काठमाडौं। सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनाप्रति नेपाल सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सरकारले घटनामा ज्यान गुमाएका व्यक्तिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइते नागरिक तथा सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
सरकारले घटनामा घाइते भएका सबैको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमार्फत गरिएको जनाएको छ।
घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले सात दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेशसहित छानबिन समिति गठन गरेको छ। समितिले घटनाको वास्तविकता पत्ता लगाउनुका साथै भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक उपायहरू समेत सिफारिस गर्ने सरकारको भनाइ छ।
सरकारले घटनाबाट प्रभावित पीडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने र दोषीमाथि प्रचलित कानूनबमोजिम कडा कारबाही गर्ने प्रतिबद्धता जनाएको छ।
सरकारले कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा वा मुठभेडबाट सम्भव नहुने स्पष्ट गर्दै नेपाली समाजको धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भावलाई कायम राख्न सबै पक्षसँग आग्रह गरेको छ।
साथै, धार्मिक तथा साम्प्रदायिक सद्भावमा खलल पुर्याउने गतिविधिमा संलग्न नहुन, उत्तेजनापूर्ण वा भ्रामक सूचना नफैलाउन तथा त्यस्ता सूचनाबाट प्रभावित नहुन सबैलाई उच्च संयमता अपनाउन सरकारले अपिल गरेको छ।
सरकारले वर्तमान परिस्थितिमा मुलुकमा शान्ति, सुरक्षा तथा सामाजिक एवं धार्मिक सद्भाव कायम राख्न सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक संघ–संस्था, आमसञ्चार माध्यम तथा सम्पूर्ण नागरिकलाई जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गरेको छ।
















प्रतिक्रिया दिनुहोस्