काठमाडौं । नेपाली उड्डयन क्षेत्रलाई सुरक्षित, दिगो, नवप्रवर्तनमुखी तथा भविष्यका चुनौती सामना गर्न सक्षम बनाउने उद्देश्यले वायुसेवा सञ्चालक संघ, नेपाल र एरोनटिकल सोसाइटी अफ नेपालबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
आइतबार आयोजित कार्यक्रममा हस्ताक्षर गरिएको उक्त समझदारीअनुसार दुवै संस्थाले उड्डयन क्षेत्रको समग्र विकास, क्षमता अभिवृद्धि, अनुसन्धान, नवप्रवर्तन तथा ज्ञान आदानप्रदानमा सहकार्य गर्ने भएका छन्। साथै, अन्तर्राष्ट्रिय मापदण्डअनुसार दक्ष जनशक्ति उत्पादन, नेतृत्व विकास, सुरक्षा व्यवस्थापन तथा नवीन प्रविधिको प्रयोग विस्तारमा समेत संयुक्त रूपमा काम गरिनेछ।
सम्झौताअनुसार उड्डयन सञ्चालन, इन्जिनियरिङ, मर्मतसम्भार, सुरक्षा व्यवस्थापन तथा नयाँ प्रविधिसम्बन्धी तालिम सञ्चालन गरिनेछ। विद्यार्थी, युवा पेसाकर्मी तथा भावी नेतृत्व विकासका कार्यक्रम सञ्चालनसँगै अनुसन्धान, नवप्रवर्तन र ‘सेफ्टी कल्चर’ प्रवर्द्धनमा पनि जोड दिइनेछ।
दुवै संस्थाले डिजिटलाइजेसन, डाटा एनालिटिक्स, कृत्रिम बुद्धिमत्ता (एआई) तथा अन्य उदीयमान प्रविधिको प्रयोग विस्तार गर्न सहकार्य गर्ने सहमति गरेका छन्। साथै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा सेमिनार, सम्मेलन, कार्यशाला तथा नीति संवाद कार्यक्रम आयोजना गरिनेछ।
विज्ञप्तिअनुसार यो साझेदारीले वायुसेवा कम्पनी, विमानस्थल, सेवा प्रदायक संस्था, इन्जिनियर, प्राविधिक जनशक्ति, अनुसन्धानकर्ता र विद्यार्थीलाई एउटै साझा मञ्चमा जोड्ने लक्ष्य राखेको छ। यसबाट ज्ञान, अनुभव र विशेषज्ञताको आदानप्रदानलाई प्रोत्साहन गर्दै नेपाली उड्डयन क्षेत्रलाई थप सुरक्षित, प्रतिस्पर्धी र आधुनिक बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
वायुसेवा सञ्चालक संघका अध्यक्ष प्रतापजंग पाण्डेले नेपाली उड्डयन क्षेत्रलाई भविष्यका अवसर र चुनौती सामना गर्न सक्षम बनाउने यस अभियानमा सबै सरोकारवालालाई सहभागी हुन आह्वान गरेका छन्।

















प्रतिक्रिया दिनुहोस्