Advertisement
Advertisement
Corporate Samachar
९ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

त्रिशूली–३ ‘ए’ मा अझै करिब ४५ जना फसेको अनुमान, उद्धारमा कठिनाइ भएपछि सुरुङभित्र अक्सिजन पुर्‍याउने प्रयासमा प्राधिकरण

त्रिशूली–३ ‘ए’ मा अझै करिब ४५ जना फसेको अनुमान, उद्धारमा कठिनाइ भएपछि सुरुङभित्र अक्सिजन पुर्‍याउने प्रयासमा प्राधिकरण
विज्ञापन
Advertisement

काठमाडौं। रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको पावरहाउस तथा सुरुङ क्षेत्रमा ४०–४५ जना कर्मचारी फसेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। उनीहरूसँग अहिलेसम्म कुनै सम्पर्क हुन सकेको छैन।

विज्ञापन
Advertisement
Advertisement

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु श्रेष्ठका अनुसार यही भदौ १० गते आएको ठूलो बाढीका कारण त्रिशूली करिडोरमा रहेका प्राधिकरण तथा निजी क्षेत्रका गरी करिब १५ वटा जलविद्युत् आयोजनाबाट ४३० मेगावाटभन्दा बढी विद्युत् प्रणालीबाट आउटेज भएको छ। यद्यपि, आन्तरिक विद्युत् मागलाई भने अहिलेसम्म कटौती नगरी व्यवस्थापन गर्न सफल भएको उनले बताए ।

श्रेष्ठका अनुसार त्रिशूली–३ ‘ए’ क्षेत्रमा फसेका कर्मचारीको उद्धारका लागि प्राधिकरणले सुरक्षा निकाय, गृह मन्त्रालय तथा विपद् व्यवस्थापन संयन्त्रसँग निरन्तर समन्वय गरिरहेको छ। प्राधिकरणको उच्चस्तरीय टोलीसमेत फिल्डमा खटिएको छ । ‘हामीले यसलाई माथिल्लो निकायमा, मन्त्रालय स्तरमा र गृहलाई पनि पटक–पटक जानकारी गराएका छौँ र हाम्रो त्यहाँ ३०–३५ जना कर्मचारी साथीहरू थुनिएको भन्ने कुरा जानकारी गराएका छौँ,’ श्रेष्ठले भने ।

तर, पछिल्लो प्रारम्भिक विवरणअनुसार त्रिशूली करिडोरका विभिन्न आयोजनामा २०० भन्दा बढी कर्मचारी तथा कामदार अझै पहुँचबाहिर रहेको प्राधिकरणको भनाइ छ। चिलिमे क्षेत्रमा मात्रै १५–२० जना, त्रिशूली–३ ‘ए’ पावरहाउसमा करिब ४०–४५ जना र निर्माणाधीन त्रिशूली–३ ‘बी’ आयोजनामा २०–२५ जना कर्मचारीसहित ठूलो संख्यामा कामदार रहेको जानकारी आएको श्रेष्ठले बताए । उनले भने, ‘प्रारम्भिक अनुमानमा लगभग २०० बढी नै कर्मचारी तथा कामदारहरु सम्पर्कबाहिर हुनुहुन्छ ।’

३ ‘ए’ मा फसेकासँग सम्पर्क छैन

त्रिशूली–३ ‘ए’ को सुरुङमा रहेका कर्मचारीसँग अहिले कुनै पनि सम्पर्क स्थापित हुन नसकेको श्रेष्ठले बताए । ‘भित्र रहेका जति पनि हाम्रो ४०–४५ जना जुन ३ ‘ए’ मा फसेको भन्ने छ, उहाँहरूसँग कुनै पनि सम्पर्क भइरहेको अवस्था छैन,’ उनले भने, ‘भित्रको अवस्था अज्ञात छ। आशा गरौँ उहाँहरू अझै पनि कुशल हुनुहुन्छ।’ आयोजनाको सुरुङभित्र अक्सिजनको अवस्था पनि चिन्ताको विषय बनेको छ। उद्धार तत्काल सम्भव नभए कम्तीमा सुरुङभित्र अक्सिजन पुर्‍याउने वैकल्पिक उपाय खोजिरहेको प्राधिकरणले जनाएको छ । ‘छिटोभन्दा छिटो हामीले कमसेकम उद्धार नै गरेर ल्याउन नसके पनि कतै प्वाल गरेर भए पनि त्यहाँभित्र अक्सिजन पास गराउन सकियो भने भित्र रहेका जति पनि थुनिएका छन्, उहाँहरूको जीवन सुरक्षित बनाउन सकिन्छ भन्ने सम्भावनाकै लागि लागिरहेका छौँ,’ श्रेष्ठले भने।

उद्धारमा मुख्य चुनौती पहुँच मार्ग 

बाढीले आयोजनासम्म पुग्ने बाटो तथा आयोजनाको संरचना नै क्षतिग्रस्त बनाएपछि उद्धारमा ठूलो समस्या भएको श्रेष्ठले बताए। बाढीका कारण पावरहाउस, सुरुङ प्रवेश गर्ने स्थान तथा केबल डक्टको पहिचान गर्नसमेत कठिन भएको उनको भनाइ छ। त्यहि कारण लामोसमयदेखि फसेकाहरुलाई निकाल्न सकिएको छैन्। ‘बाढीले यति धेरै लेदो थुपारिदिएको छकि त्यहाँ हाम्रो पावरहाउस कहाँ हो, छिर्ने टनेल कहाँ हो भनेर प्लान्ट म्यानेजरले समेत ठम्याउन सकेनन्,’ श्रेष्ठले भने।

नेपाली सेनाको टोलीलाई डिजिटल नक्सासहित घटनास्थलमा पठाइए पनि बाढी र पहिरोका कारण सुरुङ प्रवेश गर्ने स्थान नै पहिचान गर्न कठिन भएको उनले बताए। ‘सुरुमा दुईचोटि सेनाहरू गए। उनीहरूले लोकेशन नै भेट्टाएनन् त्यहाँ। हामीले सबै डिजिटल म्यापहरू दिएर पठाएका थियौँ,’ उनले भने। त्रिशूली बजारभन्दा पारि जाने मुख्य बाटो नै सडकमार्ग भएकाले उद्धार थप जटिल बनेको छ। त्रिशूली–३ ‘ए’ को पावरहाउस करिब १५–१६ किलोमिटर पर रहेको र स्थलमार्ग अवरुद्ध भएपछि हेलिकप्टरबाहेक तत्काल अर्को विकल्प सीमित भएको श्रेष्ठले बताए।

हेलिकप्टरबाट उद्धारको तयारी

प्राधिकरणले फसेका कर्मचारी तथा स्थानीयको उद्धारका लागि समर्पित ‘डेडिकेटेड’ हेलिकप्टर परिचालन गर्ने तयारी गरेको छ। उद्धारका लागि आवश्यक इन्जिनियर तथा प्राविधिक टोलीसमेत विमानस्थलमा तयारी अवस्थामा राखिएको उनले बताए।‘आज हामीले विशेषगरी उद्धारको लागि भनेर एउटा समर्पित हेलिकप्टर यहाँबाट उडाउने भनेर विभिन्न निकायमा समन्वय गरिरहेका छौँ,’ श्रेष्ठले भने। उनका अनुसार उद्धारको प्राथमिकता प्राधिकरणका कर्मचारीमा मात्रै सीमित छैन। ‘हाम्रो कर्मचारी मात्र होइन, त्यहाँका सर्वसाधारणको पनि हामीलाई उत्तिकै चिन्ता छ। उहाँहरू पनि जो कोही हुनुहुन्छ भने उहाँहरूलाई पनि उद्धार गर्नको लागि अहिले हामी एउटा ‘डेडिकेटेड’ समर्पित हेलिकप्टर पठाउँदैछौँ,’ उनले भने ।

एक्साभेटरबाट उद्धार प्रयास असफल

स्थलमार्ग खोल्न प्राधिकरणले एक्साभेटर प्रयोग गर्ने प्रयाससमेत गरेको थियो। तर बाढीले ठूलो परिमाणमा ढुंगा, माटो थुपारेका कारण एउटा एक्साभेटरबाट मात्रै बाटो खुलाउन कठिन भएको श्रेष्ठले बताए । ‘हिजो बेलुका एक्साभेटर पनि चलाउने प्रयास गरियो । तर एउटा मात्र एक्साभेटरले कति खन्ने ? त्यहाँ टनका टन Mass, Boulders आएर बसेका छन्,’ उनले भने । वैकल्पिक रूपमा केबल डक्टतर्फ जाने सम्भावित बाटो पहिचान गर्न प्लान्ट म्यानेजरलाई नेपाली सेनाको टोलीसँगै पठाइए पनि उक्त मार्गसमेत पहिचान गर्न नसकिएको प्राधिकरणले जनाएको छ । बाढीको जोखिम पुनः बढ्ने सूचना आएपछि घटनास्थलमा रहेका प्लान्ट म्यानेजर सुरेश राउतलगायत टोलीलाई सुरक्षित स्थानतर्फ सारिएको श्रेष्ठले बताए।

यसैबीच, बाढीका कारण प्रभावित आयोजनाबाट विद्युत् उत्पादन रोकिए पनि ढल्केबर क्षेत्रमा वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति सहज बनाइएको प्राधिकरणले जनाएको छ। अब त्रिशूली–३ ‘ए’ क्षेत्रमा पनि विद्युत् प्रणाली पुनः सञ्चालनका लागि विभिन्न विकल्पमा काम भइरहेको श्रेष्ठले बताए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit