काठमाडौं । डोल्पामा निर्माणाधीन जगदुल्ला जलविद्युत् परियोजनाले विद्युत् उत्पादनसँगै कर्णाली प्रदेशको आर्थिक, सामाजिक तथा पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत अघि बढाइएको यो परियोजना सरकारी स्वामित्व, स्थानीय सहभागिता र स्वदेशी वित्तीय स्रोतको संयोजनमा निर्माण भइरहेको नमूना आयोजना हो।
जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाका अनुसार कम्पनीले डोल्पाको जगदुल्ला र मुड्केचुला गाउँपालिका क्षेत्रमा १०६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत् आयोजना र १२४.३५ मेगावाट क्षमताको जगदुल्ला–ए आयोजना निर्माण गरिरहेको छ। दुवै आयोजनाबाट कुल २३०.३५ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ।
उनका अनुसार परियोजनाले विद्युत् उत्पादनसँगै डोल्पामा सडक, पुल तथा पहुँच मार्ग निर्माणमार्फत पूर्वाधार विकासमा उल्लेखनीय योगदान दिएको छ। कम्पनीले आफ्नै लगानीमा भेरी नदीमाथि १०० मिटर लामो पक्की पुल, त्रिवेणी–मुड्केचुला–जगदुल्ला सडकखण्डको कठिन भिरमा ट्र्याक खोल्ने तथा पहुँच मार्गमा १० वटा बेली ब्रिज निर्माण गरिसकेको छ।
सापकोटाले यी संरचनाले आयोजना मात्र नभई स्थानीय बासिन्दालाई पनि प्रत्यक्ष लाभ पुगेको बताए। उनका अनुसार विगतमा घण्टौँ पैदल यात्रा गर्नुपर्ने अवस्था हटेर यातायात सहज बनेको छ। नेपालगञ्जबाट डोल्पा पुग्न तीन दिनभन्दा बढी लाग्ने अवस्था अन्त्य भई अहिले एकै दिनमा यात्रा सम्भव भएको छ। साथै, डोल्पाको सदरमुकाम दुनैबाट काठमाडौंसम्म रात्रिबस सञ्चालन हुने वातावरणसमेत बनेको उनले जानकारी दिए।
परियोजनाका कारण रारा, शे–फोक्सुण्डो, जगदुल्ला ताल, उपल्लो डोल्पा, जुम्ला र मुगुसम्म पुग्ने वैकल्पिक तथा छोटो सडकमार्ग विकास हुन थालेकाले कर्णाली प्रदेशको पर्यटन क्षेत्रलाई समेत दीर्घकालीन लाभ पुग्ने अपेक्षा गरिएको छ।
आर्थिक रूपमा पनि आयोजना महत्वपूर्ण मानिएको छ। आयोजना सञ्चालनमा आएपछि संघीय सरकारले वार्षिक करिब १९ करोड ५० लाख रुपैयाँ, कर्णाली प्रदेश सरकारले ९ करोड ५० लाख रुपैयाँ र स्थानीय तहहरूले पनि करिब ९ करोड ५० लाख रुपैयाँ रोयल्टी प्राप्त गर्ने अनुमान गरिएको छ।
कम्पनीका अनुसार १०६ मेगावाट क्षमताको मुख्य आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन, जग्गा अधिग्रहण, विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए), वित्तीय व्यवस्थापन, उत्पादन अनुमतिपत्र तथा उद्योग दर्तालगायतका तयारी पूरा भइसकेका छन्। निर्माण कम्पनीसँग २०८२ साउन २६ गते सम्झौता भएपछि आयोजनाको भौतिक निर्माण सुरु भएको हो।
यस्तै, १२४.३५ मेगावाट क्षमताको जगदुल्ला–ए आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन सम्पन्न भइसकेको छ भने वातावरणीय अध्ययन, जग्गा अधिग्रहण, पीपीए, वित्तीय व्यवस्थापन र अनुमतिपत्रसम्बन्धी प्रक्रिया अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ।
नेपाल विद्युत् प्राधिकरणको परामर्शदाता एनईए इन्जिनियरिङ कम्पनीमार्फत नेपाली इन्जिनियरहरूले डिजाइन तथा लागत अनुमान तयार गरेको यो आयोजना सरकारी निकायहरूको बहुमत स्वामित्वमा निर्माण हुन लागेको पहिलो जलविद्युत् परियोजनामध्ये एक हो।
परियोजनामा सरकारी निकाय, कर्णाली प्रदेश सरकार तथा स्थानीय तहको संयुक्त ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर स्वामित्व रहने व्यवस्था गरिएको छ। स्थानीय बासिन्दाका लागि १० प्रतिशत शेयर सुरक्षित गरिएको छ भने प्रसारण लाइनको ‘राइट अफ वे’ भित्र पर्ने जग्गाधनीलाई थप ३ प्रतिशत शेयर उपलब्ध गराउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
आयोजनाको करिब १६ अर्ब ६६ करोड रुपैयाँ ऋण लगानी नबिल बैंक, कर्मचारी सञ्चय कोष, एचआईडीसीएल, लक्ष्मी सनराइज बैंक, एभरेस्ट बैंक र एनआईसी एशिया बैंकसहितका स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट जुटाइएको छ।















प्रतिक्रिया दिनुहोस्