काठमाडौं । नेपाली सेनाले भोटेकोसी बाढी प्रभावित क्षेत्रमा रहेका जलविद्युत् आयोजनाका सबै सुरुङ ‘ब्रेक थ्रु’ नभएसम्म खोज तथा उद्धार कार्य जारी राख्ने जनाएको छ। सरकारले खोजी कार्य आवश्यक नरहेको निर्णय नगरेसम्म सुरुङभित्र फसेका हुनसक्ने व्यक्तिको खोजी जारी राखिने सेनाले स्पष्ट पारेको हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार काठमाडौंमा आयोजना गरेको भोटेकोसी बाढी तथा खोज तथा उद्धारसम्बन्धी पत्रकार सम्मेलनमा नेपाली सेनाको त्रिशूलीस्थित कार्यगत मुख्यालयमा खोज तथा उद्धारको नेतृत्व गरिरहेका सहायक रथी सुवासजंग थापाले यस्तो जानकारी दिएका हुन्। ‘जबसम्म सबै टनेल ‘ब्रेक थ्रु’ हुँदैन, तबसम्म खोज तथा उद्धार जारी रहन्छ। सरकारले अब पर्दैन भन्यो भने मात्र रोकिन्छ।’
उनका अनुसार भोटेकोसी बाढीपछि नेपाली सेनाले नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगको समन्वयमा हवाई, जमिन तथा जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धारलाई निरन्तरता दिइरहेको छ। बाढी प्रभावित क्षेत्रमा रहेका विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा ठूलो संख्यामा मानिस फसेको हुनसक्ने प्रारम्भिक अनुमान भए पनि सेनाले भने हालसम्मको सूचनालाई आधारमा मानेर सुरुङभित्र १२१ जना मात्र हुनसक्ने देखिएको जनाएको छ। भोटेकोसीदेखि मुग्लिनसम्म ११ वटा जलविद्युत् आयोजना रहेको र बाढीबाट ती आयोजनामा ठूलो क्षति पुगेको सहायक रथी थापाले बताए। ‘भोटेकोसीदेखि मुग्लिनसम्म ११ वटा हाइड्रोपावर देखियो। हाइड्रोपावरमा ठूलो क्षति भएको छ’, सहायक रथी थापाले भने ।
लाङटाङदेखि त्रिशूली ३बीसम्म कसरी हुँदैछ खोजी?
सेनाका अनुसार भदौ १० गते बाढी आएलगत्तै प्रभावित जलविद्युत् आयोजनामा हवाई निरीक्षण गरिएको थियो। लाङटाङ जलविद्युत् आयोजनाको सुरुङमा भदौ १३ गतेदेखि भारतीय विज्ञ टोलीसँगको सहकार्यमा खोज तथा उद्धार सुरु गरिएको थियो। सुरुङ काटेर भित्र प्रवेश गर्दा एक शव फेला परेको र उद्धार कार्य अझै जारी रहेको सेनाले जनाएको छ।
चिलिमे जलविद्युत् आयोजनामा पनि भदौ १० गते नै हवाई निरीक्षण गरिएको थियो। भदौ १४ गतेदेखि खोज तथा उद्धार सुरु गरिएको र सुरुङबाट दुई शव संकलन गरिएको सहायक रथी थापाले बताए। उद्धार टोली सुरुङभित्र करिब ११० मिटर पुगेको छ। माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा नेपाली र भारतीयसहित ठूलो संख्यामा कामदार तथा कर्मचारी कार्यरत रहेको र उद्धारका क्रममा चिनियाँ विज्ञ टोलीसमेत परिचालन गरिएको सेनाले जनाएको छ।‘सुरुमा २०० मिटर अगाडि एउटा शव भेटिएको थियो। ११औँ दिनको प्रयासपछि एक चिनियाँ नागरिकको जीवितै उद्धार गरियो। यहाँ दुईवटा शव पनि भेटिएका थिए,’ सहायक रथी थापाले भने ।
त्यस्तै, त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा बाढी आउँदा ४६ जना फसेको सूचना प्राप्त भएको थियो। उद्धारका लागि चारवटा स्काभेटर परिचालन गरिएको र बाढी आएको दशौँ दिनमा दुई कर्मचारीलाई जीवितै उद्धार गरिएको सेनाले जनाएको छ। सोही क्रममा एक शवसमेत संकलन गरिएको थियो। त्रिशूली–३ ‘बी’ मा पनि बाढी आएकै दिन हवाई निरीक्षण गरिएको थियो। त्यहाँ ९० जनाको खोज तथा उद्धार टोली परिचालन गरिएको सेनाले जनाएको छ। उद्यपी उक्त आयोजनामा धेरै जना फसेको आशंकामा आजै मात्र पीडित परिवारका आफन्तले माइतीघरमा ब्यानर प्रर्दशन गरेका छन् । कतिपय बेपत्ताका आफन्तले सरकार त्रिशूली–३ ‘ए’ आयोजनामा मात्र केन्द्रित भई उद्धारमा लाग्दा त्रिशूली–३ ‘बी’मा उद्धारमा ढिलाई भैरहेको भन्दै आक्रोश व्यक्त गरे। यद्यपी सेनाले त्रिशूली–३ ‘बी’मा प्राथमिकताको साथ खोज तथा उद्धारलाई अगाडी बढाइरहेको जनाएको छ।

