Advertisement
Advertisement
Corporate Samachar
१० जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

घनाबस्तीमा निगमको डिपो, स्थानीयद्वारा तत्काल स्थानान्तरणको माग

घनाबस्तीमा निगमको डिपो, स्थानीयद्वारा तत्काल स्थानान्तरणको माग
विज्ञापन
Advertisement

धनगढी । घनाबस्तीको बीचमा रहेको नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक डिपो तत्काल स्थानान्तरणको माग गर्दै स्थानीयले दबाबमूलक कार्यक्रम आयोजनाको तयारी गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित डिपो स्थानान्तरणका लागि दुई वर्षदेखि काम भइरहेको भनिए पनि हालसम्म कुनै परिणाम नदेखिएपछि स्थानीयले आन्दोलनको तयारी थालेका हुन् ।

टोल विकास संस्थाको अगुवाइमा डिपो स्थानान्तरणको प्रक्रिया तत्काल अघि बढाउन उनीहरुले अर्को सातादेखि चरणबद्ध रुपमा दबाब दिने तयारी गरेका छन् । केही दिनअघि उनीहरुले वडाध्यक्षको पहलमा स्थानीयको सरोकार सम्बोधन गर्न डिपो प्रमुखको ध्यानाकर्षणसमेत गराएका थिए ।

डिपोसँगै जोडिएको शुभकामना टोल विकास संस्थाका अध्यक्ष दीर्घराज ओझा घनाबस्तीबीचमा रहेको डिपोका कारण सुरक्षा संवेदनशीलता बढेको उल्लेख गर्दै तत्काल डिपो सार्न निगम व्यवस्थापन गम्भीर हुनुपर्ने बताउनुहुन्छ । शुभकामना टोलमा ८७ वटा घरधुरी छन् । ती घरमा चार सय भन्दा बढी ३५० भन्दाबढी मानिसको बसोबास रहेको छ ।

‘दुई वर्षअघि देखि डिपो स्थानान्तरणको प्रक्रिया अघि बढेको भनिएको छ, तर अहिलेसम्म परिणाम आएको छैन’, अध्यक्ष ओझाले भने , ‘तत्काल डिपो स्थानान्तरण गरेर स्थानीयलाई ढुक्कसँग बसोबास र पेसा व्यवसाय गर्न सक्ने अवस्था बनाउन आन्दोलनका कार्यक्रम अघि बढाउँदै छौँ ।’

चटकपुर निवासी धर्मसिंह–माधवी ऐर दम्पत्तिलाई अहिले रातमा राम्रो निद्रा पर्दैन । घरै अगाडि रहेको निगमको डिपोमा जुनसुकै बेला भवितव्य हुनसक्ने र त्यसबाट ठूलो मानवीय र भौतिक क्षति व्यहोर्नुपर्ने चिन्तामै बाँचिरहनुपरेको बताए ।

डिपोका कारण सधैँ त्रसित अवस्थामा रहनुपरेको गुनासो गर्दै स्थानीय धर्मसिंह डिपो स्थानान्तरणका लागि पटकपटक सरोकारवालालाई आग्रह गरिए पनि कुनै सुनुवाइ नभएको बताउँछन् ।

पेट्रोलियम पदार्थ भण्डारण गरिएका ठूल्ठूला ट्याङ्क नजिकै भएको र डिपोबाट इन्धन लोडअनलोड भइरहँदा घरमा आगो बाल्न पनि डराउनुपर्ने अवस्था रहेको स्थानीयको गुनासो छ ।

टोल विकास संस्थाका अध्यक्ष ओझा गतको तिहारमा पटका नपट्काउन अनुरोध गर्दै हिँड्नु परेको सुनाउँछन् ।

केही वर्ष पहिले जङ्गल रहेको डिपो आसपास अहिले बाक्लो बस्ती छ । धनगढी–अत्तरिया सडक खण्डमा रहेको डिपो अगाडिबाट दैनिक हजारौँ सवारीसाधन गुड्छन् । नजिकै धनगढी नेत्रालय, सिपी अस्पतालसहित अन्य स्वास्थ्य संस्था, विद्यालय र व्यापारिक भवन छन् ।

कतिबेला के हुन्छ भन्न सकिन्न । डिपोका कारण सधैँको चिन्ता”, टोल विकास संस्थाका अध्यक्ष ओझा भन्छन्, ‘ स्थानीयले ढुक्कका साथ जीवनयापन गर्न सकेका छैनन्, घरमा आगो बाल्न पनि डराउनुपर्ने अवस्था छ ।’

केही वर्षअघि डिपोको पूर्वतर्फ रहेको एक फर्निचर उद्योगमा आगलागी हुँदा कतिपय स्थानीय घरै छाडेर हिँडेका चटकपुरवासीको सम्झनामा ताजै छ । ‘डिपो नजिकको फर्निचरमा आगो लागेपछि यहाँका स्थानीयमा अब भाग्नुपर्छ भन्ने त्रास बढेको थियो’, उनले भने ।

डिपोका कारण सुरक्षा चुनौती बढेको जनाउँदै धनगढी उपमहानगरपालिकाले पनि बारम्बार निगमलाई सुरक्षित स्थानमा त्यसलाई स्थानान्तरण गर्न आग्रह गर्दै आएको नगर प्रमुख गोपी हमाल बताउँछन् ।

