गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर नियन्त्रणका लागि थापिएको विद्युतीय पासोमा परेर ६० वर्षीया एक महिलाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार मृत्यु हुनेमा धुर्कोट–५ निवासी हुमकला भण्डारी रहेकी छन्। गए राति करिब १ः३० बजे करेन्ट लागेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि गुल्मी अस्पताल, तम्घास लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीमकिरण बोगटीका अनुसार मृतकका श्रीमान् भेषराज भण्डारीले आफ्नै घरदेखि करिब १५० मिटर टाढाको बारीमा बँदेलजस्ता जङ्गली जनावर नियन्त्रण गर्ने उद्देश्यले बिजुलीको पोलबाट करेन्ट प्रवाह गरी विद्युतीय पासो बनाएका थिए।
उक्त करेन्टमा परेपछि हुमकला भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि प्रहरीले भेषराज भण्डारीलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धानका लागि प्रहरी टोली बिहानैदेखि घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।















प्रतिक्रिया दिनुहोस्