Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

अहिले हामीसँग मूल्यमा चित्त दुखाएर सरकारसँग निहुँ खोज्ने समय छैन :  उखु किसान

अहिले हामीसँग मूल्यमा चित्त दुखाएर सरकारसँग निहुँ खोज्ने समय छैन :  उखु किसान
विज्ञापन
Advertisement

महोत्तरी । सरकारले सोमबार उखुको मूल्य र अनुदान रकम निर्धारण गर्यो । तर महोत्तरीका उखु किसानले भने सरकारले आफूहरुको मागअनुसार मूल्य नतोकेको भन्दै गुनासो गरे ।

विज्ञापन
Advertisement
Advertisement

गत वर्षभन्दा यो वर्ष सरकारले मूल्य र अनुदानसमेत गर्दा प्रतिक्विन्टल ७० रुपैयाँले बढाएको छ । तर, उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहा भने सरकारले निर्धारण गरेको मूल्यले किसानलाई राहत नहुने बताउँछन् । उनले भने, ‘उखु खेतीमा हाम्रो बढ्दो लागत र आम उपभोग्य वस्तुमा भएको मूल्यवृद्धि हेरेर प्रतिक्विन्टल ७५० रुपैयाँ पाउनुपर्छ भन्ने माग गरेका थियौं । तर सरकारले मूल्य र अनुदान निर्धारण ६९० रुपैयाँ मात्रै गरिदियो ।’

सरकारले सोमबार चिनी उद्योगले दिने मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ र त्यसमा सरकारले दिने अनुदान ७० रुपैयाँ गरी जम्मा प्रतिक्विन्टल ६९० रुपैयाँ निर्धारण गरेको हो। यतिबेला खुट्टी उखु काटेर अन्य फसल समयमै लगाउन पर्ने दबाबमा किसान छन् । चाँडै उद्योग सञ्चालन भैदिए आफूहरुलाई सहज हुने भङ्गाहा–४ का किसान अरुण गिरी बताउँछन् ।

अहिले आफूसँग सरकारले निर्धारण गरेको मूल्यमा चित्त दुखाएर बस्ने समय नभएको उल्लेख गर्दै उनले भने, ‘अहिले हामीसँग मूल्यमा चित्त दुखाएर सरकारसँग निहुँ खोज्ने समय छैन, अब खुट्टी उखु काट्न ढिलाइ गरे खेतबारी छ महिना बाँझै हुन्छ । चाँडै उद्योग सञ्चालन होस् भन्ने हतारो छ ।’ एकपटक लगाएर दुई वर्ष बाली लिन पाइने उखुको पहिलो वर्षको फसललाई ‘मुडन’ र दोस्रो वर्षको लाई ‘खुट्टी’ भनिन्छ । खुट्टी उखु काटेर पुस तेस्रो साताभित्र अन्य बाली लगाइ सक्नुपर्ने समयको दबाबमा अहिले यहाँका किसानहरु छन् ।

पुस तेस्रो साताभित्र अर्को बाली नलागे असारसम्म पर्खन पर्ने किसानको भनाइ छ । ‘अहिले बाली लगाउन नपाए खेतबारी रुखिन्छ, अनि जेठ/असारमा पर्ने पानी पर्खन पर्ने हुन्छ’, बर्दिवास–९ पशुपनिगरका किसान रामविनोद महतोले भने, ‘यसैले अहिले खुट्टी उखु काट्ने हतारो परेको हो ।’

उखु किसान र यिनका प्रतिनिधिसंस्था उखु उत्पादक कृषक सङ्घ, उखु उत्पादक किसान महासङ्घले प्रत्येक वर्ष उखुको मूल्य निर्धारण कात्तिक मसान्तभित्र गरीसक्नुपर्ने र मङ्सिर दोस्रो साताभित्रै खुट्टी उखुको क्रसिङ खोल्नुपर्ने माग राख्दै आएका छन् । सरकारले सधैँजसो किसानलाई मूल्य मान्न बाध्य हुने बेला पारेर मूल्य निर्धारण गर्ने गरेको बर्दिवास–१२ बिजलपुराका किसान विश्वनाथ सिंह बताउँछन् । ‘सरकारले यसपाली उखुको मूल्य प्रतिक्विन्टल ३५ रुपैयाँ बढायो । अनुदान ७० रुपैयाँ दिने घोषणा ग¥यो’, उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष कुशवाहा भन्छन्, ‘गत वर्षभन्दा यो निकै राम्रो हो ।’ गतवर्ष उखुको मूल्य ५८५ प्रतिक्विन्टल र अनुदान सरकारले ३५ रुपैयाँ मात्र दिएको थियो ।

जिल्लाको गौशाला–१ रामनगरस्थित एभरेष्ट सुगर ऐण्ड केमिकल इण्डष्ट्रिज अझै सञ्चालनको सुरसारमा नहुँदा खुट्टी उखु काट्ने बेला घर्किन लागेको किसानको चिन्ता छ। उद्योगले अब मूल्य निर्धारणको पाटो टुङ्गिएको हुँदा चाँडै क्रसिङ थाल्ने तयारी गरिएको जनाएको छ । यसपालि क्रसिङ खोल्नुअघिको डोला पूजा (उपकरण पूजा) यही मङ्सिरभित्रै सम्पन्न गरेर पुस पहिलो साता क्रसिङ खोल्ने तयारी रहेको उद्योगले जनाएको छ। गत वर्ष मङ्सिर २६ गते नै उखु क्रसिङ थालेको उद्योगले यसपालि भने ढिलो गरेको छ ।

जिल्लामा यसपालि नौ हजार ६०० बिघामा उखुखेती गरिएको छ । जसमध्ये पाँच हजार बिघाको खुट्टी र चार हजार ६०० बिघाको मुडन रहेको उखु उत्पादक कृषक सङ्घका जिल्ला अध्यक्ष कुशवाहाले बताए ।रासस

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit