Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

झोलुङ्गे पुल मर्मत नहुँदा सर्वसाधारणलाई सास्ती

झोलुङ्गे पुल मर्मत नहुँदा सर्वसाधारणलाई सास्ती
विज्ञापन
Advertisement

ओखलढुङ्गा । यहाँ सेप्ली झरना जाने झोलुङ्गे पुलमा माथिबाट खसेको ढुङ्गाले क्षति पुर्‍याउँदा पर्यटक तथा सर्वसाधारणलाई आवागमनमा सास्ती भएको छ। तीन महिनाअघि माथिबाट खसेको ढुङ्गाले पुलको बीच भागमा क्षति पुर्‍याएको थियो । उक्त पुल मर्मत नहुँदा चाडपर्वका बेलामा झरना हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकका साथै सर्वसाधरणलाई आवतजावतमा समस्या भएको हो।

विज्ञापन
Advertisement
Advertisement

दसैँ, दीपावलीलगायत पर्व मनाउन गाउँ फर्किएका अधिकांश मोलुङ गाउँपालिका–८ स्थित सुन्दर पर्यटकीयस्थल सेप्ली झरना घुम्न आउने गर्दछन् । अन्य समयमा छिटफुट मानिस आउने गरे पनि चाडपर्वको समयमा यहाँ आउने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेख्य हुने स्थानीय बताउँछन् ।

पर्यटकीय पूर्वाधार विकास योजनाअनुसार झरनालाई नजिकबाट नियाल्न गत वर्ष निर्माण गरिएको पुल यसै वर्ष क्षति भएपछि समस्या भएको स्थानीय दीपक राईले बताए । लामो समय मर्मत नगरिँदा जोखिम बढेको भन्दै उनले बालबालिका र वृद्धवृद्धा खोला पार गर्न नसक्ने हुँदा क्षतिग्रस्त पुलबाट जोखिम मोलेर वारपार गर्नुपरेको सुनाए ।

मोलुङ–८ की आशा राईले यस वर्ष पुल क्षतिग्रस्त भएपछि उक्त क्षेत्रमा यात्रा गर्न जोखिमपूर्ण रहेको भन्ने सूचना प्रवाह हुँदा विगतको तुलनामा सेप्ली आउने पर्यटकको सङ्ख्या घटेको बताइन् । पुल नजिकैसम्म यतायातको पहुँच भए पनि वर्षामा अवरुद्ध भएको सडक स्तरोन्नति नगरिँदा सवारीमा सेप्ली जाने पर्यटकलाई समस्या हुने गरेको उनको भनाइ छ ।

झोलुङ्गे पुलमा परेको प्वालका कारण जोखिम बढिरहेको अवस्थामा तत्काल मर्मत नगरिएको भन्दै स्थानीयले जनप्रतिनिधिको आलोचना गरिरहेका छन् । मोलुङ–८ का वडाध्यक्ष सुधीर राईले वर्षायाममा सडक अवरुद्ध भएको बताउँदै मर्मतका लागि आवश्यक सामग्री पुलसम्म पु¥याउन नसक्दा काम अघि बढ्न नसकेको उल्लेख गरे । केही दिनमा सडक सञ्चालन भएपछि पुल मर्मत सुरु गर्ने तयारी भइरहेको उनको भनाइ छ ।

सुन्दर र आकर्षक भएकाले सेप्ली झरना जिल्लाको एक आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ। मोलुङ गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्य भए पनि आवश्यक पूर्वाधार विकास र प्रचारप्रसार हुन नसक्दा सेप्ली ओझेलमा छ । ओखलढुङ्गाका पोकली, रातमाटे र सेप्लीलगायत चर्चित झरनामा असोज, कात्तिकको समयमा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । रासस

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit