Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

विपिनको शव पहिचान, युद्धको पहिलो महिनामै उनले मृत्युवरण गर्नुपरेको हुनसक्ने इजरायली सेनाको अनुमान 

विपिनको शव पहिचान, युद्धको पहिलो महिनामै उनले मृत्युवरण गर्नुपरेको हुनसक्ने इजरायली सेनाको अनुमान 
विज्ञापन
Advertisement

काठमाडौं । इजरायली सेनाले मंगलबार हमासले फिर्ता गरेका चार जना बन्धकमध्ये एक नेपाली विद्यार्थी विपिन जोशी र इजरायली नागरिक गाइ इलुजको शव पहिचान गरिएको पुष्टि गरेको छ । सेनाले अन्य दुई बन्धकको नाम भने परिवारको अनुरोधमा हाललाई सार्वजनिक गरेको छैन ।

विज्ञापन
Advertisement
Advertisement

२२ वर्षीय नेपाली विद्यार्थी विपीन जोशी हमासको आक्रमण हुनुभन्दा तीन हप्ताअघि मात्र कृषि तालिमका लागि इजरायल पुगेका थिए । किबुट्ज अलुमिममा रहेका बेला अपहरणमा परेका विपिन आक्रमण हुनुअघि त्यहाँका थाई कामदारहरूसँग शरण लिएको एउटा तस्बिर सार्वजनिक भएको थियो । इजरायली सेनाले युद्धको पहिलो महिनाहरूमा कैदमै उनको हत्या गरिएको अनुमान गरिएको छ ।

जोशीका सहपाठी हिमाञ्चल कट्टेलले एएफपीसँगको कुराकानीमा आक्रमणका क्रममा आतङ्ककारीहरूले उनीहरू लुकेका आश्रयमा ग्रेनेड फ्याँकेको जसलाई जोशीले समातेर विस्फोट हुनुअघि बाहिर फ्याँकिदिनुभएको बताए । त्यसैका कारण पनि उनी हमासको नजरमा परेको हुनसक्ने अनुमान गरिएको छ । ‘उहाँको वीरताले मेरो ज्यान बचायो’, कट्टेलले भावुक हुँदै भनेका छन् ।

होस्टेजेस एन्ड मिसिङ फेमिलिज फोरम नामक मुख्य इजरायली समूहले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘गाइ र विपिनको पुनरागमनले दुई वर्षभन्दा बढी समयदेखि पीडादायी अनिश्चिततामा बाँचिरहेका परिवारहरूलाई केही हदसम्म सान्त्वना दिएको छ। तर हामी सबै २४ जना बन्धक घर फर्किएसम्म आराम गर्नेछैनौँ ।’ इजरायली सेनाले एक विज्ञप्तिमा २६ वर्षीय गाइ इलुज सन् २०२३ अक्टोबर ७ मा हमास नेतृत्वको आक्रमणका क्रममा दक्षिण इजरायलमा आयोजित नोभा सङ्गीत महोत्सवमा सहभागी भएका बेला अपहरणमा परेको जनाएको छ ।

आक्रमणको समय उनी जिपमा भाग्ने प्रयास गर्दै पछि रूखमा लुकेका थिए, जहाँबाट उनले आफ्ना आमाबाबुसँग अन्तिम सम्पर्क गरेको परिवारले जनाएको छ । त्यसपछि उनलाई कब्जा गरी हमासले गाजामा लगेको थियो । सेनाका अनुसार इलुज अपहरणका क्रममा घाइते भएका थिए भने, हमासको कैदमा रहँदा उपचारको अभावमा उनको मृत्यु भएको थियो । उनको मृत्युको एकिन मिति सार्वजनिक नगरिए पनि सन् २०२३ डिसेम्बरमा निधन पुष्टि गरिएको थियो। इलुज प्रसिद्ध इजरायली सङ्गीतकारहरूका लागि ध्वनि टेक्निसियनको रूपमा कार्यरत थिए ।

हमासले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा सम्पन्न युद्धविराम सम्झौताको एक अङ्गका रूपमा सबै २० जना जीवित बन्धक रिहा गरेसँगै चार शव फिर्ता गरेको थियो। प्यालेस्टिनी लडाकूहरूका हातमा अझै २४ जना बन्धकका शव रहेका छन् । ती शवलाई पनि युद्धविराम सम्झौताका सर्तअनुसार निकट भविष्यमा फिर्ता गरिने अपेक्षा गरिएको छ । एएफपी

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit