तपाईंको बीमा क्षेत्रको यात्रा कसरी सुरु भयो? ३८ वर्षअघिको समय सम्झँदा आजको अवस्थासम्म आइपुग्छु भन्ने सोच्नुभएको थियो?
मेरो बीमा क्षेत्रको यात्रा सन् १९९० अर्थात् २०४६ सालतिर सुरु भएको हो। त्यसबेला म अध्ययन गरिरहेको थिएँ। राजनीतिक परिवर्तनका कारण विश्वविद्यालयहरू बन्द भएका थिए। मेरो पारिवारिक पृष्ठभूमि व्यापारभन्दा पनि सेवामुखी थियो। बुवा बैंकमा काम गर्नुहुन्थ्यो भने दाइ पनि बैंकिङ क्षेत्रसँग सम्बन्धित संस्थामा कार्यरत हुनुहुन्थ्यो। त्यसैले स्वाभाविक रूपमा मेरो रुचि पनि बैंकिङ तथा वित्तीय क्षेत्रमा जागिर गर्ने दिशातर्फ गयो।
त्यतिबेला अहिले जस्तो उद्यमशीलता, आफ्नै व्यवसाय सुरु गर्ने र सानै उमेरमा आफ्नो करियरबारे स्वतन्त्र निर्णय गर्ने वातावरण त्यति विकसित भइसकेको थिएन। परिवारमा पनि जागिर गरेर अघि बढ्ने सोच थियो। त्यसैले मैले पनि त्यही बाटो रोजें । त्यतिबेला नेपालमा वित्तीय क्षेत्र विस्तार हुँदै थियो। नेसनल लाइफ एन्ड जनरल इन्स्योरेन्स कम्पनी, ग्रिनलेज बैंक अर्थात् अहिलेको स्ट्यान्डर्ड चार्टर्ड बैंकको पूर्वरूप र नबिल बैंकजस्ता संस्थाहरू विदेशी सहकार्य तथा नयाँ व्यवस्थापन पद्धतिसहित अघि बढिरहेका थिए। विदेशी प्रविधि, ज्ञान र काम गर्ने फरक शैली सिक्न पाइने भएकाले बीमा क्षेत्रमा आकर्षण बढ्यो।
मैले नेसनल लाइफ एन्ड जनरल इन्स्योरेन्स कम्पनीबाट सहायक तहमा काम सुरु गरेँ। त्यसपछि निरन्तर काम गर्दै, अनुभव र ज्ञान बढाउँदै करियरमा अघि बढे। लामो समय बजार व्यवस्थापनमा काम गरे । अहिले पनि प्रमुख कार्यकारी अधिकृतको भूमिकामा बजार, ग्राहक, सेवा र व्यावसायिक विकासका विषयहरू नै महत्वपूर्ण हुन्छन्।
त्यतिबेला मैले १०–१५ वर्षपछि नेतृत्वदायी भूमिकामा पुग्छु भनेर कल्पना गरेको थिइनँ। आफ्नो जिम्मेवारी पूरा गर्ने, कामबाट सन्तुष्टि लिने, ज्ञान र सीप बढाउने तथा नयाँ कुरा सिक्दै अघि बढ्ने सोच थियो। कुनै तहमा पुगेपछि त्यहीँ रोकिनु हुँदैन भन्ने लाग्थ्यो। नेतृत्वमा पुग्न अनुभवसँगै ज्ञान र सीप पनि आवश्यक हुन्छ। निरन्तर सिक्ने र आफूलाई अद्यावधिक गर्ने अभ्यासले नै आजको जिम्मेवारीसम्म आइपुग्न सहयोग गरेको हो।
तपाईंले बीमा क्षेत्रमा प्रवेश गर्दाको समय र अहिलेको अवस्थालाई तुलना गर्दा कस्तो परिवर्तन पाउनुभएको छ?
