काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित सहकारीका साना बचतकर्ताको बचत रकम फिर्ता दिने क्रमलाई तीव्रता दिएको छ।
बुधबार शिव शिखर र पशुपति सहकारीका थप ४२ जना बचतकर्ताले रकम फिर्ता पाएका हुन् । समितिका अनुसार शिव शिखर सहकारीका १४ जना र पशुपति सहकारीका २८ जनालाई सहकारीको ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम फिर्ता गरिएको हो ।
यसअघि मंगलबार मात्र समितिले कान्तिपुर सेभिङका ३३४ जना र पशुपति सहकारीका ७ जना गरी ३४१ जनालाई बचत रकम फिर्ता गरेको थियो । समितिले पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई प्राथमिकतामा राखेर रकम फिर्ता गर्दै आएको छ। बचतकर्तालाई रकमको आधारमा वर्गीकरण गरी क्रमशः मध्यम तथा ठूला बचतकर्ताको रकम पनि फिर्ता गरिने समितिले जनाएको छ ।
यसैबीच, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले साउन १ गतेदेखि १५ गतेसम्म विभिन्न समस्याग्रस्त सहकारीका ६५ जना ऋणीबाट रकम असुल गरेको जानकारी दिएको छ। समितिका अनुसार समस्याग्रस्त सहकारी संस्थाबाट कानुनी प्रक्रियामार्फत ऋण असुली र सम्पत्ति व्यवस्थापन गरी प्राप्त रकम सम्बन्धित सहकारीका बचतकर्तालाई फिर्ता गर्ने कार्य निरन्तर भइरहेको छ।
















प्रतिक्रिया दिनुहोस्