काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र स्थापना गर्ने योजना तत्काल अघि बढाउन निर्देशन दिएका छन्। उनले प्रमुख सरकारी अस्पतालका बर्न वार्ड सुदृढीकरणका लागि आवश्यक योजना तयार गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग भएको छलफलमा उनले गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न सङ्घ, प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए।
प्रधानमन्त्री शाहले गुणस्तरीय, प्रभावकारी तथा नागरिकमैत्री स्वास्थ्य सेवा सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै अस्पतालमा सरसफाइ, सेवा प्रवाहमा सुधार, डिजिटल प्रविधिको प्रयोग तथा सुशासनको प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिन निर्देशन दिए।
उनले विपन्न, असहाय तथा आर्थिक रूपमा कमजोर नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न निजी अस्पतालले बहिरङ्ग सेवा (ओपिडी) को कम्तीमा १० प्रतिशत सेवा सहुलियतपूर्ण रूपमा उपलब्ध गराउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न पनि जोड दिए।
छलफलका क्रममा प्रधानमन्त्री शाहले एक स्वास्थ्य संस्थाले विकास गरेका उत्कृष्ट अभ्यासलाई अन्य संस्थाले पनि सिकाइ र साझेदारीको माध्यम बनाउन सुझाव दिए। प्रतिष्ठानका नाममा रहेको जग्गा अतिक्रमणको समस्या सम्बन्धित निकायसँग समन्वय गरी कानुनबमोजिम समाधानका लागि पहल गरिने पनि उनले बताए।
उपकुलपतिहरूले चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धि, स्वास्थ्य सेवा प्रवाहमा सुधार, अस्पतालको सरसफाइ, विशेषज्ञ स्वास्थ्य सेवा विस्तार, दक्ष स्वास्थ्य जनशक्ति व्यवस्थापन, अनुसन्धान प्रवर्द्धन तथा पूर्वाधार विकाससम्बन्धी सुझाव प्रस्तुत गरेका थिए। उनीहरूले स्वास्थ्य सेवामा डिजिटल रूपान्तरण, अस्पताल सूचना व्यवस्थापन प्रणालीको प्रभावकारी कार्यान्वयन तथा केही प्रतिष्ठानका नाममा रहेको जग्गा अतिक्रमणले संस्थागत विकासमा पारेको प्रभावबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।
छलफलमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा नवीसमान सिंह प्रधान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा अजयकुमार मिश्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा नारायणसिंह गुरुङ, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा स्मृति काफ्ले तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति विवेक आचार्य सहभागी थिए।















प्रतिक्रिया दिनुहोस्