काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीबीच मुलुकको वर्तमान व्यवसायिक अवस्था, आगामी सम्भावना तथा आपसी सहकार्यका विषयमा बृहत् छलफल भएको छ । बुधबार संघको सचिवालयमा आयोजित कार्यक्रममा दुवै संस्थाका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो ।
नेपाल चेम्बर अफ कमर्सका तर्फबाट अध्यक्ष कमलेश कुमार अग्रवाल, अनरेरी उपाध्यक्ष अर्जुनप्रसाद शर्मा र उपाध्यक्ष सन्तोष पाण्डे सहभागी रहेका थिए ।
त्यस्तै, नेपाल समुद्रपार निकासी पैठारी संघका अध्यक्ष शिवकुमार अग्रवालसहित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष शिवकुमार अग्रवालले नेपाल चेम्बर अफ कमर्स र नेपाल समुद्रपार निकासी पैठारी संघ क्रमशः ७५ र ५० वर्ष लामो इतिहास बोकेका प्रतिष्ठित संस्थाहरू भएको उल्लेख गरे । दुवै संस्थाका सरोकार र उद्देश्यहरू धेरै हदसम्म समान रहेकाले आपसी सहकार्य गर्दै अघि बढ्ने संघको लक्ष्य रहेको उनको भनाइ थियो ।
अहिले व्यवसायीहरूमा अन्योलको अवस्था रहेको उल्लेख गर्दै अध्यक्ष अग्रवालले यस्तो परिस्थितिमा संघले आफ्ना सदस्यहरूको मनोबल उच्च बनाउने प्रयास गरिरहेको बताए । चेम्बरलगायत निजी क्षेत्रका संस्थाबीच सहकार्य भएमा व्यवसायीमा सकारात्मक ऊर्जा प्रवाह हुने उनको धारणा थियो ।
चेम्बर निजी क्षेत्रको प्रभावशाली संस्थामध्ये एक भएको उल्लेख गर्दै उनले अन्य संघसंस्थाले चेम्बरबाट सिक्दै अघि बढ्नुपर्ने र चेम्बरले मार्गदर्शनको भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले अहिलेको समय लगानीका लागि उपयुक्त रहेको बताउँदै व्यवसायीलाई अवसरको सदुपयोग गर्न आग्रह गरे ।
‘लगानी गर्ने भनेकै यस्तै चुनौतीपूर्ण समयमा हो । व्यवसायीले चुनौतीभित्रै अवसर खोज्ने हो, अवसर पनि चुनौतीभित्रै हुन्छ,’ उनले भने । ‘अहिले बैंकिङ प्रणालीमा तरलता प्रशस्त छ, बैंकहरू ऋण दिन तयार छन् । यो समयमा सस्तो ब्याजदरको ऋण लिएर काम गर्ने व्यवसायीले राम्रो प्रतिफल प्राप्त गर्न सक्छन् ।’
अध्यक्ष अग्रवालले निजी क्षेत्रका विभिन्न संघसंस्थासँग हातेमालो गर्दै अघि बढ्न चेम्बर तयार रहेको समेत स्पष्ट पारे । साथै, उहाँले चेम्बर आन्दोलनका विविध आयाम र निजी क्षेत्रको भूमिकाबारे पनि प्रकाश पारेका थिए ।

















प्रतिक्रिया दिनुहोस्