काठमाडौं। नेपालले आर्थिक वर्ष २०८२/८३ मा भारत तथा बंगलादेशतर्फ विद्युत् निर्यातबाट २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गर्दै ऊर्जा व्यापारमा नयाँ कीर्तिमान कायम गरेको छ। यो आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा ६७.९६ प्रतिशतले बढी हो।
नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको आव २०८१/८२ र २०८२/८३ को क्रस–बोर्डर विद्युत् आयात–निर्यात सम्बन्धी तथ्यांकअनुसार नेपालले विद्युत् निर्यात उल्लेख्य रूपमा बढाउँदा आयातमा निर्भरता घटेको छ। यसले देशको ऊर्जा व्यापार पहिलोपटक उच्च व्यापार बचततर्फ उन्मुख भएको देखाएको छ।
तथ्यांकअनुसार आव २०८२/८३ मा नेपालले ३ अर्ब ८७ करोड ७४ लाख ९२ हजार युनिट विद्युत् निर्यात गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको २ अर्ब ३८ करोड २९ लाख युनिटको तुलनामा ६२.८९ प्रतिशत बढी हो। भारतीय खुला बजार तथा बंगलादेशसँगको त्रिपक्षीय विद्युत् व्यापारमार्फत औसत प्रति युनिट ७ रुपैयाँ ५६ पैसाको दरमा विद्युत् बिक्री हुँदा कुल २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी भएको प्राधिकरणले जनाएको छ।
यस्तै, विद्युत् आयात पनि उल्लेख्य रूपमा घटेको छ। आव २०८१/८२ मा १ अर्ब ६८ करोड ४ लाख युनिट विद्युत् आयात गर्दा १२ अर्ब ९२ करोड ३० लाख रुपैयाँ खर्च भएको थियो। तर समीक्षा वर्षमा आयात ३१.५७ प्रतिशतले घटेर १ अर्ब १४ करोड ९८ लाख युनिटमा सीमित भएको छ। आयात खर्च पनि १८.२९ प्रतिशतले घटेर १० अर्ब ५५ करोड ९९ लाख रुपैयाँमा झरेको प्राधिकरणले जनाएको छ।
निर्यात आम्दानीबाट आयात खर्च कटाउँदा आव २०८२/८३ मा नेपालले १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ खुद विद्युत् व्यापार बचत गरेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो खुद बचत ४ अर्ब ५३ करोड ५७ लाख रुपैयाँ मात्र रहेकोमा समीक्षा वर्षमा ३१३ प्रतिशत (करिब चार गुणाभन्दा बढी) ले वृद्धि भएको हो।
विद्युत् निर्यातमा भएको उल्लेख्य वृद्धि र आयातमा आएको कमीले नेपाल क्रमशः ऊर्जा आयातकर्ता देशबाट ऊर्जा निर्यातकर्ता राष्ट्रका रूपमा स्थापित हुँदै गएको संकेत गरेको छ।
















प्रतिक्रिया दिनुहोस्