Advertisement
Advertisement
Corporate Samachar
२९ असार २०८३, सोमबार
Advertisement

‘होटलहरु बीचको अस्वस्थ्य प्रतिस्पर्धाले पर्यटकले खर्च गर्नुपर्ने रकम खर्च गरेका छैनन् ’

‘होटलहरु बीचको अस्वस्थ्य प्रतिस्पर्धाले पर्यटकले खर्च गर्नुपर्ने रकम खर्च गरेका छैनन् ’
विज्ञापन
Advertisement

काठमाडौं।काठमाडौंको होटल मध्ये एक आकर्षक र पूरानो होटलको रुपमा लिइन्छ एल्लोप्यागोडा होटल । पछिल्लो समय होटलको अवस्था, पर्यटनको बर्तमान अवस्था, होटलमा गर्दै गरेका लगानी लगायत विषयमा केन्द्रित रहेर संचालक अनिलराज भण्डारीसँग गरिएको कुराकानीको सम्पादित अंशः

विज्ञापन
Advertisement
Advertisement

पछिल्लो समय नेपालमा होटल क्षेत्रमा लगानी उल्लेख्य रूपमा बढिरहेको छ। अहिलेको होटल उद्योगको समग्र अवस्था कस्तो छ?

मेरो बुझाइमा नेपालको अर्थतन्त्रलाई प्रत्यक्ष रूपमा टेवा दिने प्रमुख क्षेत्रमध्ये होटल तथा पर्यटन उद्योग अग्रस्थानमा छ। नेपालको पर्यटन इतिहास निकै पुरानो भए पनि बीचका वर्षहरूमा आवश्यक प्रचार–प्रसार र दीर्घकालीन रणनीतिको अभावले अपेक्षित गति लिन सकेन। तर पछिल्लो करिब एक दशकयता पर्यटन क्षेत्रमा सकारात्मक परिवर्तन देखिएको छ।

अन्तर्राष्ट्रिय ब्रान्डका होटलहरू नेपालमा प्रवेश गरिरहेका छन्, नयाँ लगानी बढिरहेको छ र पर्यटन पूर्वाधार विस्तार हुँदै गएको छ। म आफैं पनि बाल्यकालदेखि नै होटल व्यवसायसँग जोडिएको व्यक्ति हुँ। हाम्रो परिवारले झोसेंस्थित लगनटोलबाट होटल व्यवसाय सुरु गरेको हो। त्यसबेला १०–२० अमेरिकी डलरमा कोठा बिक्री हुन्थ्यो। अहिले सयौं गुणा सुविधा थपिएका छन्, सेवा स्तरमा व्यापक सुधार आएको छ, तर त्यसअनुसार कोठाको मूल्य बढाउन सकिएको छैन।

नेपालमा विशेषगरी थ्री–स्टार र फोर–स्टार स्तरका होटलहरूमा अत्यधिक प्रतिस्पर्धा छ। फाइभ–स्टार होटलको मूल्य एउटा स्तरमा छ भने मध्यमस्तरका होटलहरू अत्यन्तै कम दरमा सेवा दिन बाध्य छन्। अहिले हाम्रो जस्तो होटलले ३०–३५ डलरमा कोठा बिक्री गर्नुपरेको अवस्था छ। यसको मुख्य कारण होटलहरूको अत्यधिक संख्या र अस्वस्थ प्रतिस्पर्धा हो।

पर्यटनको विकासका लागि सरकारले प्रयास गरिरहेको छ। तर अझै पनि स्पष्ट दीर्घकालीन योजना आवश्यक छ। यदि सरकारले पाँच–दश वर्षअगाडिदेखि नै स्पष्ट पर्यटन रणनीति सार्वजनिक गर्ने हो भने निजी क्षेत्रले पनि त्यसअनुसार लगानी योजना बनाउन सक्छ। नेपालमा पर्वतारोहण, धार्मिक पर्यटन, प्रकृतिमा आधारित पर्यटनजस्ता सम्भावना प्रशस्त छन्। तर पर्यटकले ल्याएको बजेटको ठूलो हिस्सा खर्च हुन नपाई फर्किने अवस्था पनि छ। त्यसैले पर्यटनको गुणस्तर, बसाइ अवधि र खर्च गर्ने वातावरण बढाउन आवश्यक छ।

होटल क्षेत्रमा लगानी निरन्तर बढिरहेको छ। तर पर्यटक आगमन भने लगानीको अनुपातमा बढ्न नसकेको गुनासो व्यवसायीहरूबाट सुनिन्छ।

आगामी दिनमा होटल उद्योगको भविष्यलाई तपाईंले कसरी हेर्नुभएको छ?
नेपालमा होटल क्षेत्रमा पछिल्लो समय उल्लेख्य लगानी भइरहेको छ। नयाँ–नयाँ होटल सञ्चालनमा आएका छन्, सेवा र पूर्वाधारमा सुधार भएको छ। तर लगानी बढेको अनुपातमा पर्यटक आगमन र उनीहरूको खर्च बढ्न सकेको छैन। त्यसैले उद्योगले अपेक्षित प्रतिफल पाउन कठिन भइरहेको छ।
नेपालमा पर्यटन प्रवद्र्धनको सबैभन्दा ठूलो चुनौती अन्तर्राष्ट्रिय पहुँच अर्थात् हवाई यात्राको लागत हो। नेपाल आउने हवाई भाडा अन्य प्रतिस्पर्धी पर्यटन गन्तव्यहरूको तुलनामा निकै महँगो छ।