‘हामीले १० गते नै रेकी गरेका थियौं । त्यहाँ दलदलका कारण हेलि ल्याण्ड गर्ने अवस्था नै थिएन,’ सहायक रथी थापाले भने, ‘यो रनिङ प्रोजेक्ट थिएन। हामीलाई अफिस र अकोमोडेसन एरियामा मान्छे बसेका छन् भन्ने सूचना आयो। त्यसैले हामीले पाओरहाउसमा काम गरिरहेको अवस्थामा फसेका छन् कि भनेर सुरुङलाई भन्दा अफिस र बाहिर बसेको स्थानमा खोज्ने प्रयास जारी छ। हाल त्रिशूली–३ ए बाट त्रिशूली–३ बीमा जान सकिने अवस्था देखिएसकेपछि त्रिशूली–३ एको नचाहिले एक्स्काभेटर समेत टनेलभित्रैबाट लगेर खोजी कार्यलाई तीव्रताका साथ काम अगाडी बढाउँदैछौं । सम्भवत आजै एक्स्काभेटर आयोजनास्थलमा पुग्छ । हामीले सुकुम्बासी बस्ती र परिपरिका इलाकामा खोजी तीव्र बनाउँछौं।’

ठूला ढुंगा तथा चट्टानका अवशेषले सुरुङभित्र खोजी चुनौतीपूर्ण
खोज तथा उद्धारका क्रममा सुरुङमा भरिएको हिलो, लेदो, माटो, ठूला ढुंगा तथा चट्टानका अवशेष मुख्य चुनौती बनेका छन्। कतिपय स्थानमा सुरुङको प्रवेश बिन्दुसम्म पुग्नसमेत ठूलो परिमाणमा माटो तथा लेदो हटाउनुपरेको सेनाले जनाएको छ। नेपाली सेनाका राजाराम बस्नेतका अनुसार त्रिशूली–३ ‘ए’ को पावरहाउससम्म पुग्न करिब २० मिटर तल खनेपछि मात्रै प्रवेश बिन्दु फेला परेको थियो।‘मुख्यगरी हिलो, माटो, लेदो भरिएका स्थान छन्। त्यससँगै आएका ठूला–ठूला ढुंगा र चट्टानका अवशेष पनि चुनौतीका रूपमा रहेका छन्।’ सेनाका अनुसार त्रिशूली–३ ‘ए’ को पावरहाउस करिब १७५ मिटरभित्र रहेको थियो। सीमित भूगोल, हवाई उडानका कठिनाइ र बदलिँदो मौसमका कारण उद्धार कार्य थप चुनौतीपूर्ण बनेको छ।
थप हिमताल बन्ने जोखिम कायमै
सहायक रथी थापाका अनुसार भोटेकोसी बाढी र मौसममा भइरहेको परिवर्तनबारे चिनियाँ दूतावासबाट नियमित जानकारी प्राप्त भइरहेको छ। चिनियाँ पक्षबाट प्राप्त विवरणअनुसार भदौ १० गतेको पहिरोका कारण बनेका हिमतालहरू हाल सामान्य अवस्थामा रहे पनि थप ताल बन्ने जोखिम भने कायमै छ । ‘क्र्याक्सहरू पर्याप्त मात्रामा देखिएको छ। यो जोखिमको अवस्थामा हाम्रो संयुक्त सुरक्षा टोली परिचालन भएको छ,’ उनले भने । सेनाका अनुसार भदौ १० गते बिहान करिब ८ः४० देखि ८ः४७ बजेको बीचमा आएको बाढीले रसुवागढी–केरुङ नाकामा रहेको चिनियाँ अध्यागमन क्षेत्रमा समेत ठूलो क्षति पुर्याएको थियो। बाढीका समयमा नेपाल–चीन सीमास्थित क्षेत्रमा यात्रु, व्यापारी, मानसरोवर जाने टोली, जलविद्युत् आयोजनासँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिएका व्यक्ति तथा पर्यटकसमेत ठूलो संख्यामा रहेको सेनाले जनाएको छ।
बाढीले टिमुरे, स्याफ्रुबेसी, बेत्रावती, त्रिशूलीलगायत नदी किनारका बस्ती तथा जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएको छ। नेपाली सेनाको इन्जिनियरिङ टोलीले प्रभावित क्षेत्रमा पुल निर्माण तथा बाटो खोल्ने कामसमेत अघि बढाइरहेको जनाएको छ। सेनाले सम्पर्कविहीन तथा एकान्तमा रहेका बस्तीमा समेत संयुक्त सुरक्षा टोली परिचालन गरी खोज तथा उद्धारलाई निरन्तरता दिइरहेको जनाएको छ।















प्रतिक्रिया दिनुहोस्