Advertisement
Advertisement
Corporate Samachar
१८ असार २०८३, बिहीबार
Advertisement

त्रिभुवन विमानस्थलमा ४ हजारभन्दा बढी पुराना प्रवेश पास सक्रिय, निष्क्रिय बनाउने काम सुरु

त्रिभुवन विमानस्थलमा ४ हजारभन्दा बढी पुराना प्रवेश पास सक्रिय, निष्क्रिय बनाउने काम सुरु
विज्ञापन
Advertisement

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रतिबन्धित क्षेत्रमा प्रवेशका लागि जारी गरिएका सरुवा, अवकाश, राजीनामा वा सेवा छाडिसकेका कर्मचारीका चार हजारभन्दा बढी प्रवेश पास प्रणालीमा सक्रिय रहेको पाइएपछि ती पास निष्क्रिय बनाउने प्रक्रिया सुरु गरिएको छ।

विज्ञापन
Advertisement
Advertisement

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनमा गरिएको अध्ययनले हाल कार्यरत नरहेका कर्मचारीका चार हजार ७२ वटा प्रवेश पास अझै सक्रिय रहेको देखाएको हो। त्यसपछि प्रधानमन्त्री कार्यालयको समन्वयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले ती पास निष्क्रिय बनाउने कामलाई तीव्रता दिएको छ।

प्राधिकरणका महानिर्देशक मुकेश डङ्गोलका अनुसार नियमित प्रक्रियाअनुसार हालसम्म फोटोसहित र फोटोरहित गरी चार हजार ५०७  प्रवेश पास निष्क्रिय गरिएको छ। सरुवा भएका कर्मचारीका पास फिर्ता गराउन सम्बन्धित निकायलाई परिपत्र पठाइएको, केही पास कर्मचारीले स्वेच्छाले फिर्ता गरेका तथा केहीलाई सम्पर्क गरेर फिर्ता मागिएको उनले बताए।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार विमानस्थलको सुरक्षा र संवेदनशीलतालाई उच्च प्राथमिकतामा राख्दै सरकारले आवश्यक सुधारका काम तत्काल कार्यान्वयन गरिरहेको छ। प्रधानमन्त्री कार्यालयले सचिव गोविन्दबहादुर कार्कीलाई समन्वयको जिम्मेवारी दिँदै विमानस्थल सुरक्षा सुधारका काम अघि बढाएको जनाएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सन् २०२४ जनवरी १ देखि हालसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि फोटोसहितका १२ हजार ४०२ र फोटोरहित एक हजार ४१३ गरी कुल १३ हजार ८१५ प्रवेश पास जारी गरिएको छ। तीमध्ये फोटोसहितका सात हजार ६७७ र फोटोरहित एक हजार ३२८ पास हाल सक्रिय छन्।

प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निषेधित क्षेत्र प्रवेश अनुमति पत्र व्यवस्थापन कार्यविधि, २०८० (तेस्रो संशोधन) अनुसार कर्मचारी सरुवा, अवकाश, राजीनामा वा अन्य कारणले जिम्मेवारीमा नरहेमा तीन दिनभित्र प्रवेश पास फिर्ता गर्नुपर्ने व्यवस्था रहेको जनाएको छ।

अध्ययन प्रतिवेदनले यस्ता पास समयमै निष्क्रिय नगरिए विमानस्थल परिसर वा अन्यत्र दुरुपयोग हुन सक्ने जोखिम औँल्याएको छ। सोही सिफारिसअनुसार अभिलेख व्यवस्थापन व्यवस्थित बनाउने र सुरक्षा प्रणाली थप प्रभावकारी बनाउने उद्देश्यले पुराना प्रवेश पास निष्क्रिय गर्ने अभियानलाई निरन्तरता दिइएको प्राधिकरणले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit