काठमाडौं । पूर्वी पहाडी जिल्लामा लगातार वर्षा भएपछि सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । आइतबार राति ८ः१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर दुई लाख २० हजार क्युसेक प्रतिसेकेन्ड पानीको बहाव भइरहेको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । पानीको बहाव बढेपछि कोशी ब्यारेजका मूल ५२ र चार नहर गरी ५६ वटा ढोकामध्ये २७ वटा ढोका खोलिएको प्रहरीले जनाएको छ ।
बहाव बढेसँगै कोशी ब्यारेजमा खतराको सङ्केतस्वरूप रातो बत्ती बालिएको तथा रातो झन्डा फहराइएको छ । सप्तकोशीमा पानीको बहाव निरन्तर बढ्दै गएपछि कोशी नदी आसपासका बासिन्दालाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ । नदीको पानीको सतह र बहावको अवस्थाबारे निरन्तर निगरानी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रहरीले कोशी नदी आसपासका जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन तथा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको प्रहरी नायव उपरीक्षक खड्काले बताएका छन् ।















प्रतिक्रिया दिनुहोस्