Advertisement
Advertisement
Corporate Samachar
३ मंसिर २०८३, बिहीबार
Advertisement
Advertisement

कृषि यान्त्रीकरणको रूपान्तरणका लागि अन्तर्राष्ट्रिय प्रदर्शनी महत्वपूर्ण प्लेटफर्म बन्ने छ : महासचिव लुइलेट ( अन्तर्वार्ता)

कृषि यान्त्रीकरणको रूपान्तरणका लागि अन्तर्राष्ट्रिय प्रदर्शनी महत्वपूर्ण प्लेटफर्म बन्ने छ : महासचिव लुइलेट ( अन्तर्वार्ता)
विज्ञापन
Advertisement

नेपाल कृषि मेशिनरी व्यवसाय संघ र नेपाल सरकारको संयुक्त आयोजनामा ‘एर्थ एग्रीमेक अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३’ आयोजना हुँदैछ। प्रदर्शनीकाे तयारी, यसकाे प्रभाव र कृषि क्षेत्रमा यसकाे माग र  किसानले पाउने सहुलियतकाे विषयमा के कस्ताे सुविधा छन् यी यस्तै विषयमा केन्द्रित रहेर नेपाल कृषि मेशिनरी व्यवसायी संघका महासचिव अर्जुनप्रसाद लुइटेलसँग गरिएकाे कुराकानीकाे सम्पादित अंश :

विज्ञापन
Advertisement
Advertisement

नेपाल कृषि मेसिनरी व्यवसाय संघ र नेपाल सरकारको संयुक्त आयोजनामा ‘एर्थ एग्रीमेक अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३’ आयोजना हुँदैछ। प्रदर्शनीको तयारी र यसको मुख्य उद्देश्यबारे बताइदिनुहोस् न?

नेपाल कृषि मेसिनरी व्यवसाय संघ र नेपाल सरकारको संयुक्त आयोजनामा आगामी मंसिर ४ देखि ६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३’ आयोजना हुँदैछ। यस प्रदर्शनीमा विश्वभर विकास तथा उत्पादन भएका आधुनिक कृषि यन्त्र, उपकरण र प्रविधिलाई एउटै थलोमा प्रस्तुत गर्ने तयारी गरेका छौं।

प्रदर्शनीमा १५० भन्दा बढी स्टल रहनेछन् भने ९० भन्दा बढी प्रदर्शक कम्पनीहरूको सहभागिता रहनेछ। विश्वका विभिन्न देशमा विकास भएका आधुनिक कृषि प्रविधि तथा उपकरणका साथै नेपालमै उत्पादन भएका कृषि यन्त्रहरू पनि प्रदर्शन गरिनेछन्। प्रदर्शनीमा ५० हजारभन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने हाम्रो अपेक्षा छ।

यसको मुख्य उद्देश्य नेपाली किसानलाई आधुनिक कृषि प्रविधिसँग जोड्नु, कृषि यान्त्रीकरणको विकासलाई प्रोत्साहन गर्नु र कृषि क्षेत्रसँग सम्बन्धित व्यवसायी, अनुसन्धानकर्ता तथा नीति निर्माण तहका व्यक्तिहरूलाई एउटै प्लेटफर्ममा ल्याउनु हो।

नेपालमा कृषि यान्त्रीकरण प्रदर्शनी सुरु भएको लामो समय भइसकेको छ। यसअघिका संस्करणभन्दा यसपटकको अन्तर्राष्ट्रिय प्रदर्शनीमा के फरक छ ? किसान तथा कृषि क्षेत्रका सरोकारवालाले यसबाट कस्ता नयाँ प्रविधि र अवसर देख्न पाउनेछन् ?

हामीले आयोजना गर्दै आएको कृषि यान्त्रीकरण प्रदर्शनी नेपालको कृषि यान्त्रीकरणको इतिहाससँग जोडिएको छ। यसको सुरुवात वि.सं. २०७० मा नेपाल सरकारले चितवनमा आयोजना गरेको पहिलो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीबाट भएको हो। त्यसपछि नेपाल कृषि मेसिनरी व्यवसाय संघ स्थापना भयो र दोस्रो संस्करणदेखि नेपाल सरकारसँग सहकार्य गर्दै संघले प्रदर्शनीको आयोजना गर्दै आएको छ।