मैले काम सुरु गर्दा नेपालको बीमा बजार निकै सानो थियो। बैंकहरूले कर्जा दिँदा धितोमा राखिएको सम्पत्तिको बीमा गर्नुपर्ने र केही उद्योग तथा व्यवसायका सम्पत्तिको बीमा हुने अवस्था थियो। जोखिम न्यूनीकरणका लागि बीमा गर्नुपर्छ भन्नेभन्दा पनि नीतिगत प्रावधान पूरा गर्न बीमा गर्ने प्रवृत्ति बढी थियो।
अहिले बीमाको दायरा निकै फराकिलो भएको छ।
सम्पत्तिको बीमाबाट सुरु भएको बजार व्यावसायिक दायित्व, पेसागत क्षतिपूर्ति, साइबर जोखिमलगायतका क्षेत्रमा विस्तार भएको छ।
जोखिम मूल्याङ्कन गर्ने तरिकामा पनि ठूलो परिवर्तन आएको छ। पहिले सामान्य जानकारीका आधारमा बीमा गर्ने अभ्यास थियो भने अहिले भौगोलिक अवस्था, व्यवसायको प्रकृति, जोखिमको इतिहास र सम्भावित क्षतिसमेत विश्लेषण गर्ने अभ्यास विकास हुँदै गएको छ।
प्रविधिमा आएको परिवर्तन पनि उल्लेखनीय छ। पहिले हातले लेखेर वा टाइपराइटर प्रयोग गरेर बीमालेख जारी गरिन्थ्यो। अहिले घरमै बसेर मोबाइल, कम्प्युटर वा ल्यापटपबाट बीमा गर्न र भुक्तानी गर्न सकिने अवस्था छ।
कृषि बीमामा पनि डिजिटल माध्यमको प्रयोग बढेको छ। किसानले आफ्नो मोबाइलबाटै बीमा गर्ने अभ्यासले बीमा सेवा गाउँगाउँसम्म पु¥याउन सहयोग गरेको छ। यसले कृषि क्षेत्रको जोखिम व्यवस्थापनलाई सहज बनाएको छ। बीमा क्षेत्रको विकासले अन्य आर्थिक क्षेत्रको समृद्धिमा पनि योगदान पु¥याउन सक्छ।
तपाईं विदेशमा गएर करियर बनाउनुभन्दा नेपालमै बसेर काम गर्नुभयो। यसमा पारिवारिक पृष्ठभूमिको प्रभाव थियो कि आफ्नै रुचि?
मेरो जन्म काठमाडौंमै भएको हो। परिवारका सदस्यहरू पनि नेपालमै विभिन्न सरकारी तथा अन्य संस्थामा काम गर्नुहुन्थ्यो। त्यसैले विदेश गएरै काम गर्नुपर्छ भन्ने सोच ममा कहिल्यै बलियो बनेन। विदेशमा अध्ययन गर्ने सोच भने कहिलेकाहीँ आएको थियो, तर त्यो पूरा भएन।
मेरा समकक्षी र आफन्तमध्ये धेरै जना विदेशमा हुनुहुन्छ। परिवारका वरिष्ठ सदस्यहरू पनि विदेशमा प्राध्यापनलगायतका क्षेत्रमा हुनुहुन्छ। तर मेरो आफ्नै रुचि नेपालमै बसेर काम गर्ने रह्यो। परिवारसँग जोडिएर बस्ने मेरो स्वभावले पनि यसमा भूमिका खेलेको हुन सक्छ।
आफू जहाँ छु, त्यही बसेर काम गर्ने, आफ्नो क्षेत्रको विकासमा योगदान दिने र यही अवसर खोज्ने सोचले मलाई नेपालमै करियर अघि बढाउन प्रेरित ग¥यो।
सहायक तहबाट प्रमुख कार्यकारी अधिकृतसम्म आइपुग्दा कस्ता चुनौती सामना गर्नुभयो?
