Advertisement
Advertisement
Corporate Samachar
१८ असार २०८३, बिहीबार
Advertisement

सौहार्द वातावरणमा २१ गते नै निर्वाचन सम्पन गराएर सरकारले जस लिनुपर्छ : एमाले नेतृ शाक्य

सौहार्द वातावरणमा २१ गते नै निर्वाचन सम्पन गराएर सरकारले जस लिनुपर्छ : एमाले नेतृ शाक्य
विज्ञापन
Advertisement

काठमाडौं। नेकपा एमालेको नेतृ अष्टलक्ष्मी शाक्यले कुनै पनि हालतमा तोकिएकै मितिमा निर्वाचन हुनैपर्ने बताएकी छन् । एमाले पूर्व उपाध्यक्ष तथा बागमती प्रदेशको पूर्वमुख्यमन्त्री समेत रहेकी नेतृ शाक्यले देशलाई निकास दिने अन्तिम विकल्प निर्वाचन भएकाले सरकारले भयरहित वातावरणमा चुनाव सम्पन्न गराउनुपर्ने बताइन् ।

विज्ञापन
Advertisement
Advertisement

अप्ठ्यारो स्थितिमा रहेको देशलाई निकास दिन तथा गणतन्त्रमाथि उठेको प्रश्नको जवाफ नै निर्वाचन भएको उनको तर्क छ । ‘यदी चुनाव भएन भने, अप्ठ्यारो हुन्छ। अस्थिरता सिर्जना हुन्छ, गणतन्त्रमाथि प्रश्न आउँछ, संविधानमाथि प्रश्न खडा हुन्छ। त्यसैले हामीले चुनाव कुनै पनि हालतमा फागुन २१ गते सम्पन्न गर्नैपर्छ।’ शाक्यले भनिन् ।

नवयुवा पुस्ताको आन्दोलनमा भएको घुसपैठले देश जलेको उनको तर्क छ । जेनजी आन्दोलनपछि निर्वाचनको म्यान्डेट पाएको अन्तरिम सरकारले फागुन २१ को निर्वाचन गराउन देखाएको तदारुकताको उनले प्रशंसा पनि गरिन् । उनले भदौमा भएको जेनजी आन्दोलनलाई आन्दोलन मात्र नभई लामो समयको तयारीसहितको घुसपैठको रूपमा व्याख्या गरिन्। उक्त गतिविधिले देशलाई अस्तव्यस्त बनाएको, संविधानमाथि प्रश्न उठाएको र राजनीतिक अस्थिरता निम्त्याएको उनको भनाइ थियो। उनले भनिन्, ‘नवयुवा पुस्थाले जुन आन्दोलन गरे, आन्दोलन भनौ कि घुसपैठ भनौ वा लामो समयको तयारी! त्यसले देशलाई जलाउने काम मात्र गरेन अस्तव्यस्त बनायो । संविधानमाथि प्रश्न उठ्यो अप्ठ्यारो भयो ।’

वर्तमान सरकार महिला नेतृत्वमा बनेको उल्लेख गर्दै शाक्यले निर्वाचन गराउने जिम्मेवारीसहित गठन भएको सरकारले तयारीका साथ काम गरिरहेको भन्दै सकारात्मक मूल्यांकन गरिन् । शाक्यले भनिन्, ‘त्यसपछि पहिलो महिला प्रधानमन्त्रीको नेतृतवमा बनेको सरकारको मूल दायित्व नै सहज वातावरणमा निर्वाचन गराउने हो। उहाँहरु जुन तयारीका साथ लागिरहनु भएको छ मलाई ठिकै लागेको छ । अब कुशल ढंगले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरे सरकारले जस लिने ठाउँ बन्छ ।’

शाक्यले निर्वाचन कुशल व्यवस्थापनका साथ, स्वतन्त्र र निष्पक्ष वातावरणमा सम्पन्न गर्न सके सरकारको महत्वपूर्ण उपलब्धि हुने बताइन्। उनका अनुसार अहिले सबै राजनीतिक दल निर्वाचनमा होमिइसकेका छन्, तर घोषणापत्र ढिलो आउनु दलका कमजोरी हो । ‘घोषणापत्रमार्फत देश बनाउने दृष्टिकोण, सुशासन, समृद्धि र संसदीय अभ्यासको स्पष्ट खाका आउनुपर्छ,’ उनले भनिन् । लोकतन्त्रमा नयाँ दल आउनु स्वाभाविक भएपनि पूराना दलको इतिहास, त्याग र बलिदानलाई बेवास्ता गर्न नहुने शाक्यको भनाइ छ।

संविधान समावेशी भएको उल्लेख गर्दै शाक्यले दलित, महिला, अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक तथा सबै समुदायलाई राज्यको निर्णय प्रक्रियामा स्थान दिएको बताइन् । संविधान सभाकी सदस्यसमेत भइसकेकी शाक्यले संविधानमा केही परिमार्जन आवश्यक हुनसक्ने भएपनि समग्रमा यो नेपाली विविधतालाई समेट्ने उत्कृष्ट दस्तावेज भएको बताइन्।

नेकपा एमालेको लामो राजनीतिक यात्रालाई स्मरण गर्दै उनले पार्टीभित्र वैचारिक छलफल कमजोर हुँदा गुट जन्मिने पुष्पलालको चेतावनी स्मरण गरिन् । उनले नेतृत्वको हृदय फराकिलो हुनुपर्ने र सबैलाई समेट्न सक्नुपर्नेमा जोड दिइन् । महिला सहभागिताका विषयमा गम्भीर चिन्ता व्यक्त गर्दै शाक्यले ३३ प्रतिशत महिला प्रतिनिधित्व नेतृत्व तहबाटै चुनौतीमा परेको बताइन् ।

‘महिला आफ्नो मान्छे नभएको कारण टिकटबाट वञ्चित हुनु संविधानमाथिकै चुनौती हो,’ उनले भनिन् । महिला विभागको नेतृत्वमा रहेर ३३ प्रतिशत प्रतिनिधित्व संविधानसम्म पु¥याउन भूमिका खेलेको स्मरण गर्दै उनले अहिलेको अवस्था गलत सन्देश जाने खालको रहेको र तत्काल सुधार आवश्यक रहेको बताइन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit