काठमाडौं । नेपालको अग्रणी व्यवसायिक घराना चाैधरी चाैधरी ग्रुप(सीजी) ले विश्वप्रसिद्ध होटल ब्रान्ड ‘द रिट्ज–कार्लटन’ नेपाल ल्याउने घोषणा गरेको छ। मेरिट इन्टरनेशनलसँगको साझेदारीमा सुरु हुन लागेको यो परियोजना नेपाली आतिथ्य क्षेत्रमा अहिलेसम्मकै ठूला लगानीमध्ये एक मानिएको छ।
सीजी अन्तर्गतको सीजी हस्पिटालिटी ग्लाेबलले यस परियोजनामा निजी क्षेत्रका अन्य लगानीकर्तासँग सहकार्य गरेको छ। राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा शुक्रबार आयोजित भूमिपूजन कार्यक्रममार्फत परियोजनाको औपचारिक सुरुआत गरिएको हो।
१०० मिलियन डलर लगानी, २०२९ सम्म सम्पन्न गर्ने लक्ष्य
दरबारमार्ग नजिक ठमेलमा करिब ९ रोपनी क्षेत्रफलमा विकास गरिने यस परियोजनाको अनुमानित लागत १०० मिलियन अमेरिकी डलर रहेको छ। परियोजनाअन्तर्गत १५० कोठा क्षमताको अल्ट्रा लक्जरी होटल, ब्रान्डेड रेसिडेन्स, व्यवसायिक कम्प्लेक्स तथा क्यासिनो सञ्चालनमा ल्याइनेछ।
परियोजना २०२९ को मध्यसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। सञ्चालनमा आएपछि होटलको एक रातको बसाइ शुल्क १,००० अमेरिकी डलरभन्दा माथि हुने अपेक्षा गरिएको छ, जसले नेपाललाई उच्चस्तरीय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने विश्वास लिइएको छ।

लगानीकर्तामा उत्साह, सरकारप्रति विश्वास
नयाँ सरकार गठनसँगै निजी क्षेत्रप्रतिको विश्वास बढ्दै गएको सन्दर्भमा यो परियोजनालाई सकारात्मक संकेतका रूपमा हेरिएको छ। लगानीकर्ताहरूले रोजगारी सिर्जना, विदेशी लगानी आकर्षण तथा पर्यटन क्षेत्रको स्तरोन्नतिमा परियोजनाले योगदान पुर्याउने अपेक्षा गरेका छन्।

राहुल चाैधरीका अनुसार, ‘रिट्ज–कार्लटन’ ब्रान्डको नेपाल प्रवेशले देशको पर्यटन क्षेत्रमा विश्वस्तरीय मापदण्ड स्थापना गर्ने लक्ष्यलाई थप बल पुर्याउनेछ। परियोजनालाई युवा उद्यमशीलता, दीर्घकालीन लगानी र आर्थिक विकाससँग जोडेर अघि बढाइएको उल्लेख गरिएको छ।
सीजीको विश्वव्यापी विस्तार
सीजी हस्पिटालिटी ग्लाेबल हाल १२ देशका १३० भन्दा बढी गन्तव्यमा २३० भन्दा बढी होटल तथा रिसोर्ट सञ्चालन गर्दै आएको छ। समूहसँग १५,००० भन्दा बढी कोठा क्षमता रहेको छ, जसले अन्तर्राष्ट्रिय आतिथ्य क्षेत्रमा उल्लेखनीय उपस्थिति जनाइरहेको छ।

त्यसैगरी,चाैधरी ग्रुप नेपालकै सबैभन्दा ठूलो व्यापारिक घराना, प्रमुख करदाता तथा रोजगारी सिर्जनामा अग्रणी संस्थामध्ये एक हो। आर्थिक वर्ष २०८१/८२ मा मात्रै समूहले २५.५९ अर्ब रुपैयाँ राजस्व योगदान गरेको थियो भने पछिल्ला पाँच वर्षमा कुल ९२.२६ अर्ब रुपैयाँ सरकारलाई बुझाइसकेको छ।

















प्रतिक्रिया दिनुहोस्