Advertisement
Advertisement
Corporate Samachar
३ मंसिर २०८३, बिहीबार
Advertisement
Advertisement

आन्तरिक उडानमा यात्रुको अधिकार कानुनमै सुनिश्चित गरिने, बीमा दायित्व १ लाख डलर पुर्‍याउने प्रस्ताव

आन्तरिक उडानमा यात्रुको अधिकार कानुनमै सुनिश्चित गरिने, बीमा दायित्व १ लाख डलर पुर्‍याउने प्रस्ताव
विज्ञापन
Advertisement

काठमाडौं । सरकारले उडानमा ढिलाइ, ब्यागेज हराउने उडान रद्द हुनेलगायतका विषयमा यात्रुले पाउने न्यूनतम क्षतिपूर्ति र अधिकारलाई कानुनमै सुनिश्चित गर्न खोजेको छ।

विज्ञापन
Advertisement
Advertisement

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले आन्तरिक हवाई सेवा प्रदायकलाई थप उत्तरदायी र यात्रुमैत्री बनाउन ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ ल्याइएको उल्लेख गर्दै यस्तो बताएका हुन् । मंगलबार सिंहदरबारमा राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा मन्त्री पौडेलले आन्तरिक हवाई सेवामा यात्रुको अधिकार, वायुसेवा प्रदायकको जिम्मेवारी र क्षतिपूर्तिको व्यवस्था कानुनमै स्पष्ट गर्न खोजिएको बताए। उनका अनुसार हाल उडान रद्द, उडानमा ढिलाइ, यात्रुको सामान हराउने वा टुटफुट हुने, हवाई दुर्घटना तथा तेस्रो पक्षमा पर्ने क्षतिलगायत विषयमा वायुसेवा प्रदायकको दायित्वसम्बन्धी पर्याप्त कानुनी व्यवस्था नभएकाले अब गर्न लागिएको हो ।

‘यो विधेयकले मूलभूत रूपमा यात्रुको अधिकार, वायुसेवाको जिम्मेवारी र क्षतिपूर्तिको व्यवस्थालाई स्पष्ट गरेको छ, जसले गर्दा आन्तरिक वायुसेवालाई थप उत्तरदायी, व्यवस्थित र यात्रुमैत्री बनाउने एउटा कानुनी आधार यसले तयार गर्नेछ,’ मन्त्री पौडेलले भने। मन्त्री पौडेलले विधेयकले नेपालको भूगोलभित्र सञ्चालन हुने आन्तरिक वायुसेवाले यात्रुप्रति निर्वाह गर्नुपर्ने न्यूनतम दायित्वलाई कानुनी रूपमा सुनिश्चित गर्ने बताए। यसअन्तर्गत यात्रुको सुरक्षा, दुर्घटना भएमा पाउने क्षतिपूर्ति, उडान ढिलाइ वा रद्द हुँदा यात्रुको अधिकार तथा ब्यागेज हराएमा पाउने क्षतिपूर्तिलगायत विषय समेटिएको उनले जानकारी दिए।

उनले हाल अभ्यासमा रहेको करिब २० हजार अमेरिकी डलर बराबरको बीमा दायित्वलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार बढाएर करिब १ लाख अमेरिकी डलर पुर्‍याउने प्रस्ताव गरिएको पनि बताए। बीमा दायित्व बढ्दा त्यसको प्रभाव हवाई भाडामा पर्न सक्ने भएकाले यस विषयमा पनि गम्भीर छलफल आवश्यक रहेको उनको भनाइ छ। ‘हाल अभ्यासमा रहेको करिब २० हजार डलरको बीमा दायित्व बढेर अन्तर्राष्ट्रिय मापदण्डअनुसार करिब एक लाख डलरसम्म पुग्न सक्छ। बीमा दायित्व बढ्दा हवाई भाडादर पनि केही बढ्न सक्ने सम्भावना हुन्छ, त्यसैले यस विषयमा संवेदनशील भएर छलफल गर्नुपर्छ,’ उनले भने।

मन्त्री पौडेलले नेपालले अन्तर्राष्ट्रिय उडानका लागि मोन्ट्रियल कन्भेन्सनमा हस्ताक्षर गरिसकेको भए पनि त्यसमा भएका सबै व्यवस्था आन्तरिक उडानमा जस्ताको तस्तै लागू गर्न नसकिने बताए। नेपालको भौगोलिक अवस्था र यहाँका वायुसेवा प्रदायकको क्षमतालाई ध्यानमा राखेर आन्तरिक हवाई सेवाका लागि छुट्टै कानुनी व्यवस्था आवश्यक रहेको उनले स्पष्ट पारे। त्यस्तै, दुर्गम क्षेत्रमा कायम रहेको दोब्बर हवाई भाडा अर्थात् ‘डलर फेयर’ को कानुनी आधारसमेत खोजी भइरहेको उनले बताए। स्वदेशी वा विदेशी जो भए पनि यात्रुका रूपमा समान अधिकार पाउनुपर्ने उल्लेख गर्दै मन्त्री पौडेलले दोब्बर भाडादरको व्यवस्थामाथि प्रश्न उठाए। ‘डलर फेयरको कानुनी आधार के छ भनेर खोजी हेर्दा मैले कहीँ फेला पारेको छैन। अब डलर फेयर रोकौँ भने के हुन्छ फेरिरु भाडा बढ्न सक्ने सम्भावना छ। अब डबल भाडादर नरोकौँ भने यस्तो प्रकारको अन्याय मैले चाहिँ अन्यत्र कतै देखेको छैन,’ उनले भने।

मन्त्री पौडेलले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक गरी दुई छुट्टाछुट्टै निकायमा विभाजन गर्ने विधेयक पनि तयारी अवस्थामा रहेको जानकारी दिए। हवाई क्षेत्रसँग सम्बन्धित थप विषय आगामी हवाई सेवा प्राधिकरणसम्बन्धी विधेयकमार्फत सम्बोधन गरिने उनले बताए। नेपाल वायुसेवा निगम भने आफ्नै ऐनबाट सञ्चालन भइरहेकाले निगमसँग सम्बन्धित विषय छुट्टै प्रक्रियाबाट अघि बढाइने मन्त्री पौडेलले स्पष्ट पारे। निगमको ऐन संशोधनमार्फत आवश्यक व्यवस्था गरिने उनको भनाइ छ।

मन्त्री पौडेलले अन्तर्राष्ट्रिय हवाई सुरक्षा तथा नेपालले विभिन्न सन्धि–सम्झौतामार्फत गरेका प्रतिबद्धता पूरा गर्नसमेत आन्तरिक हवाई सेवासम्बन्धी स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेको बताए। समितिका सदस्यहरूले उठाएका विषयलाई आगामी नागरिक उड्डयन तथा हवाई सेवा प्राधिकरणसम्बन्धी विधेयक र नेपाल वायुसेवा निगमको संशोधित ऐनमार्फत सम्बोधन गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit