झापा । कामना सेवा विकास बैंक लिमिटेडले झापाको बिर्तामोडस्थित श्री दुर्गा माध्यमिक विद्यालयलाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण गरेको छ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैंकको शाखा कार्यालय बिर्तामोडमार्फत बिर्तामोड नगरपालिका–९ मा रहेको विद्यालयलाई उक्त सामग्री मंगलबार प्रदान गरिएको हो। बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले विद्यालयका प्रधानाध्यापक लक्ष्मण सापकोटालाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण गरेका थिए।
विद्यालयको दृष्टिविहीन छात्रावासका लागि आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले बैंकले सहयोग गरेको जनाएको छ। बैंकका अनुसार कुलरले गर्मी मौसममा छात्रावासभित्रको तापक्रम सहज बनाई विद्यार्थीलाई आरामदायी वातावरणमा बस्न तथा अध्ययन गर्न सहयोग पुग्नेछ। साथै, ब्रेल पेपर दृष्टिविहीन विद्यार्थीहरूको पठनपाठनका लागि अत्यावश्यक शैक्षिक सामग्री भएकाले यसले सिकाइ प्रक्रियालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रममा प्रधानाध्यापक सापकोटाले बैंकबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै यसले दृष्टिविहीन विद्यार्थीहरूको अध्ययन र छात्रावास व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे।
बैंकका कोशी प्रदेश प्रमुख भुसालले शिक्षा क्षेत्रको विकास तथा समुदायको आवश्यकता सम्बोधन गर्ने उद्देश्यले बैंकले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको बताए। उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।















प्रतिक्रिया दिनुहोस्