उदाहरणका लागि, भियतनामले भारतीय पर्यटकलाई लक्षित गरी निकै आकर्षक र सस्तो पर्यटन प्याकेज ल्यायो, जसको सकारात्मक परिणामस्वरूप ठूलो संख्यामा पर्यटक त्यहाँ पुगे। नेपालले पनि यस्ता प्रतिस्पर्धात्मक योजना ल्याउन आवश्यक छ। आज भारतबाट काठमाडौं आउने हवाई भाडा नै धेरैका लागि महँगो पर्छ। यसले नेपाल भ्रमण गर्न चाहने धेरै पर्यटकलाई निरुत्साहित बनाइरहेको छ। त्यसैले सरकारले विशेषगरी राष्ट्रिय ध्वजावाहक विमानमार्फत पर्यटन प्रवद्र्धनलाई लक्षित गर्दै प्रतिस्पर्धी हवाई भाडा निर्धारण गर्ने नीति ल्याउनुपर्छ। यसले नेपाललाई सहज र किफायती गन्तव्यका रूपमा स्थापित गर्न मद्दत पुग्नेछ।

पर्यटकको संख्या बढेपछि मात्र होटल उद्योगमा भएको ठूलो लगानीको उचित प्रतिफल प्राप्त हुन्छ। त्यसैले निजी क्षेत्रको लगानीसँगै सरकारले पनि अन्तर्राष्ट्रिय बजारमा नेपाललाई आकर्षक गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने प्रभावकारी रणनीति अवलम्बन गर्नुपर्ने आवश्यकता देखिन्छ।

होटल क्षेत्रमा ठूलो लगानी भइरहेको छ। तर लगानीको प्रतिफल भने अपेक्षाअनुसार आउन नसक्ने चिन्ता पनि व्यवसायीहरूमा देखिन्छ। तपाईंको अनुभवमा अहिलेको अवस्था कस्तो छ ?
होटल व्यवसायमा लगानी गर्नु भनेको दीर्घकालीन सोचसहित अघि बढ्नु हो। अहिले नेपालमा होटलहरूको संख्या तीव्र रूपमा बढिरहेको छ, तर त्यसअनुसार पर्यटक आगमन र उनीहरूको बसाइ अवधि बढ्न सकेको छैन। यही कारण अधिकांश होटलले लगानीअनुसारको प्रतिफल प्राप्त गर्न सकेका छैनन्।

विशेषगरी स्वदेशी होटल व्यवसायीका लागि लगानी फिर्ता गर्न समय लागिरहेको छ। ठूलो पूँजी लगानी गरेर आधुनिक पूर्वाधार निर्माण गरिए पनि कोठा दर अपेक्षाभन्दा कम राख्नुपर्ने बाध्यता छ। यसले आम्दानी र नाफामा प्रत्यक्ष असर पारिरहेको छ।

अन्तर्राष्ट्रिय चेन होटलहरूको अवस्था केही फरक हुन सक्छ। उनीहरूसँग विश्वव्यापी ब्रान्ड, स्थापित बजार र अन्तर्राष्ट्रिय बुकिङ नेटवर्क भएकाले व्यवसाय सञ्चालनमा केही सहजता हुन्छ। तर त्यहाँ पनि व्यवस्थापन शुल्क, ब्रान्ड शुल्कलगायतका शीर्षकमा आम्दानीको निश्चित हिस्सा बाहिरिने भएकाले वास्तविक प्रतिफलको आफ्नै चुनौती हुन्छ।

यद्यपि अहिलेको अवस्था पूर्ण रूपमा निराशाजनक भने छैन। उद्योग टिकाउ रूपमा सञ्चालन भइरहेको छ। यदि देशमा राजनीतिक स्थायित्व कायम रह्यो, आन्दोलन तथा अन्य अवरोधहरू भएनन् र सरकारले पर्यटन प्रवद्र्धनलाई प्रभावकारी रूपमा अघि बढायो भने आगामी वर्षहरूमा पर्यटक आगमन बढ्ने र होटल उद्योगले पनि लगानीअनुसारको प्रतिफल प्राप्त गर्नेमा हामी आशावादी छौं।
नेपालमा पर्यटनको सम्भावना धेरै भए पनि अपेक्षित संख्यामा विदेशी पर्यटक भि¥याउन सकिएको छैन।