यसबीचमा हामीले धरान, नेपालगन्ज, कोहलपुर, चितवन र पोखरालगायत देशका विभिन्न स्थानमा राष्ट्रिय तथा प्रादेशिक स्तरका प्रदर्शनी सम्पन्न गरिसकेका छौं । यसपटक भने हामी पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी आयोजना गर्दैछौं ।

यस प्रदर्शनीको मुख्य विशेषता भनेको विश्वका २० भन्दा बढी देशमा विकास तथा उत्पादन भएका आधुनिक कृषि यन्त्र, उपकरण र प्रविधिको प्रदर्शन हो। नेपालमा उत्पादन भएका कृषि उपकरणलाई पनि यसमा समेटिएको छ। आजभन्दा १० वर्षअघि नेपालको कृषि यान्त्रीकरण जुन अवस्थामा थियो, अहिले विश्व बजारमा यस क्षेत्रमा धेरै परिवर्तन र प्रविधिगत विकास भइसकेको छ। त्यही परिवर्तनलाई नेपाली किसानले प्रत्यक्ष रूपमा हेर्न र बुझ्न सक्ने वातावरण तयार गर्नु हाम्रो उद्देश्य हो।

अहिले सामाजिक सञ्जाल तथा इन्टरनेटका माध्यमबाट युरोप, चीनलगायत विकसित मुलुकमा प्रयोग भइरहेका कृषि उपकरणबारे जानकारी लिन सकिन्छ। तर जानकारी पाउनु र ती प्रविधिलाई प्रत्यक्ष रूपमा देख्नु फरक कुरा हो। त्यसैले विश्व बजारमा उपलब्ध आधुनिक प्रविधिलाई नेपाली किसानसम्म पु¥याउने प्रयास गरेका छौं ।

यसबाट किसानले आफ्नो खेती प्रणालीअनुसार उपयुक्त प्रविधि छनोट गर्न, कृषि उद्यमीले नयाँ व्यवसायका सम्भावना पहिचान गर्न तथा अनुसन्धानकर्ता र नीति निर्माण तहमा रहेका व्यक्तिहरूले कृषि यान्त्रीकरणको आगामी दिशा बुझ्न सहयोग पुग्ने विश्वास लिएका छौं। यस अर्थमा यसपटकको प्रदर्शनी विगतका संस्करणभन्दा फरक र विशेष हुनेछ।

कृषि यान्त्रीकरण प्रदर्शनीको मुख्य लाभ किसानले पाउनुपर्ने हो। तर यसपटक प्रदर्शनी काठमाडौंमा आयोजना हुँदैछ। कृषि उत्पादनको ठूलो हिस्सा तराई तथा ग्रामीण क्षेत्रमा हुने अवस्थामा काठमाडौंमा मेला आयोजना गर्नुको औचित्य के हो ? यसले वास्तविक किसानसम्म प्रविधि र उपकरणको पहुँच कसरी विस्तार गर्छ ?

तपाईंले उठाउनुभएको विषय निकै महत्वपूर्ण छ। नेपाल कृषि मेसिनरी व्यवसाय संघको उद्देश्य काठमाडौंमा मात्रै प्रदर्शनी आयोजना गर्ने होइन। हामीले यसअघि नै देशका विभिन्न ठाउँमा प्रदर्शनी गर्दै आएका छौं। चितवनबाट सुरु भएको यो यात्रा धरान, कोहलपुर, पोखरा र अन्य स्थानसम्म पुगेको छ। हाम्रो लक्ष्य देशका सबै भेगका किसानसम्म आधुनिक कृषि यन्त्र तथा प्रविधिको पहुँच विस्तार गर्नु हो। आगामी दिनमा पनि विभिन्न प्रदेश तथा जिल्लामा प्रदर्शनी आयोजना गर्ने हाम्रो योजना निरन्तर रहनेछ।

यसपटक काठमाडौं रोज्नुका पछाडि केही विशेष कारण छन्। पहिलो कुरा, काठमाडौं देशको केन्द्रीय स्थान तथा राजधानी भएकाले पूर्वदेखि पश्चिमसम्मका किसान, व्यवसायी र अन्य सरोकारवालालाई सहभागी हुन सहज हुन्छ। दोस्रो कुरा, यसपटक हामी अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी आयोजना गर्दैछौँ। इटालीलगायत विभिन्न देशका प्रदर्शक तथा कम्पनीहरूको सहभागिता रहने भएकाले अन्तर्राष्ट्रिय प्रदर्शक र सरोकारवालाको सहभागिता सहज बनाउन पनि काठमाडौं उपयुक्त स्थान भएको छ।