करियरको प्रत्येक चरणमा चुनौती फरक हुन्छन्। जागिर सुरु गर्दा अन्तर्वार्तामा सफल हुने र नियुक्ति पाउने कुरा नै ठूलो चुनौती थियो। त्यसका लागि विषयवस्तुको ज्ञान बढाउने र आफूलाई तयार पार्ने काम गर्नुपथ्र्यो।
त्यसपछि बजारमा प्रतिस्पर्धा गर्ने चुनौती आयो। बाह्य प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्नुका साथै संस्थाभित्र पनि आफ्नो कार्यसम्पादन राम्रो बनाउनुपथ्र्यो। माथिल्लो जिम्मेवारीमा पुग्न आफ्नो क्षमता र परिणाम प्रमाणित गर्न आवश्यक हुन्थ्यो।
जिम्मेवारी बढ्दै जाँदा चुनौतीको स्वरूप पनि बदलियो। व्यक्तिगत काम राम्रो गर्नु मात्र पर्याप्त हुँदैन। विभागको नेतृत्व गर्ने, कर्मचारीका समस्या समाधान गर्ने, काम गर्ने प्रक्रिया सहज बनाउने र संस्थाका लागि उपयुक्त नीति तथा कार्यविधि तयार गर्न सहयोग गर्ने जिम्मेवारी आउँछ।
अहिलेको अवस्थामा डिजिटल प्रविधिमा भइरहेको तीव्र परिवर्तनसँग आफूलाई अद्यावधिक राख्नु अर्को चुनौती हो। कम्पनीलाई उच्च स्तरमा पु¥याउने, कर्मचारीको क्षमता विकास गर्ने, भविष्यका सम्भावना अध्ययन गर्ने र नियामक निकायले जारी गरेका नीति तथा निर्देशन पालना गर्दै अघि बढ्नुपर्ने हुन्छ।
म चुनौतीलाई ठूलो र सानो भनेर छुट्याउन चाहन्नँ। प्रत्येक तहका चुनौती उत्तिकै महत्वपूर्ण हुन्छन्। चुनौती महसुस गरेर त्यसलाई समाधान गर्ने प्रयास नगरेको भए आजको जिम्मेवारीसम्म आइपुग्न सम्भव हुने थिएन।
अहिले एनएलजी इन्स्योरेन्सको नेतृत्व गरिरहँदा तपाईंको मुख्य प्राथमिकता के हो? संस्थालाई प्रतिस्पर्धी बजारमा कसरी अघि बढाइरहनुभएको छ?
कुनै पनि संस्थालाई अघि बढाउने मुख्य शक्ति त्यहाँका कर्मचारी हुन्। सञ्चालक समितिले दिएको म्यान्डेट, नेपाल बीमा प्राधिकरणका नीति तथा निर्देशन र संस्थाको व्यावसायिक लक्ष्यलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्पूर्ण कर्मचारीको साझा प्रयास आवश्यक हुन्छ।
एउटा व्यक्तिले मात्रै संस्था अघि बढाउन सक्दैन। व्यवस्थापनदेखि विभिन्न तहमा काम गर्ने कर्मचारीसम्म सबैले एउटै लक्ष्य र सोचका साथ काम गर्नुपर्छ। प्रमुख कार्यकारी अधिकृतदेखि कार्यान्वयन तहसम्मका कर्मचारीमा लक्ष्यप्रतिको स्पष्टता र जिम्मेवारीबोध भए मात्र अपेक्षित परिणाम हासिल गर्न सकिन्छ।
अहिले बीमा क्षेत्र प्रतिस्पर्धी बन्दै गएको छ। वित्तीय विवरण तयार गर्ने र अन्तर्राष्ट्रिय मापदण्डअनुसार काम गर्ने विषयदेखि ग्राहकलाई गुणस्तरीय सेवा दिने कुरासम्म व्यवस्थापनका सबै तह जिम्मेवार हुनुपर्छ।
मेरो मुख्य भूमिका संस्थाको लक्ष्य स्पष्ट बनाउने, कर्मचारीमा साझा सोच विकास गर्ने, उनीहरूलाई आवश्यक दिशा दिने र सबैलाई परिणाममुखी काममा केन्द्रित गराउने हो। यही आधारमा हामी एनएलजी इन्स्योरेन्सलाई अघि बढाउने प्रयास गरिरहेका छौं ।
प्रतिस्पर्धी बीमा बजारमा एनएलजी इन्स्योरेन्सले आफूलाई कसरी फरक बनाइरहेको छ?
