काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिका–१४ स्थित बाइपास सडकखण्डमा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट अनधिकृत रूपमा पेट्रोल चोरी गरी बिक्री–वितरण गरेको आरोपमा पेट्रोल पम्प सञ्चालकसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार बिहीबार साँझ करिब ५ः१० बजे भारतको एकीकृत जाँच चौकी (आईसीपी) हुँदै नेपाल प्रवेश गरेको ना.७ ख १५३९ नम्बरको पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट फलामको पाइपको हुक प्रयोग गरी सिल उचालेर तेल निकालिरहेको अवस्थामा उनीहरूलाई वीरगञ्ज–१४ स्थित सौदागर आयल सेन्टरबाट नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा आयल सेन्टरका सञ्चालक ५५ वर्षीय सुनैन मियाँ, लेखा शाखामा कार्यरत २३ वर्षीय असलम हवारी, क्यासियर २१ वर्षीय रफिक मियाँ, ना.७ ख २८०४ नम्बरको ट्याङ्करका चालक ४६ वर्षीय केशर राम सुनार र सहचालक २० वर्षीय सन्देश राना मगर, तथा ना.७ ख १५३९ नम्बरको ट्याङ्करका चालक ५० वर्षीय मन्द सिंह लामा र सहचालक २७ वर्षीय उमेश राना मगर रहेका छन्।
प्रहरीले घटनामा प्रयोग भएका दुवै ट्याङ्कर नियन्त्रणमा लिएर पक्राउ परेकामाथि पेट्रोलियम पदार्थ चोरी तथा अनधिकृत कारोबारसम्बन्धी आरोपमा थप अनुसन्धान भइरहेको जनाएको छ।
















प्रतिक्रिया दिनुहोस्