अर्को महत्वपूर्ण पक्ष भनेको कृषि यान्त्रीकरणलाई अब प्रविधि प्रदर्शनमा मात्र सीमित राख्नु हुँदैन। वि.सं. २०७० मा पहिलो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी आयोजना हुँदा यो क्षेत्रको विकास प्रारम्भिक चरणमा थियो। अहिले करिब १५ वर्षको अवधिमा कृषि यान्त्रीकरणमा धेरै परिवर्तन आइसकेको छ। अब यस क्षेत्रमा थप रूपान्तरण आवश्यक छ, जसका लागि नीतिगत सुधार पनि उत्तिकै महत्वपूर्ण हुन्छ।

त्यसैले यसपटक हामीले प्रदर्शनीसँगै विभिन्न साइड इभेन्टहरू पनि समावेश गरेका छौँ। कृषि यान्त्रीकरणलाई प्रभावकारी बनाउन कस्तो नीति आवश्यक छ, दुर्गम क्षेत्रमा बसोबास गर्ने किसानसम्म आधुनिक उपकरण कसरी पु¥याउन सकिन्छ र किसानले ती प्रविधिको अधिकतम उपयोग कसरी गर्न सक्छन् भन्ने विषयमा छलफल हुनेछ।

हाम्रो चाहना यो प्रदर्शनी कृषि यान्त्रीकरणसम्बन्धी नीतिगत बहस र सुधारका लागि एउटा महत्वपूर्ण दस्तावेजसमेत बनोस् भन्ने हो। काठमाडौंमा आयोजना गर्नुको अर्थ किसानलाई प्रविधिको पहुँचबाट टाढा राख्नु होइन। बरु सबै क्षेत्रका किसान र सरोकारवालालाई एउटै केन्द्रमा जोड्ने प्रयास हो। आगामी दिनमापनि किसानको सहज पहुँचलाई प्राथमिकतामा राखेर देशका विभिन्न स्थानमा यस्ता प्रदर्शनी आयोजना गर्नेछौं।

कृषि यान्त्रीकरणको कुरा गर्दा सामान्य किसानको आर्थिक अवस्था पनि विचार गर्नुपर्छ। साना किसानका लागि आधुनिक कृषि उपकरण खरिद गर्नु महँगो पर्न सक्छ। उपकरणको मूल्य, सञ्चालन खर्च र प्राविधिक सीपको अभाव पनि चुनौतीका रूपमा छन्। यस्तो अवस्थामा सामान्य किसानले कृषि यान्त्रीकरणबाट कसरी लाभ लिन सक्छन् ? उपकरणलाई किसानको पहुँचमा पु¥याउन संघले कस्ता विषयलाई प्राथमिकता दिएको छ ?

हामी व्यवसायी पनि हौं र कृषि मेसिनरी व्यवसाय संघमा आबद्ध भएकाले यस विषयलाई नजिकबाट बुझिरहेका छौँ। सबैभन्दा महत्वपूर्ण कुरा के हो भने अहिलेको अवस्थामा कृषि यान्त्रीकरणको विकल्प छैन। नेपालको कृषि उत्पादनलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउने हो भने परम्परागत खेती प्रणालीमा मात्रै निर्भर भएर सम्भव हुँदैन। उत्पादन र उत्पादकत्व वृद्धि गर्न तथा श्रमशक्तिको अभाव सम्बोधन गर्न पनि यान्त्रीकरण आवश्यक छ।

तर तपाईंले भनेजस्तै उपकरण खरिद गर्ने लागत, सञ्चालन खर्च र प्राविधिक सीपको अभाव सामान्य किसानका लागि चुनौती हुन्। यी समस्या समाधान गर्न राज्यको नीतिगत भूमिका महत्वपूर्ण हुन्छ। पहिलो कुरा, नेपाल सरकारले कृषि यान्त्रीकरणलाई प्राथमिकतामा राखेर आवश्यक नीतिगत व्यवस्था गर्नुपर्छ। हाम्रा किसानले प्रयोग गर्ने बाली, भूगोल र खेती प्रणालीअनुसार उपयुक्त हुने उपकरणको पहिचान तथा अनुसन्धान हुनुपर्छ। नेपालमै उत्पादन गर्न सकिने कृषि उपकरणको उत्पादनलाई प्रोत्साहन गर्दै सरकारले आवश्यक सहुलियत र अनुदानको व्यवस्था गर्नुपर्छ।

