Advertisement
Advertisement
Corporate Samachar
२३ भाद्र २०८३, मंगलवार
Advertisement

बाढीले निजी क्षेत्रमा पारेको क्षतिबारे विश्व बैंकको चासो, महासंघसँग माग्यो विस्तृत विवरण

बाढीले निजी क्षेत्रमा पारेको क्षतिबारे विश्व बैंकको चासो, महासंघसँग माग्यो विस्तृत विवरण
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र विश्व बैंकका देशीय अर्थशास्त्री अब्दुल गानिउ मिजियावाबीच रसुवालगायतका जिल्लामा हालै आएको विनाशकारी बाढीबाट निजी क्षेत्रमा परेको क्षति र त्यसको अर्थतन्त्रमा पर्न सक्ने प्रभावबारे छलफल भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

महासंघ सचिवालय टेकुमा भएको भेटवार्तामा बाढीबाट भएको आर्थिक क्षति, उद्योग–व्यवसाय सञ्चालनमा आएको अवरोध, आपूर्ति शृङ्खला, यातायात तथा व्यापारमा परेको असरलगायतका विषयमा छलफल भएको हो ।

भेटमा महासंघका अध्यक्ष श्रेष्ठले बाढीलाई प्राकृतिक विपद्का रूपमा मात्र नहेरी यसले नेपालको आर्थिक गतिविधिमा पार्न सक्ने व्यापक प्रभावलाई समेत ध्यान दिनुपर्ने बताए । सरकारको प्रारम्भिक मूल्यांकनअनुसार बाढीबाट करिब  ३८७.५ अर्ब बराबरको आर्थिक क्षति तथा नोक्सानी भएको उल्लेख गर्दै उनले पूर्ण क्षतिको विवरण संकलन तथा मूल्यांकनको क्रममा रहेको जानकारी दिए ।

स्थानीय उद्योग वाणिज्य संघहरूको सहयोगमा क्षतिको विवरण संकलन भइरहेको भए पनि बाढीका कारण सिंगो सहर तथा बस्ती नै बगाएको अवस्थामा वास्तविक क्षतिको विवरण संकलन गर्न कठिनाइ भइरहेको अध्यक्ष श्रेष्ठले बताए ।

विश्व बैंकका देशीय अर्थशास्त्री मिजियावाले बाढीबाट निजी क्षेत्रमा परेको वास्तविक क्षति, उद्योग–व्यवसाय सञ्चालनमा आएको अवरोध, आपूर्ति शृङ्खला, यातायात तथा व्यापारमा परेको असरबारे जानकारी लिएका थिए । उनले उद्योग, पर्यटन तथा साना तथा मझौला उद्यममा परेको प्रभावका विषयमा समेत चासो राखेका थिए ।

मिजियावाले बाढीबाट भएको क्षतिको यथार्थ विवरण, व्यवसायिक क्षेत्रमा परेको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव र पुनःस्थापनाको अवस्थाबारे थप तथ्यांक आवश्यक रहेको बताए । विस्तृत क्षतिको विवरण र त्यसले आर्थिक गतिविधिमा पारेको प्रभावको विश्लेषणपछि मात्रै बाढीले नेपालको आर्थिक वृद्धिमा पार्ने समग्र असरबारे स्पष्ट निष्कर्षमा पुग्न सकिने उनको भनाइ थियो ।

छलफलका क्रममा विश्व बैंकका प्रतिनिधिहरूले विपद्का कारण निजी क्षेत्र तथा आम नागरिकले भोग्नुपरेको कठिनाइप्रति सहानुभूति व्यक्त गर्दै प्रभावित व्यवसाय तथा समुदायको पुनःस्थापना र आर्थिक गतिविधिको पुनरुत्थानका लागि आवश्यक सहयोग तथा सहकार्यबारे समेत चासो व्यक्त गरेका थिए ।

अध्यक्ष श्रेष्ठले बाढीबाट रसुवा, नुवाकोट, धादिङ र चितवनलगायतका क्षेत्रमा ठूलो क्षति भएको जानकारी दिँदै जलविद्युत् आयोजना, प्रसारण पूर्वाधार, सडक, पुल, घर तथा व्यवसायिक सम्पत्तिमा गम्भीर असर परेको बताए ।

भौतिक संरचनाको क्षतिसँगै आपूर्ति शृङ्खला, यातायात, विद्युत्, बजार पहुँच तथा व्यापारमा आएको अवरोध निजी क्षेत्रका लागि ठूलो चुनौती बनेको उनले उल्लेख गरे ।

विशेषगरी रसुवागढी व्यापारिक करिडोरमा आएको अवरोधले चीनसँगको व्यापार तथा देशभरको आपूर्ति व्यवस्थामा असर पार्न सक्ने श्रेष्ठले बताए । यसबाट प्रभावित क्षेत्रबाहिर रहेका आयातकर्ता, व्यापारी, ढुवानी व्यवसायी तथा उपभोक्तासमेत प्रभावित हुन सक्ने उनको भनाइ थियो ।

भेटवार्तामा ‘नेपाल विकास अपडेट–२०२६’ का विषयमा समेत छलफल भएको थियो । विश्व बैंकका प्रतिनिधिहरूले निजी क्षेत्रको अनुभव तथा प्रत्यक्ष तथ्यांक नेपाल विकास अपडेटका लागि महत्वपूर्ण हुने उल्लेख गर्दै आगामी दिनमा व्यवसायिक क्षेत्रबाट प्राप्त विवरण तथा सुझावलाई अध्ययनमा समेट्ने बताएका थिए ।

अध्यक्ष श्रेष्ठले नेपाल विकास अपडेट–२०२६ मा बाढीबाट भएको भौतिक क्षतिसँगै उत्पादन, रोजगारी, आम्दानी, व्यापार, लगानी, ऋण तथा निजी क्षेत्रको व्यावसायिक मनोबलमा परेको प्रभाव समेत अध्ययन गर्न आग्रह गरेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit