काठमाडौं । रसुवामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमाले) ले ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
नाइमाले आफ्नो पूर्वनिर्णयअनुसार उक्त रकम सरकारलाई हस्तान्तरण गरेको हो। संस्थाकी अध्यक्ष ऋतु सिंह वैद्यको नेतृत्वमा गएको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकम हस्तान्तरण गरिएको जनाएको हो। सहयोग हस्तान्तरण कार्यक्रममा नाइमाका बोर्ड सदस्य यमुना श्रेष्ठ र हेमन्त गोल्छा, सिमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ, नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलाल, कार्यक्रम संयोजक ज्ञानु अधिकारी तथा नाइमाको डिजिटल एजेन्सीका तर्फबाट उत्सव कार्कीको सहभागिता थियो।
सहयोग हस्तान्तरणका क्रममा अध्यक्ष वैद्यले सहयोग रकम तुलनात्मक रूपमा सानो भए पनि विपद्को समयमा प्रभावित समुदायप्रति ऐक्यबद्धता र साथ व्यक्त गर्नु यसको मुख्य उद्देश्य रहेको बताइन्।उनले नाइमाका सदस्य कम्पनीसहित नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको तर्फबाट सहयोग गरिएको उल्लेख गर्दै संकट र विपद्का समयमा सरकार तथा प्रभावित समुदायसँगै उभिने प्रतिबद्धता व्यक्त गरिन्।
‘यो केवल आर्थिक सहयोग मात्र होइन, कठिन समयमा हामी प्रभावित समुदायसँगै छौं भन्ने ऐक्यबद्धताको सन्देश पनि हो,’ अध्यक्ष वैद्यले भनिन्। नाइमाले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा पुनर्स्थापनाका लागि आवश्यक सहयोगमा आफ्नो क्षेत्रबाट निरन्तर साथ दिने जनाएको छ।















प्रतिक्रिया दिनुहोस्