बीमा विश्वासमा आधारित व्यवसाय हो। ग्राहकको विश्वास एकै दिनमा प्राप्त हुँदैन। त्यसका लागि निरन्तर राम्रो सेवा दिनुपर्छ र प्रतिबद्धताअनुसार काम गर्नुपर्छ। एनएलजी इन्स्योरेन्सको एउटा बलियो पक्ष कर्मचारीको निरन्तरता हो। ग्राहकसँग काम गरिरहेका कर्मचारी लामो समयसम्म संस्थामा रहँदा ग्राहकले पनि आफ्नो काम र प्रक्रियाबारे सहज रूपमा जानकारी पाउन सक्छन्। कर्मचारीको अनुभव र ग्राहकसँगको सम्बन्धले विश्वास निर्माण गर्न सहयोग गर्छ।
अर्कोतर्फ, हामीले डिजिटल रूपान्तरणलाई पनि प्राथमिकतामा राखेका छौं । बीमालेख जारी गर्नेदेखि दाबी प्रक्रियासम्मका जानकारी ग्राहकले डिजिटल माध्यमबाट प्राप्त गर्न सक्ने व्यवस्था महत्वपूर्ण छ । आफ्नो बीमालेखको अवस्था के छ र दाबी प्रक्रियामा के भइरहेको छ भन्ने जानकारी ग्राहकले सहज रूपमा पाउनु आवश्यक छ।
कर्मचारीको अनुभव, सेवाप्रतिको प्रतिबद्धता र डिजिटल प्रविधिको संयोजनबाट ग्राहकलाई राम्रो सेवा दिन सकिन्छ भन्ने हाम्रो विश्वास हो। प्रतिस्पर्धामा टिक्न केवल बीमालेख बिक्री गरेर हुँदैन, ग्राहकलाई आवश्यक परेको समयमा भरपर्दो सेवा दिन सक्नुपर्छ।
जलवायु परिवर्तनका कारण बाढी, पहिरो र अन्य प्राकृतिक विपद्का घटना बढिरहेका छन्। यस्तो अवस्थामा नेपालमा बीमाको दायरा र जनचेतना पर्याप्त छ जस्तो लाग्छ?
पछिल्ला वर्षहरूमा प्राकृतिक विपद्का घटनाले ठूलो क्षति पु¥याएका छन्। भूकम्प, कोभिड महामारी, बाढीपहिरो र विशेषगरी भोटेकोशी तथा रसुवामा भएको बाढीको घटनाले जोखिम व्यवस्थापनको महत्त्व थप स्पष्ट पारेको छ।
यस्तो अवस्थामा बीमा अझ आवश्यक हुन्छ। तर नेपालमा बीमाको उपयोगिता र यसको दायराबारे जनचेतना अझै बढाउनुपर्ने आवश्यकता छ। बीमा प्राधिकरण र बीमा कम्पनीहरूले दुर्गम क्षेत्रसम्म पुगेर बीमासम्बन्धी जानकारी दिनुपर्छ। बीमा कसरी गर्ने, क्षति भएमा दाबी कसरी गर्ने र बीमाबाट आर्थिक सुरक्षा कसरी प्राप्त हुन्छ भन्ने कुरा आम नागरिकले बुझ्न आवश्यक छ।
किसानको गाईवस्तुदेखि ठूला जलविद्युत् आयोजना, उद्योग तथा व्यावसायिक संरचनासम्ममा बीमाको महत्व छ । क्षति भएपछि त्यसको आर्थिक भार कम गर्न बीमाले सहयोग गर्छ। तर कतिपय मानिसले आफूलाई विपद् आइपर्दैन भन्ने सोच राखेर बीमा गर्दैनन्।
बीमा आवश्यक छ भन्ने बुझाइलाई व्यवहारमा रूपान्तरण गर्नुपर्छ। बीमा गर्ने बानी विकास गर्न सके प्राकृतिक विपद्का कारण व्यक्ति, व्यवसाय र राज्यले बेहोर्नुपर्ने आर्थिक भार कम गर्न सकिन्छ। विपद्पछि राज्यले क्षतिपूर्तिमा ठूलो रकम खर्च गर्नुपर्ने अवस्थालाई घटाउँदै उपलब्ध स्रोत विकास निर्माणमा परिचालन गर्न पनि बीमाले सहयोग पु¥याउन सक्छ। त्यसैले बीमालाई केवल औपचारिकता वा कानुनी बाध्यताका रूपमा होइन, आर्थिक सुरक्षाको महत्वपूर्ण माध्यमका रुपमा स्थापित गर्नुपर्छ ।
बीमा दाबी भुक्तानीमा ढिलाइ र झन्झट हुने गुनासो सुनिन्छ। यसले बीमाप्रतिको जनविश्वासमा असर पारेको छैन?