तपाईंको विचारमा पर्यटन प्रवद्र्धनका लागि सरकार र निजी क्षेत्रले के–कस्ता कदम चाल्नुपर्ला ?
नेपालमा पर्यटनको सम्भावना अत्यन्तै ठूलो छ। प्राकृतिक सौन्दर्य, हिमाल, धार्मिक तथा सांस्कृतिक सम्पदा, साहसिक पर्यटन र जैविक विविधताजस्ता धेरै आकर्षण हुँदाहुँदै पनि हामीले त्यसलाई अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी रूपमा प्रस्तुत गर्न सकेका छैनौं।

पर्यटन विकासका लागि सरकारले दीर्घकालीन र नवीन सोचका साथ काम गर्नुपर्छ। पर्यटकले प्रत्येक पटक नेपाल आउँदा केही नयाँ अनुभव गर्ने वातावरण बनाउनुपर्छ। नयाँ पर्यटन गन्तव्यको विकास, पूर्वाधार विस्तार, सेवा गुणस्तर सुधार तथा अन्तर्राष्ट्रिय स्तरको प्रवद्र्धनमा विशेष जोड दिन आवश्यक छ। संसारका धेरै देशहरूले हरेक वर्ष पर्यटन क्षेत्रमा नयाँ आकर्षण थपिरहेका हुन्छन्। नेपालले पनि समयअनुकूल परिवर्तन र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्छ।

हामीकहाँ भारत र चीनबाट सबैभन्दा धेरै पर्यटक आउने सम्भावना छ। त्यसैले यी दुई ठूला बजारलाई लक्षित गरेर विशेष पर्यटन प्याकेज, सहज हवाई तथा स्थल यातायात, प्रभावकारी प्रचार–प्रसार र संयुक्त प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्नुपर्छ। सरकारी निकाय र निजी क्षेत्रबीच बलियो सहकार्य भए मात्र नेपाललाई प्रतिस्पर्धी अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न सकिन्छ।

पर्यटनलाई केवल होटल वा ट्राभल व्यवसायको विषयका रूपमा होइन, राष्ट्रिय अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको उद्योगका रूपमा हेरेर त्यसअनुसार नीति, लगानी र योजनाहरू कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ।

नेपालमा सबैभन्दा धेरै पर्यटक भारत र चीनबाट आउने गरेका छन्। तपाईंको अनुभवमा यी पर्यटकको रुचि कस्तो छ ?

नेपाल आउने भारतीय र चिनियाँ पर्यटकको रुचि केही फरक–फरक देखिन्छ। चिनियाँ पर्यटकहरू काठमाडौं उपत्यका, विशेषगरी ठमेल क्षेत्र तथा सांस्कृतिक सम्पदामा बढी आकर्षित हुन्छन्। भारतीय पर्यटकहरूको मुख्य गन्तव्य भने धार्मिक स्थलहरू हुन्। पशुपतिनाथ, जनकपुर, मुक्तिनाथ, मनकामना लगायतका धार्मिक क्षेत्र उनीहरूको पहिलो रोजाइमा पर्छन्।

पछिल्लो समय भारतमा बढ्दो गर्मी, धार्मिक पर्यटनप्रतिको आकर्षण तथा केही नीतिगत कारणले पनि भारतीय पर्यटकको संख्या बढेको देखिन्छ। यो नेपालका लागि सकारात्मक अवसर हो, जसलाई अझ प्रभावकारी रूपमा उपयोग गर्न सकिन्छ।

तर स्थलमार्गबाट नेपाल आउने पर्यटकहरूले केही व्यावहारिक समस्या पनि उठाउने गरेका छन्। विशेषगरी नेपाल प्रवेश गरेपछि विभिन्न स्थानमा हुने अनावश्यक जाँच, प्रक्रियागत झन्झट तथा यात्राका क्रममा हुने असहज व्यवहारका कारण उनीहरू असन्तुष्ट हुने गरेका छन्। पर्यटनमै निर्भर मुलुकका रूपमा हामीले पर्यटकलाई सहज, सुरक्षित र मैत्रीपूर्ण वातावरण उपलब्ध गराउनुपर्छ।

सीमाबाट नेपाल प्रवेश गरेपछि उनीहरूले बिना झन्झट आफ्नो गन्तव्यसम्म पुग्न सक्ने व्यवस्था मिलाउन सके पर्यटकको अनुभव अझ राम्रो हुनेछ। सन्तुष्ट पर्यटक नै नेपालको सबैभन्दा प्रभावकारी प्रचारक हुने भएकाले पर्यटनमैत्री नीति र व्यवहारलाई अझ मजबुत बनाउन आवश्यक छ।

एल्लोप्यागोडा होटलको विस्तार योजनाबारे बताइदिनुहोस्। आगामी दिनमा नयाँ लगानी वा नयाँ शाखा विस्तारको योजना छ ?
अहिले तत्काल नयाँ लगानीको योजना बनिसकेको छैन। हामीले काठमाडौंपछि चितवनमा सुरुवात गरेका छौं, त्यो छिट्टै नै आउँदै छ। हाम्रो अहिलेको उदेश्य भनेको एल्लोप्यागोडालाई फाइभ–स्टार स्तरमा स्तरोन्नति गर्ने दीर्घकालीन लक्ष्यमा लैजाने भन्नेमा केन्द्रित छौं ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit