काठमाडौं । नेपाली विज्ञापन उद्योगको प्रतिष्ठित ‘कृति अवार्ड्स २०८३’ को १३औँ संस्करण आयोजना हुने भएको छ।
विज्ञापन संघ नेपाल (आन) को आयोजनामा हुने यस वर्षको अवार्ड्समा रेडबुल इनर्जी ड्रिंक्स मुख्य प्रायोजक रहेकाले कार्यक्रमको नाम ‘रेडबुल १३औँ कृति अवार्ड्स २०८३’ आन महासचिव कृष्ण प्रसाद घिमिरेले जानकारी दिए।
यस वर्षको आयोजनामा नेपाल मिडिया सोसाइटी, मिडिया एलायन्स नेपाल, ब्रोडकास्टिङ एसोसिएसन नेपाल, एकोर्याब तथा ब्रोडकास्टर्स फोरम सह–आयोजकका रूपमा सहभागी भएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स तथा नेपाल सरकारको विज्ञापन बोर्डले समेत कार्यक्रमलाई समर्थन तथा सम्बन्धन प्रदान गरेका छन्।
कृति अवार्ड्सले नेपाली विज्ञापन, मार्केटिङ तथा सञ्चार क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने विज्ञापन एजेन्सी, सिर्जनाकर्ता तथा ब्रान्डलाई सम्मान गर्दै आएको छ। १३औँ संस्करणसम्म आइपुग्दा अवार्ड्स नेपाली बजारमा सिर्जनात्मकता, मौलिकता तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने महत्वपूर्ण मञ्चका रूपमा स्थापित भएको आयोजकले जनाएको छ। यस वर्ष टेलिभिजन, छापा, रेडियो, डिजिटल, प्रिन्ट, सामाजिक सञ्जाल तथा एकीकृत अभियानलगायत क्षेत्रमा ३१ विधामा ५५ अवार्ड प्रदान गरिनेछ। यसपटक डिजिटल, इभेन्ट्स र इन्टिग्रेटेड गरी तीन नयाँ क्षेत्र थपिनुका साथै २४ नयाँ विधा समावेश गरिएको छ।
अवार्ड्सको मूल्यांकनलाई पारदर्शी र निष्पक्ष बनाउन काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका डिन प्रा। डा। विजय केसीको अध्यक्षतामा जुरी गठन गरिएको छ। जुरीमा वरिष्ठ सञ्चारकर्मी भारती सिलवाल गिरी, वरिष्ठ मार्केटिङ विज्ञ रविन्द्रमान श्रेष्ठलगायत क्षेत्रगत विशेषज्ञहरू रहेका छन्। जुरीले विषयगत मूल्यांकनकर्ताको मनोनयन गरी उत्कृष्ट सिर्जनाहरूबाट विजेताको छनोट गर्नेछ। आनका अनुसार अवार्ड्सका लागि मनोनयन दर्ता प्रक्रिया खुला भइसकेको छ। २०८० वैशाख १ गतेदेखि २०८३ असार मसान्तसम्म उत्पादन तथा प्रदर्शन भएका सिर्जनात्मक कार्यहरू इच्छुक विज्ञापन एजेन्सी तथा ब्रान्डहरूले दर्ता गराउन सक्नेछन्।
आनका अध्यक्ष सुदीप थापाले यसपटक थप विधा समावेश गरेर विज्ञापन क्षेत्रको सिर्जनात्मकतालाई व्यापक रूपमा प्रोत्साहन गर्न खोजिएको बताए। उनका अनुसार कृति अवार्ड्सले सुरुवातदेखि नै नेपाली विज्ञापन क्षेत्रमा सिर्जनात्मकता र मौलिकताको विकासमा योगदान दिँदै आएको छ।‘यस पटक कृति अवार्ड्सलाई थप विधामा विस्तार गरिएको छ। यसले नेपाली विज्ञापन बजारलाई विश्व बजारमा चिनाउन सहयोग गर्नेछ,’ अध्यक्ष थापाले भने।
आयोजकले कृति अवार्ड्सले नेपाली विज्ञापन तथा सञ्चार उद्योगको विकाससँगै समग्र अर्थतन्त्रलाई चलायमान बनाउन र विज्ञापन बजारको विस्तारमा समेत योगदान पुर्याउने अपेक्षा गरेको जनाएको छ।
















प्रतिक्रिया दिनुहोस्