काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि मिडिया तथा टिकटिङ अधिकार प्रदान गरेको छ। क्यानले बोलपत्र तथा खरिद प्रक्रिया सम्पन्न गरी एनपीएलको तेस्रो संस्करणका लागि सफल अधिकारधनीहरूको घोषणा गरेको हो।
क्यानका अनुसार विश्वभरका लागि ओटीटी अधिकार नेटटीभी प्रालिले प्राप्त गरेको छ। नेटटीभीले १८ करोड ४ लाख रुपैयाँमा उक्त अधिकार पाएको हो। त्यस्तै, नेपाल क्षेत्रको लिनियर टेलिभिजन अधिकार हिमालय टेलिभिजन नेटवर्क प्रालिले प्राप्त गरेको छ। हिमालय टेलिभिजनले १४ करोड ६४ लाख रुपैयाँमा प्रसारण अधिकार खरिद गरेको क्यानले जनाएको छ।
टिकटिङ अधिकार भने इसेवा लिमिटेडले प्राप्त गरेको छ। इसेवाले ८५ लाख रुपैयाँमा टिकटिङ अधिकार पाएको हो। सम्झौताअनुसार टिकटिङबाट प्राप्त हुने कुल आम्दानीको ९५ प्रतिशत हिस्सा क्यानले प्राप्त गर्नेछ भने बाँकी ५ प्रतिशत इसेवालाई प्राप्त हुनेछ। क्यानले एनपीएलको तेस्रो संस्करणलाई थप सफल, व्यवस्थित र प्रभावकारी बनाउन अधिकार प्राप्त कम्पनीहरू तथा अन्य साझेदारसँग सहकार्य गर्ने जनाएको छ।
एनपीएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म सञ्चालन हुँदैछ। प्रतियोगितामा आठ टोलीको सहभागिता रहनेछ।















प्रतिक्रिया दिनुहोस्