सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ‘सहकारी ऐन २०७४’ तथा ‘प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिससम्बन्धी मापदण्ड २०८३’ अनुसार इच्छुक नेपाली नागरिकबाट आवेदन मागेको हो ।
मन्त्रालयका अनुसार अध्यक्ष पदका लागि अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, लेखा, कानून वा सहकारी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ । साथै नेपाल सरकारको राजपत्राङ्कित विशिष्ट श्रेणी वा सोसरहको पदमा काम गरेको वा राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरका बैंक, वित्तीय संस्था वा सहकारी क्षेत्रमा कम्तीमा १५ वर्षको अनुभव भएको हुनुपर्नेछ ।
विज्ञ सदस्य पदका लागि पनि सम्बन्धित विषयमा स्नातकोत्तर तहको शैक्षिक योग्यता अनिवार्य गरिएको छ । साथै बैंक, वित्तीय संस्था वा सहकारी क्षेत्रमा कम्तीमा १० वर्षको कार्य अनुभव हुनुपर्ने मापदण्ड तोकिएको छ ।
सूचना अनुसार ६० वर्ष उमेर पूरा नभएका योग्य नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । आवेदनसँगै सहकारी क्षेत्रमा देखिएका समस्या, चुनौती र सुधारका उपाय समेटिएको कार्ययोजना पनि पेश गर्नुपर्नेछ ।
इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको १५ दिनभित्र ललितपुरको पुलचोकस्थित राष्ट्रिय सहकारी नियमन प्राधिकरणको कार्यालयमा दरखास्त बुझाउन सक्ने मन्त्रालयले जनाएको छ ।
सहकारी क्षेत्रमा पछिल्लो समय देखिएका वित्तीय अनियमितता, बचतकर्ताको रकम फिर्ता विवाद तथा समस्याग्रस्त सहकारीको संख्या बढिरहेका बेला सरकारले नियमन प्रभावकारी बनाउन प्राधिकरण गठन प्रक्रिया अघि बढाएको हो ।







कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्