काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ लाई लक्षित गर्दै बैंकहरूले सवारीसाधन खरिदकर्ताका लागि विभिन्न आकर्षक कर्जा योजना सार्वजनिक गरेका छन्।
विशेषगरी विद्युतीय सवारीसाधन (ईभी) खरिदकर्तालाई लक्षित गर्दै बैंकहरूले ब्याजदर तथा कर्जा प्रक्रियामा सहुलियत दिने योजना अघि सारेका हुन्।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा आजबाट सुरु भएको नाइमा एक्स्पोमा ग्लोबल आईएमई बैंक सह–प्रायोजक तथा एनएमबी बैंक र सिद्धार्थ बैंक बैंकिङ पार्टनरका रूपमा सहभागी छन्। एक्स्पोमा आगन्तुकलाई विशेष बैंकिङ तथा सवारी वित्तीय सुविधा उपलब्ध गराइने जानकारी यसअघि नै सार्वजनिक गरिएको थियो।
ग्लोबल आईएमई बैंकले ५.२५ प्रतिशतमा अटो लोन दिने
ग्लोबल आईएमई बैंकले एक्स्पो अवधिलाई लक्षित गर्दै ‘ग्लोबल अटो लोन’ अन्तर्गत ५.२५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने योजना ल्याएको जनाएको छ। एक्स्पोमा बैंकले छुट्टै स्टलमार्फत सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई कर्जा तथा बैंकिङसम्बन्धी परामर्श उपलब्ध गराइरहेको जनाइएको छ।
एनएमबी बैंकको ईभी कर्जामा बेस रेटमा ०.५ प्रतिशतदेखि प्रिमियम
एनएमबी बैंकले विद्युतीय सवारीसाधन खरिदकर्ताका लागि विशेष अटो लोन योजना सञ्चालन गर्दै आएको छ। बैंकको श्रावण १, २०८३ देखि लागू आधिकारिक ब्याजदर तालिकाअनुसार व्यक्तिगत विद्युतीय सवारी कर्जामा बेस रेटमा ०.५ प्रतिशतदेखि २.५ प्रतिशतसम्म प्रिमियम लाग्ने व्यवस्था छ।
बैंकको ‘एनएमबी इलेक्ट्रिक अटो लोन’ विशेषगरी विद्युतीय चारपांग्रे सवारी खरिदकर्तालाई लक्षित गरिएको हो। बैंकका अनुसार यस योजनामा अधिकतम ६० प्रतिशतसम्म सवारीको मूल्य बराबर कर्जा र अधिकतम सात वर्षसम्मको कर्जा अवधि उपलब्ध छ।त्यसैगरी, बैंकको हालको दर तालिकामा ‘एनएमबी सुलभ अटो लोन–इलेक्ट्रिक’ अन्तर्गत पाँच वर्षसम्मका लागि ८.८९ प्रतिशत र पाँचदेखि सात वर्षसम्मका लागि ८.९९ प्रतिशत स्थिर ब्याजदर दिने पनि उल्लेख गरिएको छ।
सिद्धार्थ बैंकले पनि कर्जा दिने
सिद्धार्थ बैंकले पनि नयाँ सवारीसाधन खरिदकर्ताका लागि एक्स्पो लक्षित सहुलियतपूर्ण कर्जा योजना ल्याएको जनाइएको छ। बैंकले नयाँ गाडी खरिदका लागि बेस रेटमा ५.५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने जनाएको छ।
मुक्तिनाथ विकास बैंकको ५.५७ प्रतिशत अटो लोन
यसैबीच, मुक्तिनाथ विकास बैंकले पनि नाइमा अटो प्रर्दशनीलाई लक्षित गर्दै ५.५७ प्रतिशत ब्याजदरमा अटो लोन योजना सार्वजनिक गरेको छ। बैंकको प्रेस विज्ञप्तिअनुसार यो योजना ‘द्यबकभ च्बतभ + ० प्रतिशत’ विशेष ब्याजदरमा ल्याइएको हो र भदौ मसान्त २०८३ सम्म लागू हुने उल्लेख छ। बैंकले आवश्यक कागजातसहित कर्जा आवेदन पूरा भएको अवस्थामा २४ घण्टाभित्र अटो लोन उपलब्ध गराउने व्यवस्था गरेको जनाएको छ। यो सुविधा बैंकका देशभरका १७६ शाखामार्फत उपलब्ध हुने विज्ञप्तिमा उल्लेख छ।
एक्स्पोमा विभिन्न बैंकले ल्याएका यस्ता कर्जा योजनाले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई वित्तीय विकल्प थप गरेको छ। विशेषगरी ईभीको माग बढिरहेको अवस्थामा बैंकहरूको प्रतिस्पर्धात्मक कर्जा योजनाले विद्युतीय सवारी खरिदलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।
मंगलबारदेखि सुरु भएको नाइमा एक्स्पो भदौ ३१ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुनेछ। एक्स्पोमा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ मोडल तथा उत्पादन सार्वजनिक हुने आयोजकले जनाएको छ।
















प्रतिक्रिया दिनुहोस्