सर्लाही। मिटरब्याज पीडितहरूले न्यायको माग गर्दै जनकपुरधामबाट सुरु गरेको पैदल यात्रा चौथो दिन सर्लाहीको हरिवन आइपुगेको छ। देशका ४५ जिल्लाका चार सयभन्दा बढी पीडित सहभागी रहेको उक्त ‘न्याय मार्च’ साउनको दोस्रो सातासम्म काठमाडौं पुग्ने लक्ष्यसहित अघि बढिरहेको छ।
आन्दोलनकारीहरूले मिटरब्याजसम्बन्धी विद्यमान तमसुक व्यवस्था खारेज गर्न, पीडित संरक्षणका लागि विशेष कानुन निर्माण गर्न, अनुचित रूपमा गुमेको चल तथा अचल सम्पत्ति फिर्ता गराउन तथा पीडितलाई न्याय सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।
आन्दोलनमा सहभागीहरूले प्रधानमन्त्री वालेन्द्र साहले जनकपुरधामबाटै मिटरब्याज पीडितको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे पनि पद सम्हालेको सय दिन बितिसक्दा समेत आफ्ना माग सम्बोधनका लागि कुनै ठोस पहल नभएको गुनासो गरेका छन्।
पीडितहरूले चार दिनअघि जनकपुरधामको तिरहुतियागाछीबाट फर्जी तमसुक जलाएर न्याय मार्चको सुरुवात गरेका थिए। हिजो महोत्तरीको बर्दिबासस्थित पञ्चधुरी माइथानबाट यात्रा सुरु गरेका उनीहरूले करिब २६ किलोमिटर दूरी पार गर्दै सर्लाहीको लालबन्दीमा विश्राम गरेका थिए। आज बिहान ७ बजेदेखि पुनः यात्रा सुरु गरी हरिवन पुगेका हुन्।
लगातार चार दिनदेखि पैदल यात्रा गरिरहेकाले अधिकांश सहभागीका खुट्टामा पानीका फोका र ठेला उठ्न थालेका छन्। शारीरिक असहजता भए पनि आन्दोलनलाई निरन्तरता दिने उनीहरूको अडान रहेको जनाइएको छ। हरिवन क्षेत्रमा केहीबेर विश्राम गरेपछि आन्दोलनकारीहरूले पुनः काठमाडौंतर्फको यात्रा अघि बढाएका छन्।
न्याय मार्चप्रति सर्लाहीको हरिवन नगरपालिकाले पनि ऐक्यबद्धता जनाएको छ। नगरप्रमुख रमेश बुढाथोकीले केही समय आन्दोलनकारीसँगै पैदल हिँड्दै समर्थन जनाएका थिए भने उनीहरूसँगै नाराबाजीसमेत गरेका थिए।
आन्दोलनकारीहरूले काठमाडौं पुगेर सरकारसमक्ष आफ्ना माग औपचारिक रूपमा प्रस्तुत गर्ने तयारी गरेका छन्।















प्रतिक्रिया दिनुहोस्