काठमाडौं । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले वर्तमान संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेकी छन् ।
बुधबार आयोजित नेपाल प्रेस युनियनको विधान सभालाई सम्बोधन गर्दै अध्यक्ष शर्माले सरकारका हालैका निर्णयहरूले नेपाली सञ्चार क्षेत्रलाई संकुचित पार्न खोजेको बताइन् । सरकारले विज्ञापन वितरणमा एकाधिकार कायम गर्दै सरकारी सञ्चारमाध्यमलाई मात्रै सूचना दिने गरी गरेको परिपत्र र निर्णयले मिडियामाथि अंकुश लगाउने काम सुरु भएको उनले बताइन् । ‘अहिलेको संविधानले दिएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने हो कि भनेर पत्रकार महासंघ सशंकित छ,’ अध्यक्ष शर्माले भनिन्, ‘वर्तमान सरकारले विज्ञापनमा एकाधिकार कायम गरेर सरकारी माध्यमलाई मात्र सूचना दिने जुन निर्णय गरेको छ, यसले मिडियामाथि अंकुस लगाउने काम वर्तमान सरकारले सुरु गरेको छ।’
अध्यक्ष शर्माले पछिल्लो समय लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथि चौतर्फी दबाब बढ्दै गएको र पत्रकारहरूले असुरक्षित महसुस गरिरहेको बताइन्। ‘लोकतन्त्रका लागि र प्रेस अभिव्यक्ति स्वतन्त्रका लागि सत्ता र संगठित , असंगठित समूहसँग हामीले लड्दै आएको छौँ । तर, विगत २ महिनादेखि हामी असुरक्षित महसुस गर्दैै आएको छौँ,’ अध्यक्ष शर्माले भनिन् ।
विगत दुई महिनादेखिको वातावरणले आफूलाई २०६२/६३ सालको जनआन्दोलनका बेलाको संकटपूर्ण अवस्थाको सम्झना गराएको उनको टिप्पणी छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेपले मलाई ६२/६३ को आन्दोलनको झझल्को दिएको उनले बताइन् । ‘ ६२/६३ को आन्दोलनको झझल्को महिले महसुस गरेको छु । लोकतन्त्रसँग विश्वास गर्ने दलहरूसँग हामीले लड्दा खेरि उहाँहरुले जति सजिलेसँग हाम्रो कुरा सुन्नु हुन्थ्यो, तर, अहिले दुई तिहाइको नबोल्ने वर्तमान सरकार छ। सरकारलाई बोलेर केही हुन्छ जस्तो लाग्दैन् ।’
लोकतन्त्र, प्रेस र अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि पत्रकारहरूले विगतदेखि नै सत्ता र विभिन्न संगठित तथा असंगठित समूहहरूसँग संघर्ष गर्दै आएको स्मरण गराउँदै उनले आगामी दिनमा पनि महासंघ अधिकार रक्षाका लागि लागिपर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

















प्रतिक्रिया दिनुहोस्