काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले १९औं वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेस’ को दोस्रो संस्करण आयोजना गर्ने भएको छ ।
बैंकले ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ आगामी शनिबार (मंसिर ६ गते) गरिमा रोड रेसको दोस्रो संस्करण काठमाडौंमा आयोजना गर्न लागेको हो ।
बैंकले गत वर्षदेखि शुरु गरेको उक्त प्रतियोगिता खुला (महिला तथा पुरुष) तर्फ १० किलोमिटर, कर्पोरेट (महिला तथा पुरुष) तर्फ ५ किलोमिटर र भेट्रान (महिला तथा पुरुष) तर्फ समेत ५ किलोमिटरको हुनेछ । गत वर्ष खुला र कर्पोरेट विधामा मात्र भएको प्रतियोगितामा यस वर्षदेखि महिलातर्फ ४५ वर्ष र पुरुषतर्फ ५० वर्ष उमेर पार गरेका प्रतियोगीहरुलाई समेत समेट्ने उद्देश्यले भेट्रान विधा थप गरिएको आयोजकले जनाएको छ ।
करिब एक हजार प्रतिष्पर्धी सहभागी हुने अपेक्षा रहेको उक्त प्रतियोगितामा खुलातर्फको दुवै समूहको विजेताले जनही ५० हजार रुपैयाँ, कर्पोरेट तथा भेट्रान तर्फ जनही ३० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । साथै, खुला तर्फ दोस्रो स्थान हासिल गर्नेले ३५ हजार, तृतीय स्थान हासिल गर्नेले २० हजार रुपैयाँ चौथो स्थान हासिल गर्नेले १५ हजार रुपैयाँ र पाँचौ स्थान हासिल गर्नेले १० हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरेको आयोजकले जानकारी गराएको हो । त्यसैगरी, कर्पोरेट र भेट्रान तर्फ दोस्रो स्थान हासिल गर्नेले जनही २० हजार, तृतीय हुनेले १४ हजार, चौथो हुनेले १० हजार र पाँचौ हुनेले सात हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालय रहने भवन परिसरबाट शुरु हुने दौड प्रतियोगिताको खुला तर्फको प्रतिस्पर्धा बुढानिलकण्ठ नगरपालिका वडा नं. ३ को कार्यालय भवन पुगेर पुनः सोही बाटो हुँदै बालुवाटार पुगेर समापन हुनेछ । यस्तै, कर्पोरेट र भेट्रान तर्फको प्रतिस्पर्धा सोही स्थानबाट शुरु भई बाँसबारी स्थित न्युरो अस्पताल पुगेर पुनः सोही बाटो बालुवाटार पुगर सकिनेछ ।
प्रतियोगितालाई थप व्यवस्थित बनाउनका लागि विकास बैंकले खल्ती एपसँग सहकार्य गरेको जनाएको छ । इच्छुक धावकहरुले प्रतियोगितामा २०८२ कार्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म खल्ती एप मार्फत २० रुपैयाँ शुल्क तिरी रजिष्टे«शन गर्न सक्नेछन् ।















प्रतिक्रिया दिनुहोस्