चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट २३ वर्षीया आकाङ्क्षा पोखरेल बागमती प्रदेशको भूगोलतर्फबाट ८८० मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्।
चितवनको भरतपुर निवासी पोखरेल यसअघि रास्वपाको भरतपुर महानगर सदस्य र महानगर कोषाध्यक्षको जिम्मेवारी सम्हालिसकेकी छन्। पार्टी स्थापनाकालदेखि नै सक्रिय रहेकी उनी हाल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको सचिवालयमा कार्यरत छिन्।
पोखरेलले चितवनमा करिब दुई वर्ष पत्रकारितासमेत गरेकी थिइन्। निर्वाचनपछि प्रतिक्रिया दिँदै उनले आफू नेपालका प्रमुख राजनीतिक दलमध्ये सम्भवतः सबैभन्दा कम उमेरमा केन्द्रीय सदस्य निर्वाचित भएको दाबी गरिन्।
उनले ‘जेनजी’ पुस्ताको अपेक्षाअनुसार पार्टीलाई अघि बढाउन सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै आफ्नो जिम्मेवारी थपिएको बताइन्। साथै महाधिवेशन प्रतिनिधि, पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकप्रति विश्वास र समर्थनका लागि धन्यवाद व्यक्त गरिन्।















प्रतिक्रिया दिनुहोस्