बीमा कम्पनीले बीमाशुल्क लिने तर दाबी भुक्तानी गर्दा झन्झट दिने भन्ने गुनासो सुनिने गरेको छ। यसलाई हामीले गम्भीर रूपमा लिनुपर्छ। तर बीमा उद्योगले गर्ने दाबी भुक्तानीको वास्तविक अवस्थालाई पनि तथ्याङ्कका आधारमा हेर्नुपर्छ। बीमा उद्योगले हरेक वर्ष ठूलो रकम दाबी भुक्तानी गरिरहेको छ।
मेरो भनाइमा, बीमा कम्पनीहरूले सहज र सरल रूपमा दाबी भुक्तानी गर्न सकेनन् भने उनीहरूको बजार विस्तार सम्भव हुँदैन। त्यसैले दाबी भुक्तानी बीमा व्यवसायको सबैभन्दा महत्वपूर्ण पक्षमध्ये एक हो।
दाबी प्रक्रियामा बीमालेखका सर्त, क्षतिको प्रकृति र आवश्यक कागजातको भूमिका हुन्छ। कतिपय अवस्थामा विवाद उत्पन्न हुन सक्छ। त्यस्ता विवाद समाधान गर्न नेपाल बीमा प्राधिकरणले सहजीकरण गर्ने व्यवस्था पनि छ। यद्यपि, कागजात जुटाउनुपर्ने प्रक्रियाले ग्राहकलाई समस्या हुन सक्छ। विशेषगरी दुर्गम क्षेत्रमा बस्ने मानिसलाई वडा कार्यालय वा स्थानीय तहबाट आवश्यक कागजात ल्याउन समय र खर्च लाग्न सक्छ। यस्तो कठिनाइलाई कम गर्न बीमा कम्पनीहरूले ग्राहकलाई सहजीकरण गर्नुपर्छ र अनावश्यक झन्झट हटाउनुपर्छ।
बीमा कम्पनीले पनि ग्राहकलाई दुःख दिने प्रवृत्ति त्याग्नुपर्छ। अर्कोतर्फ, दाबी भुक्तानीका लागि आवश्यक प्रक्रिया र कागजातबारे ग्राहकलाई पहिल्यै स्पष्ट जानकारी दिनुपर्छ। प्रक्रिया पारदर्शी र सहज बनाउन सके बीमाप्रतिको विश्वास थप बलियो हुन्छ।
भोटेकोशी बाढीजस्ता विपद्का घटनामा दाबी भुक्तानी प्रक्रिया सहज बनाउन के भइरहेको छ?