दोस्रो कुरा, नेपालमा उत्पादन हुन नसक्ने र तत्काल किसानको पहुँचमा पु¥याउनुपर्ने आधुनिक कृषि उपकरणको आयातमा लाग्ने भन्सार दर तथा अन्य लागत न्यूनीकरण गर्न आवश्यक छ। यसो गर्न सके किसानले कम मूल्यमा उपकरण प्राप्त गर्न सक्छन् र उत्पादन लागत घटाउन सहयोग पुग्छ।

तेस्रो कुरा, सरकारले अघि सारेका कस्टम हायरिङ सेन्टरको अवधारणालाई प्रभावकारी बनाउनुपर्छ। प्रत्येक किसानले व्यक्तिगत रूपमा महँगा कृषि उपकरण खरिद गर्न सम्भव नहुन सक्छ। यस्तो अवस्थामा सामूहिक प्रयोग वा भाडामा उपकरण उपलब्ध गराउने प्रणाली प्रभावकारी हुन सक्छ। यसले साना तथा मझौला किसानलाई पनि आधुनिक प्रविधिको उपयोग गर्ने अवसर दिन्छ।

त्यसैगरी कृषि क्षेत्रको प्रकृति, जग्गाको आकार र उत्पादन प्रणालीअनुसार यान्त्रीकरणलाई व्यवस्थित गर्नुपर्छ। राज्यको सहजीकरण, उपयुक्त नीतिगत व्यवस्था र निजी क्षेत्रको सहभागिता हुन सके कृषि यान्त्रीकरण किसानका लागि सहज, सरल र सस्तो बन्न सक्छ भन्ने हाम्रो विश्वास छ।

अन्त्यमा, आगामी मंसिर ४ देखि ६ गतेसम्म आयोजना हुने यस प्रदर्शनीमार्फत किसान, कृषि उद्यमी, व्यवसायी तथा आम सरोकारवालालाई के सन्देश दिन चाहनुहुन्छ ? प्रदर्शनीमा सहभागी हुन तपाईंको निमन्त्रणा के छ ?

यो प्रदर्शनी कृषि क्षेत्रसँग सम्बन्धित सबैका लागि महत्वपूर्ण अवसर हो। कृषि नेपालको अर्थतन्त्र र कुल गार्हस्थ्य उत्पादनमा महत्वपूर्ण योगदान पु¥याउने क्षेत्र हो। त्यसैले यस क्षेत्रको विकास र रूपान्तरणका लागि आधुनिक प्रविधि तथा यान्त्रीकरणको भूमिका महत्वपूर्ण छ।

हामीले यस प्रदर्शनीलाई एउटा सामान्य मेला वा उपकरण प्रदर्शन गर्ने कार्यक्रमका रूपमा मात्रै हेरेका छैनौँ। हिजो नेपालको कृषि यान्त्रीकरण कुन अवस्थामा थियो, आज कहाँ आइपुगेको छ र भोलि यसलाई कुन दिशामा लैजानुपर्छ भन्ने विषयमा छलफल र निष्कर्ष निकाल्ने महत्वपूर्ण थलोका रूपमा लिएका छौँ।

यसले किसान, कृषि उद्यमी, व्यवसायी, अनुसन्धानकर्ता र नीति निर्माण तहमा रहेका सबैलाई एउटै प्लेटफर्ममा जोड्नेछ। यहाँ उपलब्ध प्रविधिबारे जानकारी लिने, अनुभव आदानप्रदान गर्ने, नयाँ सम्भावनाको खोजी गर्ने र कृषि यान्त्रीकरणको आगामी दिशाबारे छलफल गर्ने अवसर प्राप्त हुनेछ।
त्यसैले किसान, कृषि व्यवसायी, कृषि उद्यमी, अनुसन्धानकर्ता, विद्यार्थी तथा कृषि क्षेत्रसँग सरोकार राख्ने सम्पूर्ण महानुभावलाई प्रदर्शनी अवलोकन गर्न हार्दिक निमन्त्रणा गर्दछु। सबैले आ–आफ्नो ठाउँबाट यस प्रदर्शनीलाई सफल बनाउन सहयोग गरौँ। यसलाई एउटा सामान्य मेलामा मात्रै सीमित नराखी नेपालको कृषि यान्त्रीकरणको रूपान्तरणको केन्द्रबिन्दुका रूपमा स्थापित गर्न सबैको सहभागिता आवश्यक छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit