रामेछाप। दोलखामा पहिरोमा परी चार महिनाकी एक शिशुको ज्यान गएको छ भने आमा गम्भीर घाइते भएकी छन्।
जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोषकुमार खड्काका अनुसार कालिञ्चोक गाउँपालिका–१ क्याङ्पोल क्षेत्रमा गए राति करिब ९ बजे बाटोमा पहिरो खस्दा चार महिनाकी एलिना थामीको ज्यान गएको हो।
उनकी १९ वर्षीया आमा शर्मिला थामी गम्भीर घाइते भएकी छिन्। प्रहरीका अनुसार शर्मिला आफ्नी चार महिनाकी छोरी एलिनालाई लिएर भीमेश्वर नगरपालिका–१ सुस्पास्थित माइतीबाट बोलेरो गाडीमा घर फर्किंदै थिइन्।
सुनखानी–साङवा सडकखण्डअन्तर्गत क्याङ्पोल–हेलेक्पाथाली क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध भएपछि उनीहरू गाडीबाट ओर्लिएर पैदल यात्रा गर्दै थिए । यात्राकै क्रममा माथिबाट अचानक खसेको पहिरोले आमा–छोरीलाई पुरेको प्रहरीले जनाएको छ।
घटनालगत्तै स्थानीयवासीले आमा–छोरीको उद्धार गरी दोलखास्थित बधुलिखेल अस्पतालको शाखा अस्पताल पु¥याएका थिए । अस्पताल पु¥याइएपछि चिकित्सकले चार महिनाकी शिशु एलिना थामीलाई मृत घोषणा गरेका थिए । पहिरोमा परी गम्भीर घाइते भएकी शर्मिला थामीलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ।
अविरल वर्षासँगै पहाडी जिल्लामा बाढी तथा पहिरोको जोखिम बढिरहेको छ। जोखिमयुक्त सडक र बस्तीमा आवतजावत गर्दा उच्च सतर्कता अपनाउन तथा सम्भावित जोखिमको अवस्थामा सुरक्षित स्थानमा रहन सम्बन्धित निकायले सर्वसाधारणसँग आग्रह गरेको छ ।















प्रतिक्रिया दिनुहोस्