डिपोकै नजिक कक्षा १० सम्म अध्ययन हुने धनगढी प्रज्ञा सदन सञ्चालनमा छ । उक्त विद्यालयमा ४०० बढी विद्यार्थी अध्यनरत छन् । विद्यालयका प्राचार्य तीर्थराज फुलारा आफूहरू सधैँ त्रासमा रहेको र असुरक्षित महसुस गरिरहनुपरेको बताउँछन। ‘डिपो स्थानान्तरणको योजना अघि बढेको सुनिएको छ, यो स्वागतयोग्य छ, जतिसक्दो चाँडो यो कार्यान्वयन हुनुपर्छ’ उनले भने ।

जग्गा खोजी गर्दैछौँ, पहिचान हुनेबित्तिकै स्थानान्तरण गर्छौं ः कार्यकारी निर्देशक

स्थानीय र सरोकारवालाको दबाबपछि निगमले यसअघि नै धनगढीको डिपो स्थानान्तरण गर्ने योजना बनाएको थियो । नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय आवास कम्पनीले कञ्चनपुरको पुनर्वास नगरपालिका–३ र ५ मा रहेको २२ बिघा जग्गा निगमलाई बिक्री गर्ने प्रस्ताव अघि बढाए पनि जग्गा खरिदमा भने अन्योल देखिएको थियो ।

त्यसपछि निगमले भण्डारण क्षमता अभिवृद्धि परियोजनाका प्रमुख प्रदीपकुमार यादवको संजोजकत्वमा जग्गा पहिचानको काम अघि बढाएको थियो । समितिले कैलालीको अत्तरिया चोकबाट छ किलोमिटर पूर्वतर्फ पूर्वपश्चिम राजमार्गको उत्तरतर्फको करिब २० बिघा जग्गा डिपो स्थानान्तरणका उपयुक्त रहेको भन्दै प्रक्रिया अघि बढाउन सिफारिस गरेको थियो ।

निगमका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्ट जग्गा पहिचानको काम भइरहेको र उपयुक्त जग्गा भेट्टिनेबित्तिकै स्थानान्तरणको प्रक्रिया अघि बढ्ने बताउँछन । ‘उपयुक्त जग्गा नै प्राप्ति हुन सकेको छैन, चार÷पाँच स्थानमा जग्गा खोजी भइरहेको छ । पारदर्शी र मितव्ययी ढङ्गले डिपोे स्थानान्तरणको जग्गा खोजी भइरहेको छ’,उनले भने ।

धनगढीस्थित डिपोको लोडिङ क्षमता कम हुँदा टयाङ्करमा तेल भर्न समस्या परिरहेको नेपाल पेट्रोलियम डिलर्स एशोसियसन, सुदूरपश्चिम प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष जीयालाल आचार्य बताउँछन । उनले भण्डारण क्षमता बढाउनाका साथै अहिलेको डिपोलाई स्थानान्तरण गरेर सुविधा सम्पन्न बनाउनेतर्फ निगमको ध्यान जानुपर्ने उनको भनाइ छ ।

हाल धनगढीस्थित डिपो थोरै जग्गामा बनेको हुँदा अन्य संरचना निर्माण गर्न सम्भव नरहेको तथा दैनिक कार्य सञ्चालनसमेत विभिन्न कठिनाइ भोग्नुपरेको निगमको सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख हरिदत्त जोशी बताउँछन् ।

अहिले डिपो रहेको जग्गा साँघुरो भएकाले भण्डारण क्षमता वृद्धि गर्न तथा ट्याङ्करमा लोडअनलोड गर्न पनि समस्या भइरहेको उनको स्वीकारोक्ति छ ।

सरकारले हरेक प्रदेशमा कम्तीमा ९० दिनको माग धान्नसक्ने पेट्रोलियम भण्डारण गृह निर्माण गर्ने योजना बनाएको छ । सोहीअनुसार सबै प्रदेशमा भण्डारण क्षमता अभिवृद्धिका काम अघि बढेका छन् । अहिलेको भण्डारण क्षमताले सुदूरपश्चिम प्रदेशको एक साताको माग पनि धान्न नसक्ने बताइएको छ ।

एक बिघा आठ कठ्ठामा फैलिएको उक्त डिपोमा अहिले डिजेल भण्डारणका लागि सात सय ६० किलोलिटरका दुई वटा भर्टिकल ट्याङ्क र ७० किलोलिटरको भूमिगत ट्याङ्क तथा पेट्रोल भण्डारणका लागि ७६० किलोलिटरको एक भर्टिकल ट्याङ्क र ७० किलोलिटरको भूमिगत ट्याङ्कसहितको संरचना छन् ।

धनगढी डिपोले सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुरा जिल्लामा पेट्रोलियम पदार्थ आपूर्ति गर्दै आएको छ ।

विसं २०३७ मा स्थापना भएको सो डिपो अन्य प्रादेशिक डिपोको तुलनामा कम क्षेत्रफलमा सञ्चालनमा रहेको छ । उक्त डिपोबाट अहिले दैनिक १०० किलोलिटर पेट्रोल, ३०० किलोलिटर डिजेल तथा न्यूनमात्रामा मट्टितेल बिक्री हुँदै आएको छ । भारतको बन्थरास्थित इण्डियन आयल कर्पोरेसन (आइओसी)को डिपोबाट कैलालीको गौरीफन्टा नाका हुँदै धनगढी डिपोमा पेट्रोलियम पदार्थ आयात हुँदै आएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit