काठमाडौं। ‘तपाईंहरूको आवाज र दृष्टिकोणले हामीसँग भएको वास्तविक शक्तिको बोध गराएको छ। सोधिएका हरेक प्रश्न, व्यक्त गरिएका विचार र औंल्याइएका चुनौतीहरूले यस संस्थाको भविष्यका लागि गहिरो महत्व राख्छन्।’
गोल्याण ग्रुपका अध्यक्ष तथा प्रवन्ध निर्देशक अक्षय गोल्याणले मंगलबार बिहान सामाजिक सञ्जाल लिंक्डइनमार्फत सार्वजनिक गरेको भिडियो सन्देशको यो अंश यतिबेला व्यावसायिक वृत्तमा चर्चाको विषय बनेको छ।
३७ वर्षीय अक्षयले गत मंसिरमा ग्रुपको नेतृत्व सम्हालेसँगै व्यवस्थापन शैलीमा नयाँ प्रयोग सुरु गरेका छन्। तीमध्ये सबैभन्दा उल्लेखनीय अभ्यास हो ‘वार्ता’।
उनले सार्वजनिक गरेको भिडियोमा कर्पोरेट कार्यालय गोल्याण टावरमा कार्यरत कर्मचारीसँग प्रत्यक्ष अन्तरक्रिया गरिरहेको देखिन्छ। ‘वार्ता’ नाम दिइएको यस पहलमार्फत उनले कर्मचारीका प्रश्न, गुनासा र सुझावहरू खुलेर सुन्ने प्रयास गरेका छन्।
‘तपाईंहरूले प्रमाणित गर्नुभयो कि हाम्रा कर्मचारीहरू यहाँ केवल काम मात्रै गर्दैनन्, गहिरो रूपमा सोच्न र समृद्धिको यात्रामा सहकार्य गर्न पनि सक्षम छन्,’ उनले लेखेका छन्। ‘अब मेरो प्रतिबद्धता, तपाईंहरूले व्यक्त गर्नुभएको विश्वासलाई निर्णय प्रक्रियामार्फत विकासमा रूपान्तरण गर्नु हो।’
नेपालकै ठूलो रोजगारीदाता व्यावसायिक घरानामध्ये एक गोल्याण ग्रुपमा करिब १० हजार कर्मचारी तथा मजदुर कार्यरत छन्। यस्तो विशाल संरचनाभित्र प्रत्यक्ष संवादमार्फत नेतृत्व र कर्मचारीबीचको दूरी घटाउने प्रयासलाई व्यवस्थापन सुधारको संकेतका रूपमा हेरिएको छ।
साढे छ दशकभन्दा लामो विरासत बोकेको यस समूहको नेतृत्व हाल तेस्रो पुस्ताका प्रतिनिधि अक्षयले सम्हालिरहेका छन्। स्वदेशी श्रम, सीप र पुँजीको अधिकतम उपयोग गर्दै ग्रुपलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अग्रस्थानमा पुर्याउने लक्ष्य उनले अघि सारेका छन्
‘वार्ता’ कार्यक्रम पनि यही रणनीतिक सोचको हिस्सा हो। कर्मचारीसँग प्रत्यक्ष संवाद, उनीहरूका समस्या र सुझावको सुनुवाइ तथा त्यसकै आधारमा संस्थागत योजना र रणनीति निर्माण गर्ने यसको मुख्य उद्देश्य रहेको जनाइएको छ।
उत्पादनमूलक उद्योग, नवीकरणीय ऊर्जा, कृषि र आतिथ्य क्षेत्रमा बलियो उपस्थिति रहेको गोल्याण ग्रुपले पछिल्ला वर्षहरूमा विस्तार र विविधीकरणलाई तीव्रता दिएको छ।
स्पेनस्थित विश्वप्रसिद्ध शैक्षिक संस्था एसाडे युनिभर्सिटीबाट बिजनेस स्टडिजमा स्नातकोत्तर गरेका अक्षयले छोटो समयमै ग्रुपलाई नयाँ सोच, प्रविधि र व्यवस्थापन अभ्यासमार्फत रूपान्तरण गर्ने संकेत देखाएका छन्। ‘वार्ता’ जस्ता पहलले संस्थाभित्र सहभागितामूलक नेतृत्व र पारदर्शितालाई बल दिने अपेक्षा गरिएको छ।

















प्रतिक्रिया दिनुहोस्