काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठका ऊर्जा व्यापार तथा पूर्वाधार (विशिष्ट श्रेणी) सल्लाहकारमा चितवनका विवेकराज कँडेल नियुक्त भएका छन्।
मन्त्रालयका अनुसार सल्लाहकारको जिम्मेवारीमा रहँदा कँडेलले नेपालको दीर्घकालीन ऊर्जा सुरक्षालाई केन्द्रमा राख्दै ऊर्जा क्षेत्रसँग सम्बन्धित नीतिगत सुधार, आन्तरिक ऊर्जा प्रणालीको सुदृढीकरण तथा निजी क्षेत्रको लगानी आकर्षित गर्ने रणनीति निर्माणमा परामर्श दिनेछन्।
साथै, क्षेत्रीय ऊर्जा व्यापार विस्तार र दक्षिण एसियाली ऊर्जा बजारसँग नेपालको एकीकरणलाई गति दिन पनि उनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
त्रिभुवन विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङ अध्ययन गरेका कँडेलले अमेरिकाको हार्वर्ड विश्वविद्यालयअन्तर्गतको केनेडी स्कुल अफ गभर्मेन्टबाट जलवायु, ऊर्जा रूपान्तरण तथा नेतृत्व विषयमा विशेषज्ञतासहित सार्वजनिक प्रशासन (एमपीए) मा स्नातकोत्तर गरेका छन्।
उनले नेदरल्यान्ड्सको युनिभर्सिटी अफ टुवान्टेबाट ऊर्जा व्यवस्थापनमा पनि स्नातकोत्तर उपाधि हासिल गरेका छन्।
ऊर्जा तथा पूर्वाधार क्षेत्रमा डेढ दशकभन्दा बढी अनुभव रहेका कँडेलले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) विश्व बैंक तथा अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा एजेन्सी (आइरिना) लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा विभिन्न जिम्मेवारी सम्हालिसकेका छन्।
उनको नियुक्तिले ऊर्जा क्षेत्रको नीतिगत सुधार, ऊर्जा व्यापार विस्तार तथा निजी लगानी प्रवर्द्धनमा मन्त्रालयलाई थप रणनीतिक सहयोग पुग्ने अपेक्षा गरिएको छ।
















प्रतिक्रिया दिनुहोस्