काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराईरमधेस द्रुत मार्ग (फास्ट ट्र्याक) अन्तर्गत आगामी आर्थिक वर्षमा थप संरचना निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाउने भएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषणमा उक्त द्रुत मार्गको निर्माण कार्यलाई थप गति दिने घोषणा गरेका हुन् ।
सरकारले आगामी आर्थिक वर्षभित्र द्रुत मार्ग खण्डमा थप ४० वटा पुलहरू र ५.४ किलोमिटर सडक निर्माण कार्य पूर्ण रूपमा सम्पन्न गर्ने लक्ष्य राखेको छ। यसका साथै फास्ट ट्र्याकलाई मुलुकका अन्य सडक सञ्जालहरूसँग सहज रूपमा जोड्नका लागि आवश्यक लिंक रोड (सम्पर्क सडक) निर्माण कार्यलाई समेत उच्च प्राथमिकताका साथ अघि बढाइने बजेटमा उल्लेख छ।
रणनीतिक महत्व बोकेको यस राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको निर्माण कार्यलाई कुनै पनि बहानामा रोकिन नदिन र अझ प्रभावकारी बनाउन सरकारले आगामी वर्षका लागि १७ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको यो द्रुत मार्ग सम्पन्न भएपछि राजधानी काठमाडौं र तराई क्षेत्रबीचको दूरी निकै घट्नेछ, जसले मुलुकको आर्थिक रूपान्तरण, ढुवानी सहजता र व्यापारिक लागत घटाउन ऐतिहासिक योगदान पुर्याउने अपेक्षा गरिएको छ।
















प्रतिक्रिया दिनुहोस्