ठूला विपद्का घटनामा आवश्यक कागजात जुटाउन कठिनाइ हुन सक्छ। घटना भएको स्थानमा सामान्य अवस्थामा उपलब्ध हुने कागजातसमेत नष्ट भएको वा सम्बन्धित कार्यालयसम्म पुग्न कठिन भएको हुन सक्छ। त्यसैले यस्ता घटनामा सामान्य अवस्थाको प्रक्रियाले मात्रै काम नगर्न सक्छ। भोटेकोशी बाढीको सन्दर्भमा आवश्यक कागजात जुटाउन कठिन हुने अवस्थालाई ध्यानमा राखेर नेपाल बीमा प्राधिकरणले छुट्टै निर्देशन जारी गरेको छ। त्यसअनुसार आवश्यक प्रमाणका आधारमा दाबी भुक्तानीलाई सहजीकरण गर्ने व्यवस्था गरिएको छ।
बीमा कम्पनीहरूले पनि क्षति भएका ग्राहकलाई आवश्यक सहयोग गर्नुपर्छ। जहाँ सम्भव हुन्छ, अग्रिम भुक्तानी उपलब्ध गराउने र बाँकी प्रक्रिया पूरा गर्दै दाबी फछ्र्योट गर्ने कामलाई अघि बढाउनुपर्छ।
दाबी भुक्तानीमा कागजात आवश्यक हुनु स्वाभाविक हो, तर ती कागजात जुटाउने प्रक्रिया अनावश्यक रूपमा झन्झटिलो हुनु हुँदैन। नियम पालना गर्दै ग्राहकलाई सहज हुने वातावरण निर्माण गर्नु आजको आवश्यकता हो।
कोभिड बीमाको दाबी भुक्तानीमा देखिएको विवादले बीमा क्षेत्रप्रतिको विश्वासमा धक्का पु¥याएको छ। यसलाई कसरी हेर्नुहुन्छ?
कोभिड बीमाको दाबी भुक्तानीको विषय बीमा उद्योग र समाज दुवैका लागि कठिन अनुभव रह्यो। त्यसबेला पुनर्बीमा तथा भुक्तानीको दायित्व व्यवस्थापनसँग सम्बन्धित विषयले समस्या सिर्जना ग¥यो। बीमा कम्पनीहरूले आफ्नो स्तरबाट ठूलो रकम भुक्तानी गरेका थिए। तर बाँकी दायित्वको भुक्तानी व्यवस्थापनमा समस्या हुँदा केही दाबी अझै पेन्डिङ रहने अवस्था आयो।
यसलाई बीमा कम्पनीको सामान्य दाबी भुक्तानी प्रक्रियासँग मात्रै जोडेर हेर्नु उपयुक्त हुँदैन। त्यसबेला दायित्व लिने संयन्त्र र रकम उपलब्ध गराउने प्रक्रियासँग सम्बन्धित समस्या पनि थियो।तर कोभिड बीमाको अनुभवबाट पाठ सिक्न आवश्यक छ। भविष्यमा यस्ता योजनाहरू ल्याउँदा जोखिम कसले वहन गर्ने, पुनर्बीमा कसरी गर्ने र दाबी भुक्तानीका लागि आवश्यक रकमको व्यवस्था कसरी गर्ने भन्ने कुरा सुरुमै स्पष्ट हुनुपर्छ।
बीमाप्रतिको विश्वास पुनः बलियो बनाउन दाबी भुक्तानी प्रक्रियालाई प्रभावकारी बनाउनु र विगतका कमजोरीबाट सिकेर प्रणाली सुधार गर्नु आवश्यक छ। पुराना समस्यालाई मात्रै सम्झिरहनुभन्दा पछिल्ला अनुभवका आधारमा बीमालाई अझ विश्वसनीय र प्रभावकारी बनाउँदै अघि बढ्नुपर्छ।
पछिल्ला वर्षमा ठूला विपद्का कारण बीमा कम्पनीहरूको जोखिम बढेको छ। यसले पुनर्बिमामा कस्तो चुनौती सिर्जना गरेको छ?
