काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले निर्वाचन भाँड्ने प्रयास नगर्न सबै राजनीतिक दलहरुलाई आग्रह गरेकी छन् । सोमबार ट्रमा सेन्टर र शिक्षण अस्पतालमा जेनजी आन्दोलनका उपचाररत घाईतेहरुसँग भेटेर स्वास्थ्य अवस्था बुझेपछि मन्त्री शर्माले यस्तो आग्रह गरेकी हुन् ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा एक जना घाइतेको गम्भिर अवस्था देखिएपछि उनी गहभरी आँशु झार्दै भावुक भइन् । यस्तै, उनले निर्वाचन भाँड्ने नाममा आन्दोलन नगर्न सम्बद्ध सबैको ध्यानाकर्षण गराइन्। मन्त्री शर्माले भनिन्,‘ बिरामीहरुको अवस्था हेर्दाखेरी मलाई धेरै गाह्रो भयो । म मुलुक आन्दोलनमा नजाओस भन्न चाहन्छु र जसले सरकारको विरोध गर्नुहुन्छ, चुनाव भाँड्न खोज्नुहुन्छ।’
यस्तै, उनले सरकारले सकारात्मक सुझावलाई ग्रहण गरेर त्यसको कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिइन् । ‘चुनावका लागि आएका सकारात्मक सुझावहरुलाई ग्रहण गर्दै हामी सबैले त्यही दिशामा कार्यरत रहनुपर्छ । र मैले गरेका कामहरु कति, के भयो भन्ने कुरा म पारदर्शी ढंगले देखाउनेछु भनेर पनि भन्नेछु ।’ उनले घाइते बिरामीहरुले आफूलाई अस्पतालको बेथितिको बारेमा ध्यानाकर्षण गराएको उल्लेख गर्दै उनीहरुले दिएको सुझावको आधारमा अस्पतालहरुको सुधारमा लाग्ने प्रतिवद्धता समेत व्यक्त गरिन् ।
मन्त्री शर्माले सरकार निर्वाचनमा केन्द्रित भएकाले त्यसको विरोध गरिरहन आवश्यक नभएको जिकिर समेत गरेकी छन् । मन्त्री शर्माले यसअघि सोमबार बिहानै काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा रहेका जेनजी आन्दोलनका घाइतेहरुको अवस्थाबारे पनि जानकारी लिएकी थिइन् । घाइतेहरुको उपचारमा कमी हुन नदिने मन्त्री शर्माको भनाइ छ ।







कर्पोरेट समाचार 



















प्रतिक्रिया दिनुहोस्