काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा उद्यमी विदुषी राणाले नेपालमा उद्योग तथा व्यवसाय सञ्चालनका क्रममा उद्यमीले अनेकौँ चुनौती सामना गरिरहेको उल्लेख गर्दै सरकारले नियमनसँगै सहजीकरण र प्रोत्साहनको भूमिका पनि निर्वाह गर्नुपर्ने बताएकी छन्।
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘प्रतिभा भित्र्याउने र कामदार बाहिर पठाउने : प्रक्रियामार्फत नेपालमा शिक्षा, सीप र उद्यमशीलताको खाडल पुर्ने’ विषयक संवादमा राणाले उद्योगमैत्री वातावरण बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताइन्। देशभित्र पर्याप्त अवसर र रोजगारी सिर्जना गर्न नसक्दा नेपाली युवा विदेशिन बाध्य भइरहेको उल्लेख गर्दै उनले विदेश जानु युवाको बाध्यता नभई रोजाइ बन्नुपर्ने धारणा राखिन्। ‘ देश छोड्ने कुरा युवाका लागि बाध्यता हुनुहुँदैन, यो उसको च्वाइस हुनुपर्छ। तर, नेपालमा अवसर नभएकाले देश छोड्नैपर्ने अवस्था छ,’ उनले भनिन्, ‘युवालाई नेपालमै राख्न सरकार र उद्यमी मिलेर अनुकूल वातावरण बनाउनुपर्छ।’
नेपालमा उद्योग, होटल, सूचना प्रविधि, अटोमोबाइललगायतका क्षेत्रमा ठूलो सम्भावना रहे पनि त्यसको पर्याप्त उपयोग हुन नसकेको राणाको भनाइ छ। उद्योग स्थापना तथा सञ्चालनका क्रममा व्यवसायीले भोग्दै आएका प्रशासनिक झन्झट, नीतिगत जटिलता र कानुनी अवरोध हटाउनुपर्ने उनले बताइन्। उद्यमी पृष्ठभूमिबाट राजनीतिमा आएकी राणाले आफूले पनि उद्योग सञ्चालनका क्रममा दैनिक रूपमा विभिन्न चुनौती सामना गर्दै आएको स्मरण गरिन् । सो क्रममा देशको आर्थिक विकासका लागि अर्थतन्त्रलाई प्राथमिकतामा राख्दै उद्योग तथा व्यवसाय सञ्चालनको वातावरण सहज बनाउनुपर्नेमा उनले जोड दिइन् । उनले भनिन्, ‘सरकारले व्यवसायीलाई नियमन गर्ने मात्र होइन, सहजीकरण र प्रोत्साहन पनि गर्ने हो।’
राणाले रोजगारी सिर्जना गर्ने, निर्यात बढाउने, आयात प्रतिस्थापन गर्ने तथा नेपालमै मूल्य अभिवृद्धि गर्ने उद्योगलाई सरकारले पहिचान गरी प्रोत्साहन गर्नुपर्ने बताइन्। उनका अनुसार उद्योगमा आवश्यक जनशक्ति र शैक्षिक संस्थाबाट उत्पादन हुने जनशक्तिबीच ठूलो अन्तर छ। आफ्नो उद्योगमा औद्योगिक इन्जिनियरलगायत प्राविधिक जनशक्तिको आवश्यकता भए पनि नयाँ कर्मचारीलाई उद्योगको काम सिकाउन लामो समय लाग्ने र अनुभव हासिल गरेपछि उनीहरू विदेशिने समस्या भोगेको उनले बताइन्।
इन्जिनियरिङमा मात्र नभई सूचना प्रविधि, वित्त, चार्टर्ड एकाउन्टेन्सीलगायत विभिन्न क्षेत्रमा दक्ष जनशक्ति विदेशिने प्रवृत्ति बढेको उनको भनाइ छ। शिक्षा र उद्योगबीचको दूरीका कारण पनि नेपालले आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न नसकेको उनले औँल्याइन् ।‘शिक्षालाई उद्योगसँग जोड्न एकदमै जरुरी छ। अटोमोबाइल उद्योगलाई ई–भेहिकल इन्जिनियर चाहिएको छ, म्यानुफ्याक्चरिङलाई मेसिन अपरेटर चाहिएको छ, गार्मेन्टलाई डिजाइनर चाहिएको छ। आईटी क्षेत्रलाई पनि निश्चित प्रकारको जनशक्ति चाहिन्छ। तर, उद्योगको आवश्यकता अनुसारको पाठ्यक्रम हामीले बनाउन सकेका छैनौं,’ उनले भनिन्। विद्यार्थीलाई कक्षाकोठाको सैद्धान्तिक शिक्षामा मात्र सीमित नराखी उद्योग, कारखाना, वर्कसप, होटल तथा उत्पादन केन्द्रमै पुगेर व्यावहारिक ज्ञान र सीप हासिल गर्ने अवसर दिनुपर्ने तथा युवालाई उद्यमशीलतामा आकर्षित गर्न व्यवसाय सुरु गर्ने प्रक्रिया सहज गर्दै ‘वान विन्डो सिस्टम’ लागू गर्नुपर्नेमा उनको जोड छ।
राणाले रोजगारी सिर्जना गर्ने उद्यमी तथा उद्योगीप्रतिको सामाजिक दृष्टिकोण परिवर्तन गर्नसमेत आवश्यक रहेको बताइन्। उद्योगीलाई केवल नाफा कमाउने व्यक्तिका रूपमा हेर्नेभन्दा रोजगारी सिर्जना, उत्पादन विस्तार र अर्थतन्त्रमा योगदान गर्ने साझेदारका रूपमा लिनुपर्ने उनको भनाइ छ।















प्रतिक्रिया दिनुहोस्