विराटनगर । सुनसरीमा डिजे बजाउने विषयलाई लिएर भएको विवाद हिंसात्मक बनेपछि मोरङ प्रशासनले जिल्लाभर अर्को सूचना जारी नभएसम्म डिजे प्रयोगमा प्रतिबन्ध लगाएको छ। मेला, महोत्सव, विवाह, पार्टी, धार्मिक कार्यक्रमलगायत सार्वजनिक तथा निजी कार्यक्रममा डिजे बजाउन रोक लगाइएको हो।
जिल्ला प्रशासन कार्यालय मोरङले शान्ति सुरक्षा कायम राख्न र सम्भावित तनाव नियन्त्रण गर्न यस्तो निर्णय गरेको जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी पवन कोइरालाद्वारा जारी सूचनामा कुनै पनि कार्यक्रममा डिजे प्रयोग वा गराएको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ।
यसअघि सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा डिजे बजाउने विषयमा विवाद हुँदा दुई पक्षबीच झडप भएको थियो। झडप नियन्त्रणका क्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको र केही व्यक्ति घाइते भएको जनाइएको छ।
सो घटनापछि पूर्वी नेपालका केही क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ। मोरङ प्रशासनले जिल्लावासीलाई जारी सूचनाको पालना गर्न आग्रह गर्दै सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न अनुरोध गरेको छ।
















प्रतिक्रिया दिनुहोस्