काठमाडौं । सरकारले जेनजी समूहसँग भएको सम्झौतालाई अनुमोदन गरेको छ । बिहीबार सिंहदरकारमा बसेको मन्त्रिपरिषद् बैठकले सरकार र जेनजी समूहबीचमा भएको दुई पक्षीय सम्झौताबमोजिम जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय गरेको हो।
गत असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले गत भदौ २३ र २४ गतेको घटनाको लागि जाँचबुझ आयोग गठन गरेको थियो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले भने, ‘ बैठकले जेनजी आन्दोलनका प्रतिनिधि र प्रधानमन्त्री सुशीला कार्कीबीच मंसिर २४ गते भएको सम्झौता अनुमोदन गर्ने निर्णय गरेको छ। ’
भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका सार्वजनिक सम्पति र भौतिक क्षतिको पुनः मूल्याङ्कन तथा पुनःनिर्माण गर्न गठित समितिको प्रतिवेदन प्रधानमन्त्री कार्कीलाई हस्तान्तरण गरिएको थियो । बैठकले न्याय सेवाका सहसचिव पुष्कर सापकोटालाई सचिवमा बढुवा गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन गर्ने निर्णय गरेको छ । यस्तै समाजकल्याण परिषद्को रिक्त सदस्यसचिवमा पनि नियुक्ति गरिएको मन्त्री खरेलले जानकारी दिए ।
यस्तै बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा कार्यरत नेपाल न्याय सेवा कानुन समूह राजपत्रांकित प्रथम श्रेणीका सहसचिव पुष्कर सापकोटालाई निजामती सेवा ऐन, २०४९ को दफा ९ को उपदफा १ बमोजिम नेपाल न्याय सेवाको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा बढुवा नियुक्ति गरी प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको सचिव पदमा पदस्थापन गर्ने निर्णय पनि गरेको छ ।

















प्रतिक्रिया दिनुहोस्