काठमाडौं । जेनजी सहिद परिवार कल्याणकारी समाजले गोल्याण ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्याणलाई सम्मान गरेको छ। जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहमा गोल्याणलाई सम्मान गरिएको हो।
गृहमन्त्री सुधन गुरुङसहितको उपस्थितिमा आयोजित कार्यक्रममा समाजले गोल्याणलाई सम्मानपत्र तथा खादा ओढाएर सम्मान गरेको हो। गोल्याण नेतृत्वको गोल्याण ग्रुपले गोल्याण फाउण्डेशनमार्फत जेनजी आन्दोलनका सहिदका सन्तानको शिक्षा र अभिभावकको स्वास्थ्यका लागि सहयोग गर्दै आएको छ। आन्दोलनको एक महिनापछि २०८२ असोज २४ गते घोषणा गरिएको कार्यक्रमअन्तर्गत २२ सहिदका ३१ बालबालिकालाई कक्षा १२ सम्मको शैक्षिकवृत्ति तथा २२ सहिदका ४३ आमा–बुवालाई आजीवन स्वास्थ्य बीमा उपलब्ध गराइएको फाउण्डेशनले जनाएको छ।

शैक्षिकवृत्तिअन्तर्गत प्रत्येक विद्यार्थीलाई मासिक ४० हजार रुपैयाँका दरले वार्षिक अधिकतम ४ लाख ८० हजार रुपैयाँ प्रदान हुँदै आएको छ। यसमा विद्यालय शुल्क, खाना तथा खाजा, छात्रावास, यातायात, अतिरिक्त क्रियाकलाप, भर्ना, पुस्तक तथा स्टेशनरीलगायतका सम्पूर्ण शैक्षिक खर्च समेटिएको छ। यसैगरी, फाउण्डेशनले यस कार्यक्रमका लागि वार्षिक करिब साढे २ करोड रुपैयाँ विनियोजन गरेको जनाएको छ। शैक्षिकवृत्ति प्राप्त गर्ने विद्यार्थीहरू काठमाडौं, ललितपुर, झापा, चितवन, पोखरा, बुटवल, सुनसरी र लहानलगायतका विभिन्न विद्यालयमा अध्ययनरत छन्।

शैक्षिकवृत्तिमा आबद्धमध्ये चितवनकी आकृती राईले २०८२ सालको एसईई उत्तीर्ण गरेकी छन् भने तीन बालबालिकाले सोही वर्ष अक्षरारम्भ गरेका छन्। फाउण्डेशनले आकृतीको थप तीन वर्षसम्म र अक्षरारम्भ गरेका बालबालिकाको करिब १५ वर्षसम्मको शैक्षिक खर्च व्यहोर्ने जनाएको छ। त्यस्तै, शैक्षिकवृत्तिमा नसमेटिएका सहिद परिवारका बुवाआमाका लागि वार्षिक १० लाख रुपैयाँ बराबरको आजीवन स्वास्थ्य बीमा उपलब्ध गराइएको छ। फाउण्डेशनका अनुसार स्वास्थ्य बीमाअन्तर्गत पहिलो वर्ष करिब ८ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी भइसकेको छ। त्यसमध्ये कृतिबल्लभ पन्तको स्वास्थ्य उपचारमा मात्रै करिब ४ लाख रुपैयाँ भुक्तानी भएको जनाएको छ।

सम्मान ग्रहण गर्दै गोल्याणले सहिद परिवारका लागि शिक्षा र स्वास्थ्यमा गरिएको प्रतिबद्धता कुनै एक वर्ष वा निश्चित कार्यक्रमका लागि मात्रै नभएको बताए। उनले सहिदका सन्तान र अभिभावकको सुरक्षित भविष्यका लागि सहयोग निरन्तर रहने प्रतिबद्धता जनाए। उनले सहिदहरूले देखेको सुरक्षित, प्रगतिशील, शान्त र न्यायपूर्ण नेपालको सपना पूरा गर्नु सबै नेपालीको जिम्मेवारी भएको बताए। ‘सहिदहरूले आफ्नो कर्तव्य पूरा गर्नुभयो, अब पालो हाम्रो हो,’ गोल्याणले भने। गोल्याण फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत तथा गोल्याण ग्रुपका कर्पोरेट अफेयर्स एण्ड कम्युनिकेशन्स प्रमुख ज्योति गैह्रेले शैक्षिकवृत्तिमा समेटिन नसकेका सहिद परिवारलाई लक्षित गरी स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए।















प्रतिक्रिया दिनुहोस्