काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको पुनर्जागरणका लागि सबै कर्मचारी र सरोकारवाला इमान्दार, जिम्मेवार र नैतिक भएर काम गर्नुपर्ने बताएका छन्।
नेपाल वायुसेवा निगमको ६८औँ वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित कार्यक्रममा मन्त्री पौडेलले निगमको विकासमा समर्पित कर्मचारीको वृत्तिविकासमा मन्त्रालयले विशेष ध्यान दिने र अनियमिततामा संलग्न जोकोहीलाई कानुनअनुसार कारबाही गरिने स्पष्ट पारेका हुन्। उनले निगमको प्रगति र सुधारका लागि मन्त्रालयको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै सम्पूर्ण कर्मचारीलाई जिम्मेवारीपूर्वक र कुशलतापूर्वक काम गर्न निर्देशन दिएका छन्।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले विगतका कमजोरीबाट पाठ सिक्दै स्पष्ट दृष्टिकोणका साथ निगमलाई अघि बढाउनुपर्नेमा जोड दिए। उनले राष्ट्रिय ध्वजावाहकलाई बलियो बनाउन सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताए।
निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले विभिन्न चुनौतीका बाबजुद पछिल्लो समय यात्रु सङ्ख्या र आम्दानीमा वृद्धि हुनु निगमका लागि सकारात्मक संकेत भएको बताए। सोही अवसरमा मन्त्री पौडेलले निगमको वार्षिक विशेषाङ्क ‘आकाश भैरव’ को लोकार्पण गरेका थिए। वार्षिकोत्सवका अवसरमा निगमले केन्द्रीय कार्यालयदेखि न्यूरोडस्थित जुद्ध शालिक हुँदै पुनः कार्यालयसम्म प्रभातफेरी कार्यक्रम पनि आयोजना गरेको थियो।















प्रतिक्रिया दिनुहोस्