काठमाडौं । सरकारले पाँच वर्षे अवधिको विकास ऋणपत्र जारी गरेर १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ।
सरकारको तर्फबाट सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ‘विकास ऋणपत्र २०८३’ मार्फत उक्त रकम उठाउन लागेको हो। ऋणपत्र बिक्रीका लागि भदौ २४ गते बोलकबोल आह्वान गरिएको छ भने भदौ २५ गते निष्कासन हुने व्यवस्था गरिएको छ। यस ऋणपत्रको ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ। बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले ऋणपत्र खरिदका लागि बोलकबोलमा सहभागी हुन सक्नेछन्।
सरकारले बजेटमा चालु आर्थिक वर्ष २०८३/८४ मा आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ। विकास ऋणपत्र, ट्रेजरी बिललगायतका उपकरणमार्फत सरकारले बजेट कार्यान्वयनका लागि आवश्यक आन्तरिक स्रोत जुटाउँदै आएको छ। यसअघि पनि चालु आर्थिक वर्षको सुरुआती अवधिमै सरकारले विभिन्न अवधिका विकास ऋणपत्रमार्फत आन्तरिक ऋण उठाउने प्रक्रिया अघि बढाइसकेको छ।















प्रतिक्रिया दिनुहोस्