पछिल्ला चार–पाँच वर्षमा भएका ठूला क्षतिले बीमा उद्योगमा पुनर्बिमासम्बन्धी चुनौती बढाएका छन्। पुनर्बिमा बीमा कम्पनीहरूका लागि अत्यन्त आवश्यक हुन्छ। पुनर्बिमाको भरपर्दो व्यवस्था नभई बीमा कम्पनीहरूले ठूलो जोखिम वहन गर्न सक्दैनन्।
ठूला क्षतिका कारण पुनर्बिमा कम्पनीहरूले सर्त र मूल्य निर्धारणमा कडाइ गर्न सक्ने अवस्था देखिएको छ। यसले बीमा कम्पनीहरूको लागत र जोखिम व्यवस्थापनमा प्रभाव पार्न सक्छ। पुनर्बिमा उपलब्ध गराउने कम्पनीहरू पनि व्यावसायिक संस्थाहरू भएकाले उनीहरूले जोखिमको मूल्याङ्कन गरेर निर्णय गर्छन्।
त्यसैले नेपालका बीमा कम्पनी, जलविद्युत् क्षेत्र, बैंकिङ क्षेत्र, उद्योग व्यवसाय र राज्यका निकायबीच गम्भीर छलफल आवश्यक छ। कुन क्षेत्रमा कस्तो जोखिम छ, त्यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ र अन्तर्राष्ट्रिय तथा स्वदेशी पुनर्बिमा कम्पनीलाई जोखिम व्यवस्थापनप्रति विश्वस्त बनाउन के गर्न सकिन्छ भन्ने विषयमा साझा समझदारी बन्नुपर्छ।
पुनर्बिमासम्बन्धी व्यावहारिक र सबै पक्षलाई स्वीकार्य हुने नीति निर्माण गर्नु अहिलेको आवश्यकता हो। बीमा कम्पनी, बीमित, पुनर्बिमा कम्पनी र समग्र बजारको हितलाई ध्यानमा राखेर अघि बढ्न सके बीमा क्षेत्रको दायरा अझ विस्तार गर्न सकिन्छ।
अन्यथा, जोखिम बढ्दै जाने र पुनर्बिमाको व्यवस्था कठिन हुँदै जाने हो भने अहिले विस्तार भइरहेको बीमा बजार फेरि साँघुरिने सम्भावना रहन्छ। त्यसैले पुनर्बिमालाई अहिलेको प्रमुख प्राथमिकतामध्ये एक बनाएर राज्य, नियामक निकाय र सम्बन्धित क्षेत्रले समन्वय गर्नुपर्छ। यसले बीमा उद्योगलाई दिगो रूपमा अघि बढाउन सहयोग पु¥याउनेछ।
अन्त्यमा, नेपालको बीमा क्षेत्रलाई थप विश्वसनीय र प्रभावकारी बनाउन के गर्नुपर्छ?
नेपालमा बीमा क्षेत्रको दायरा विस्तार भइरहेको छ। प्रविधिको प्रयोग बढेको छ र बीमाका नयाँ क्षेत्रहरू पनि विकास भइरहेका छन्। तर बीमाको पहुँच विस्तारसँगै जनविश्वास बढाउनु उत्तिकै महत्त्वपूर्ण छ।
बीमा कम्पनीहरूले ग्राहकलाई सरल, पारदर्शी र प्रभावकारी सेवा दिनुपर्छ। दाबी भुक्तानीमा अनावश्यक ढिलाइ र झन्झट कम गर्नुपर्छ। बीमा प्राधिकरणले नियमनसँगै जनचेतना अभिवृद्धि र सेवा प्रक्रियालाई सहज बनाउन भूमिका खेल्नुपर्छ। राज्यले पनि बीमालाई विपद् व्यवस्थापन र आर्थिक सुरक्षाको महत्वपूर्ण माध्यमका रूपमा लिनुपर्छ।
त्यसैगरी, जलवायु परिवर्तन र प्राकृतिक विपद्का कारण बढिरहेका जोखिम व्यवस्थापन गर्न पुनर्बिमाको भरपर्दो व्यवस्था आवश्यक छ। बीमा उद्योगसँग सम्बन्धित सबै पक्षले साझा रूपमा काम गर्न सके जोखिम न्यूनीकरण, आर्थिक सुरक्षा र बजार विस्तारमा उल्लेखनीय प्रगति गर्न सकिन्छ।
बीमा भनेको क्षति भएपछि मात्रै सम्झिने विषय होइन।
जोखिम हुनुअघि नै आर्थिक सुरक्षाको तयारी गर्ने माध्यम हो। यही बुझाइ आम नागरिक, किसान, व्यवसायी र संस्थाहरूमा विकास गर्न सके नेपालको बीमा क्षेत्र अझ बलियो र विश्वसनीय बन्न सक्छ।















प्रतिक्रिया दिनुहोस्