काठमाडौं। बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १५ जनालाई काठमाडौं जिल्ला अदालतले कैद र जरिवानाको सजाय निर्धारण गरेको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार सजाय निर्धारण गर्दै रायमाझीलाई पाँच वर्ष र खाँणलाई दुई वर्ष कैद सजाय सुनाएको हो।
अदालतले पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई छ वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना, टोपबहादुर रायमाझीलाई पाँच वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तथा पूर्वमन्त्री बालकृष्ण खाँणलाई दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना तोकेको छ। यस्तै, पूर्वशरणार्थी नेता टेकनाथ रिजाललाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना सुनाइएको छ।
प्रकरणका मुख्य अभियुक्त मानिएका केशव दुलाल र सानु भण्डारीलाई सात–सात वर्ष कैद र ७०–७० हजार रुपैयाँ जरिवाना गरिएको छ। इन्द्रजित राईलाई छ वर्ष कैद तथा आङटावा शेर्पा, सन्देश शर्मा, गोविन्द चौधरी र सागर राईलाई जनही पाँच वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोकिएको अदालत स्रोतले जनाएको छ।
त्यसैगरी शम्शेर मियाँ, नरेन्द्र केसी, हरिभक्त महर्जन, निरञ्जनकुमार खरेल र बेचन झालाई एक–एक वर्ष कैद र १०–१० हजार रुपैयाँ जरिवाना तोकिएको छ।
यो प्रकरणमा जिल्ला अदालत काठमाडौंले यसअघि असार २३ गते रायमाझी, खाँण, पाण्डेसहित १६ जनालाई विभिन्न कसुरमा दोषी ठहर गरेको थियो। तीन वर्षभन्दा बढी कैद सजाय हुन सक्ने अभियुक्तको हकमा छुट्टै सुनुवाइ आवश्यक पर्ने कानुनी व्यवस्थाअनुसार सजाय निर्धारणका लागि पुनः पेसी तोकिएको थियो।
नक्कली भुटानी शरणार्थी प्रकरण २०७९ सालमा सार्वजनिक भएको थियो। नेपाली नागरिकलाई भुटानी शरणार्थीका रूपमा देखाएर अमेरिका पठाइदिने प्रलोभनमा करोडौं रुपैयाँ असुलिएको आरोपमा उच्च राजनीतिक तथा प्रशासनिक तहका व्यक्तिसमेत अनुसन्धानको दायरामा आएका थिए। अनुसन्धानका क्रममा सरकारी कागजात दुरुपयोग, संगठित अपराध, ठगी र राज्य संयन्त्रको दुरुपयोग भएको निष्कर्षसहित मुद्दा दायर गरिएको थियो।
जिल्ला अदालतको फैसला अन्तिम नभएकाले दोषी ठहर भएका पक्षले उच्च अदालतमा पुनरावेदन गर्न सक्ने कानुनी व्यवस्था रहेको छ।
सजाय पाउनेहरूको सूचीः
केशव दुलाल – ७ वर्ष कैद, ७० हजार जरिवाना
सानु भण्डारी – ७ वर्ष कैद, ७० हजार जरिवाना
टेकनारायण पाण्डे – ६ वर्ष कैद, ६० हजार जरिवाना
इन्द्रजित राई – ६ वर्ष कैद, ६० हजार जरिवाना
टोपबहादुर रायमाझी – ५ वर्ष कैद, ५० हजार जरिवाना
आङटावा शेर्पा – ५ वर्ष कैद, ५० हजार जरिवाना
सन्देश शर्मा – ५ वर्ष कैद, ५० हजार जरिवाना
गोविन्द चौधरी – ५ वर्ष कैद, ५० हजार जरिवाना
सागर राई – ५ वर्ष कैद, ५० हजार जरिवाना
बालकृष्ण खाँण – २ वर्ष कैद, २० हजार जरिवाना
टेकनाथ रिजालसहित पाँच जना – १ वर्ष कैद, १० हजार जरिवाना।















प्रतिक्रिया दिनुहोस्