काठमाडौं । ट्रेकिङ एजेन्जिस् एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले निजी क्षेत्र पनि सच्चिनुपर्ने बेला आएको बताएका छन् ।
नाफिजले मंगलबार काठमाडौंमा आयोजना गरेको अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो विषयक कार्यक्रममा बोल्दै पाण्डेले जेनजी आन्दोलन निजी क्षेत्र लक्षित भएको र यो क्षेत्रमा समेत सुधार गर्नुपर्ने अवस्था आएको बताएका हुन् ।
जेनजी आन्दोलनका कारण शिथिल बनेको पर्यटन क्षेत्रको पुनरोत्थानका लागि सबैभन्दा पहिला पर्यटकीय गतिविधि बढाउनुपर्नेमा उनले जोड दिए । सरकारले पर्यटन क्षत्रमा ‘रिकभरी प्लान’ बनाएर अघि बढ्नुपर्ने उनको भनाइ छ । अहिलेको अवस्थामा तीन महिनाका लागि पर्यटकहरुका लागि भिसा फ्रि गर्नुपर्नेमा पाण्डेले जोड दिए ।
‘हाम्रो ठाउँबाट पनि सच्चिनुपर्छ ’
यस्तै अध्यक्ष पाण्डेले आन्दोलनका क्रममा निजी क्षेत्र भ्रष्टाचारसँग जोडिएकोले निजी क्षेत्र लक्षित भौतिक सम्पत्तिमा आक्रमण र क्षति पुर्याइएको पाइएको धारणा राखे । उनले समाजले अहिले निजी क्षेत्र र भ्रष्टाचारबीचको नेक्सस खोजिराखेको प्यार्टन आन्दोलनका क्रममा व्यवसायी छानेर गरिएका क्षतिले देखाएको बताए ।
‘करप्सनका विरुद्धमा भएको जेनजी आन्दोलनमा निजि क्षेत्रको नेक्सस कति छ ? समाजले यो माग गरिरहेको छ। हाम्रो ठाउँबाट पनि सच्चिनु जरुरी छ । आन्दोलनको प्याटर्न हेर्दा त्यो आभास पाउछौं,’ अध्यक्ष पाण्डेले भने ।
नेपालमा गुणस्तरीय रोजगारीका अवसर नहुँदा युवाहरु विदेशिने गरेको बताउँदै त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । नेपालमा बीएचएम गरेका युवाले १७ हजारको जागिर खानुपर्ने अवस्था रहेको बताउँदै त्यही भएर युवाहरु विदेशीने गरेको उनको भनाई थियो ।
‘नेपालमा जब भएन भन्छौं, क्वालिटी जब भएन । बीएचएम गरेको भाई बहिनीलाई १७ हजारमा काममा लगाइरहेका हुन्छौं । यस्तो अवस्थामा युवाहरु नेपालमा बस्न सक्दैन,’ अध्यक्ष पाण्डेले भने, ‘१७ हजारमा नबिकेका भाईबहिनीहरु कतार, मलेसियामा जान्छन् । नेपालको आर्थिक विकासको प्रमुख समस्या हो ।’
राज्यका संयन्त्रहरुले प्रभावकारी ढंगबाट काम गर्न नसक्दा आर्थिक गतिविधि समेत राम्रोसँग अघि बढ्न नसकेको उनको भनाइ छ । राज्यका संयन्त्रमा जवाफदेहीता, उत्तरदायित्व नभएकै कारण समस्या आइरहेको बताउँदै राज्य जवाफदेही नहुँदासम्म सुधार हुन नसक्ने दाबी गरे ।
‘भ्रष्टाचार अन्त्यका लागि आर्थिक पारदर्शिता’
हिजो सरकारी संयन्त्रहरुमा रहेको भ्रष्टाचार अहिले निजि क्षेत्रमा समेत व्याप्त भइरहेको उनले बताए । ‘भ्रष्टाचारको कुरा गर्दा हिजोसम्म सरकारी संयन्त्रमा थियो । अहिले बैंकमा पनि सरेको छ । हुँदाहुदै निजि क्षेत्रका बैंकमा समेत सरेको छ,’ पाण्डेले भने ।
जेनजी आन्दोलनको माग नै भ्रष्टाचारको अन्त्य भएको बताउँदै त्यसको अन्त्यका लागि आर्थिक कारोबारमा पारदर्शीता हुनुपर्ने उनको भनाइ छ । भ्रष्टाचारकै कारण अहिलेका युबाहरु कुनै सरकारी कार्यालयमा गएर काम गर्न सक्ने अवस्था नरहेको बताउँदै उनले भने, ‘मेरो बच्चा कुनै काममा लागि एक दिन सरकारी कार्यालय गयो भने एकै दिनमा थाकेर अर्को दिनदेखि जाँदैन ।’
बहुदल आएपछि नेपालको पर्यटन क्षेत्र कुपोषण लागेको बच्चा जस्तै भएको उनको भनाइ छ । नेपालमा पर्यटन क्षेत्रमा वृद्धि भइरहेको तथ्यांक आउने गरेको प्रति असहमति जनाउँदै निकै सुस्त गतिमा अघि बढेको उनको धारणा छ । सन् १९९८ मा ४ लाख ६३ हजार पर्यटक आएको नेपालमा अहिले ११ लाख ५० हजार मात्रै आएको उनले बताए ।
उनका अनुसार प्रत्येक वर्ष २५ हजारले मात्रै नेपाल आउने पर्यटकमा वृद्धि भइरहेको छ । नेपालभन्दा कम पर्यटकीय सम्भावना भएका देशहरुमा समेत नेपालको तुलानामा निकै बढी पर्यटक जाने गरेको अध्यक्ष पाण्डेले स्पष्ट पारे । नेपाल आउने पर्यटकको संख्या बढाउनका लागि राज्यले शान्ति सुरक्षाको प्रत्याभूति, सडक तथा हवाई पुर्वाधारको व्यवस्थापनमा जोड दिनुपर्ने उनको भनाइ छ ।







कर्पोरेट समाचार 



















प्रतिक्रिया दिनुहोस्