काठमाडौं । नेपालको पश्चिम क्षेत्रबाट आज बिहानैदेखि वर्षा सुरु भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले पश्चिमबाट सुरु भएको वर्षा विस्तारै पूर्वतर्फ सर्दै गएको हो ।
विभागका सूचना अधिकारी दिनकर कायस्थले पश्चिम नेपालको डडेलधुरा,डोटी, अछाम, बाजुरा, बझाङ गुल्मी, कास्की, तनहुँ, पाल्पा, अर्घाखाँची, मनाङलगायत क्षेत्रमा आज बिहानैदेखि वर्षा भइरहेको जनाउँदै वर्षा गराउने उक्त प्रणाली अहिले चितवनसम्म आइपुगेको बताए । विभागको मौसम पूर्वानुमान महाशाखाले पश्चिमबाट सुरु भएको वर्षा पूर्वतर्फ सर्दै गएको जनाएको छ। पछिल्लो एक घण्टामा गुल्मीमा १७ र तनहुँमा ११ मिलिमिटर वर्षा भइरहेको छ । कायस्थका अनुसार काठमाडौं उपत्यकामा पनि वर्षा भइरहेको छ ।
हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको विभागका सूचना अधिकारी कायस्थले जानकारी दिए । उनका अनुसार हाल मधेस, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ भने कोसी र गण्डकी प्रदेशमा आंशिक बादल लागेको छ।
विभागका अनुसार आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा, कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक÷दुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कायस्थका अनुसार अझै केही दिन बदली कायम रहनेछ ।

















प्रतिक्रिया दिनुहोस्