २.७७ प्रतिशत रहेको छ । १० महिनामा खाद्य तथा पेय पदार्थमा सर्वाधिक ११.०८ प्रतिशतले महंगी बढेको देखिएको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको पछिल्लो १० महिनाको तथ्यांकअनुसार अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति दर ४.४० प्रतिशत कायम थियो ।
समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.५२ प्रतिशतमा झरेको देखिन्छ । जुन अघिल्लो वर्षको तुलनामा ४ प्रतिशतभन्दा कमको सुधार हो । अघिल्लो वर्ष यो दर ६.४१ प्रतिशत कायम थियो । यस्तै, गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.४५ प्रतिशत रहेको छ । समीक्षा अवधिमा अघिल्लो वर्ष ३.०९ प्रतिशत कायम थियो ।
यसैगरी, खाद्य तथा पेय पदार्थ समूहभित्र घ्यू तथा तेल उप–समूहको मूल्य उच्च रुपमा बढेको छ । यो समूहमा ११.०८ प्रतिशतले महंगी बढेको हो । यस्तै, फलफूलमा ६.१५ प्रतिशत, दाल तथा गेडागुडी ५.१७ प्रतिशत, र गैर–मदिराजन्य पेय पदार्थ ४.७० प्रतिशतले मूल्य वृद्धि भएको छ । तरकारी उप–समूहको मूल्य ८.११ प्रतिशतले घट्दा मरमसला २.२० प्रतिशत र माछा–मासु ०.४८ प्रतिशतले सस्तिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
गैर–खाद्य तथा सेवा समूहतर्फ विविध वस्तु तथा सेवा उप–समूहमा ९.०४ प्रतिशत, कपडा तथा जुत्ताचप्पलमा ५.२३ प्रतिशत, फर्निचर तथा घरायसी उपकरणमा ३.९९ प्रतिशत र रेष्टुरेन्ट तथा आवास सेवामा ३.१६ प्रतिशतको मूल्यवृद्धि देखिएको छ । क्षेत्रगत रूपमा हेर्दा, ग्रामीण क्षेत्रमा उपभोक्ता मुद्रास्फीति ३.२१ प्रतिशत पुग्दा सहरी क्षेत्रमा २.६१ प्रतिशत कायम देखिन्छ ।
कुन प्रदेशमा कति मूल्यवृद्धि ?
प्रदेशगत रूपमा कोशी प्रदेशमा सबैभन्दा बढी ४.२९ प्रतिशत मुद्रास्फीति देखिएको छ । त्यसपछि सुदूरपश्चिम प्रदेशमा ३.१४ प्रतिशत, मधेशमा २.८१ प्रतिशत, बागमती २.४० प्रतिशत, गण्डकी २.२३ प्रतिशत, कर्णाली २.२१ प्रतिशत र लुम्बिनी प्रदेशमा २.१५ प्रतिशत मुद्रास्फीति मापन गरिएको छ । उक्त तथ्यले सबैभन्दा धेरै महंगी कोशीमा रहेको देखाउँछ भने सबैभन्दा कम लुम्बिनीमा रहेको जनाउँदछ ।
भौगोलिक क्षेत्रअनुसार काठमाडौं उपत्यकाको मुद्रास्फीति २.६४ प्रतिशत रहँदा तराई, पहाड र हिमाल क्षेत्रको मुद्रास्फीति क्रमशः २.६४, २.६५ र ४.०१ प्रतिशत रहेको छ । थोक उपभोग्य वस्तुहरूको मुद्रास्फीति १०.८९ प्रतिशतले बढेको छ । मध्यवर्ती वस्तुमा ०.१० प्रतिशत र पुँजीगत वस्तुमा २.७३ प्रतिशत तथा निर्माण सामग्री समूहमा २.६७ प्रतिशतको मूल्यवृद्धि भएको छ ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्